दीपक भन्छन्- फिल्म निर्माणमा सल्लाह दिनुलाई हस्तक्षेप गरे भन्न मिल्दैन-Sutra News

दीपक भन्छन्- फिल्म निर्माणमा सल्लाह दिनुलाई हस्तक्षेप गरे भन्न मिल्दैन

आइतबार, ४ चैत्र २०८०

आइतबार, ४ चैत्र २०८०

काठमाडौं । सातौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ‘निफ’को चौथो दिन आइतबार ‘निर्देशक हराएको सूचना’ नामक शीर्षकमाथि गरिएको छलफलका क्रामा कलाकार, निर्माता दीपकराज गिरीले आफूले निर्देशकलाई कहिल्यै हस्तक्षेप नगरेको बताएका छन् ।



प्रकाश सुवेदीले सहजकर्ता भएर फिल्ममा निर्देशक हराउने गरेको आरोप लगाउँदै फिल्म हेर्दा दीपकराज गिरीको स्वाद आएपनि निर्देशकमा नाम अरुको नै हुने गरेको भनाई उनको थियो ।

उक्त प्रश्नको जवाफ दिँदै गिरीले यसमा सत्यता नरहेको स्पष्ट पार्दै फिल्म कस्तो बनाउने भन्ने निर्देशकको बिषय भएकोले स्वतन्त्र छोड्ने गरेको आफूले कहिल्यै हस्तक्षेप नगरेको धारणा राखेका थिए ।

गिरी भन्छन्, ‘फिल्म भनेको टिमवर्क हो । त्यसलाई डोर्याउने त निर्देशकले नै हो । ड्राइभिङ सिटमा नबसे पनि सह-चालकले स्लो गरौं, साइड लगाऔं भन्छन् । बाहिरको वातावरण सह-चालकले ड्राइभरसँग शेयर गर्छ । शेयर गर्नुको मतलब सह-चालक नै ड्राइभर हुनु होइन । हामी त कहिलेकाही स्पर्टमा काम गर्ने प्राविधिकहरूसँग पनि सल्लाह लिइरहेका हुन्छौं । हरेक ठाउँबाट सल्लाह लिए पनि उक्त दृश्य राख्ने वा नराख्ने अधिकार त निर्देशकलाई नै हुन्छ । म फिल्म उत्कृष्ट बनोस् भनेर जहिले पनि निर्देशकसँग नजिक हुन्छु । त्यो चाहे दीपाजी होस् या अरु नै किन नहोस् । फिल्म साइन गर्दा नै म तपाइलाई डिस्टर्व गरिराख्छु है भनेर भन्छु । काम गरिराख्दा कुनै दृश्य अझै उत्कृष्ट हुन सक्छ कि भनेर सल्लाह दिन्छु । यसको मतलब त्यसलाई हस्तक्षेप भन्न मिल्दैन ।’

उनले अगाडि भने, ‘म फिल्म अझै बेटर होस् भनेर विद्यार्थीको रूपमा जो निर्देशक भए पनि जोडिने व्यक्ति हो । जोसँग म काम गरिरहेको हुन्छु उहाँसँग धेरै क्लोज हुन्छु । काम गरिरहँदा कुनै नयाँ सिन दिमागमा आउँछ । अझ काम राम्रो हुनसक्छ कि भनेर शेयर गर्ने हो । त्यसको मतलब हस्तक्षेप गरेको भन्न मिल्दैन।’

उनले थपे, ‘वास्तवमा त्यो निर्देशकप्रतिको अन्याय हो । सुरु सुरुमा दीपा त नाम मात्रको हो, निर्देशक त दीपकराजको हो भन्थे । यो कुराले दीपाजीलाई सुन्दा जति दुःख लाग्छ, मलाई त्यो भन्दा दुई गुणा बढी दुःख लाग्छ । किनकी, फुटबलको मैदानमा खेलाडीले भन्दा दर्शकले स्पष्ट रुपमा देखिरहेको हुन्छ । यसको मतलब दर्शकले नै फुटबल खेल्ने भन्ने होइन । कहिलेकाही निर्देशकलाई सम्पादकले पनि कति राम्रो सल्लाह दिन्छन् । त्यतीबेला सम्पादकले बनाएको फिल्म हो भन्न पाइँदैन नी । त्यस्तो हो भने मै निर्देशन गरिहाल्थे नि । मैले नि फिल्म निर्देशन गर्ने दिन पनि आउँछ । त्यो दिन कुरिरहेको छु ।’

‘हाम्रो अर्को खराब बानी के छ भने, प्राविधिक रुपमा पोख्त हुनुलाई हामी निर्देशक भन्छौँ । तर, त्यस्तो होइन नी । डीओपीले कति राम्रा राम्रा दृश्यहरु खिच्छ । अब, त्यसलाई आवश्यकता अनुसार राख्ने वा नराख्ने निर्देशकको काम हो ।’ उनी भन्छन् ।

गिरीले फिल्म निर्माणमा सल्लाह दिनुलाई हस्तक्षेप गरेको भनेर वुझ्न नहुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट