यौन काण्डपछि सुनकाण्डले अड्डा अदालतमा महरा-Sutra News

यौन काण्डपछि सुनकाण्डले अड्डा अदालतमा महरा

सोमबार, ५ चैत्र २०८०

सोमबार, ५ चैत्र २०८०

काठमाडौं । माओवादी आन्दोलनभित्र ‘महरा सर’को परिचय बनाएका कृष्णबहादुर महरा साँच्चिकै निकै सम्मानित पात्र थिए । कुशल संगठकको रुपमा समेत हेरिने महराले आफ्ना थुप्रै चेलालाई केन्द्रीय राजनीतिमा स्थापित गराउन निकै महत्वपूर्ण भूमिका पनि खेलेको पाइन्छ ।



माओवादी आन्दोलनभित्र निकै सिनियर नेताका रुपमा गनिने उनी कहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’, कहिले मोहन वैद्य ‘किरण’ त कहिले बाबुराम भट्टराईका निकै विश्वास पात्र पनि बने । हुन पनि शान्ति प्रक्रियादेखि संविधान निर्माणसम्मको राजनीतिक यात्रामा महरा निकै प्रभावशाली नेताका रुपमा अग्रभागमा रहे । माओवादीभित्रका निर्णयहरुमा महराका प्रभाव बलियो रहन्थे ।

तर, समय उही र उस्तै रहेन । जब महरा सत्ता यात्रातर्फ लम्किए, क्रमशः बदनामित् हुँदै गए । एकपछि अर्को गरी काण्डहरुमा महरा मुछिँदै गए ।

सञ्चारमन्त्री भएको बेला नै उनी फ्रिक्वेन्सी विवादमा मुछिएका थिए । तत्कालिन समय फ्रिक्वेन्सी बिक्री घटनामा करोडौं अनियमितता गरेको आरोप उनीमाथि लागेको थियो । यद्यपि, उक्त घटनाले उनको राजनीतिलाई खासै प्रभाव भने पार्न सकेन । उनी थप शक्तिशाली मन्त्रालयहरुमा पदोन्नती हुँदै गए ।

२०६३ मा अन्तरिम सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका महरा पुनः २०६५ मा पनि प्रचण्ड नेतृत्वको सरकारमा फेरि सूचना तथा सञ्चारमन्त्री बने ।

फेरि २०६७ सालमा उपप्रधानसहित गृहमन्त्रीकै जिम्मेवारीमा पुगे । पछि २०७३ सालमा प्रचण्ड नेतृत्वको सरकारमा महरा उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारीमा पुगेका थिए ।

लगत्तै सरकार हेरफेरपछि २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उपप्रधानसहित परराष्ट्रमन्त्रीको जिम्मेवारीमा पुगे । एक दशक बढीको सत्ता यात्रामा लगातार महत्वपूर्ण मन्त्रालयमा रमाइरहेका मरहा संविधान निर्माणपछि सामान्य भूमिकामा रहेनन् ।

उनी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनपछि सभामुख बने ।

यद्यपि, महराको सभामुख यात्रा लामो समयको भने रहेन । सभामुखको जिम्मेवारीमा रहँदै गर्दा उनीमाथि बलात्कारजस्तो गम्भीर आरोप लाग्यो । महरामाथि संसद सचिवालयमै कार्यरत महिला कर्मचारीबाटै बलात्कारको आरोप लागेको थियो । जुन आरोपपछि महरा २०७६ असोज १४ मा पदबाट राजीनामा दिन बाध्य बनेका थिए ।

काठमाडौं जिल्ला अदालतले उक्त आरोपमा उनलाई पुपक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उनी २०७६ कात्तिक १९ देखि फागुन ५ सम्म थुनामा रहे । यद्यपि, स्वयम् जाहेरी दिने कर्मचारीले अदालतसमक्ष बयान फेरेपछि उनले सफाई पाएका थिए ।

बलात्कारको मुद्दामा अदालतबाट सफाई पाएपछि महरा राजनीतिमा पुनः फर्किने प्रयासमा देखिए । उनलाई माओवादी केन्द्रले पार्टी उपाध्यक्ष र पार्टी प्रवक्ताको जिम्मेवारी पनि दियो ।

लामो उतारचढावपछि पार्टीले पनि उनलाई राम्रो जिम्मेवारी दिएको थियो । जुन जिम्मेवारीमा पुगेपछि उनले सक्रियता बढाएको पनि देखियो ।
यद्यपि, फेरि अहिले उनी अर्को गम्भीर काण्ड ‘सुन तस्करी काण्ड’ (भेप)ले घेरिएका छन् । उमेरको उत्तरार्ध (६५ वर्ष)मा फेरि अड्डा अदालत धाउने अवस्थामा महरा पुगेका छन् ।

छोरा राहुल महरा सोही प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकै बखत महरा पनि सोही मुद्दामा पक्राउ परेका छन् । तत्कालिन समय छोरा पक्राउ पर्दा बयान दिएर छुटेका महरालाई सरकारले बनाएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले दोषी देखाएपछि पुनः कारबाहीको घेरामा तानिएका हुन् । सोमबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई भैरहवाबाट पक्राउ गरेको थियो ।

सतहमा देखिएका प्रमाणले महरा पुनः जेलयात्रा उन्मुख रहेको प्रष्ट्याउँछ । जीवनको उत्तरार्धमा यो घटना महराका निम्नि निकै कठिन हुने देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट