प्रकाश सपुतको गीतमा प्रचण्ड कम्मर मर्काइ मर्काइ नाचेपछि…-Sutra News

प्रकाश सपुतको गीतमा प्रचण्ड कम्मर मर्काइ मर्काइ नाचेपछि…

आइतबार, ४ चैत्र २०८०

आइतबार, ४ चैत्र २०८०

काठमाडौं । पोखरामा गायक प्रकाश सपुतको गीतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नाचेका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणाको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड गायक सपुतको गीतमा नाचेका हुन् ।



सपुतले ‘गलबन्दी च्यातियो तिमिले तानेर…’ बोलको गीत गाएका थिए । सपुतको आग्रहपछि प्रधानमन्त्री नाच्नलाई स्टेजमा झरेका थिए ।

सपुतको गीतमा प्रधानमन्त्रीसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायत पनि नाचेका थिए ।

“प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म सबै पोखराकै, सम्झना बिर्सना तस्बिर पनि आउने, ‘प्राटोकल’ले मिल्छ भने यो घोषणाको दिनमा जनतासँगै खुसी साटौं न” भन्दै सपुतले प्रधानमन्त्रीलाई नाच्न अफर गरेका थिए ।

प्रधानमन्त्रीलगायत नाच्दा समारोहमा निकै ताली बजेको थियो ।

आजदेखि पोखरालाई औपचारिकरुपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ । फेवातालको किनारमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रचण्डले पोखरालाई पर्यटकीय राजधानीको घोषणा गरेका थिए ।

पर्यटकीय राजधानीको घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले आफूँ स्वयम् पनि पोखरेली भएको हुँदा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पाउनु गर्व महसुस भएको बताएका थिए ।

“यस घोषणा सभामा सहभागि हुन पाउँदा र आफू स्वयम्ले घोषणा गर्न पाउँदा मलाई निकै गर्वको महसुस भएको छ”, उनले भनेका छन्, “मेरो आफ्नै जन्म जिल्ला र आफ्नै ठाउँमा यो घोषणाको अवसर दिनुभएकोमा म निकै कृतज्ञ छु ।”

प्रधानमन्त्री प्रचण्डको जन्मस्थान पोखराको ढिकरपोखरीमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट