पारसपछि रोहितको कप्तानीमा नेपालको विश्वकप यात्रा, समर्थकलाई सन्दीपको चिन्ता !-Sutra News

पारसपछि रोहितको कप्तानीमा नेपालको विश्वकप यात्रा, समर्थकलाई सन्दीपको चिन्ता !

शनिबार, ३ चैत्र २०८०

शनिबार, ३ चैत्र २०८०

काठमाडौं । आज १६ मार्च । आजभन्दा १० वर्षअगाडि आजकै दिन नेपालले बंगलादेशको चट्टोग्राममा चिर प्रतिद्वन्दी हङकङसँग खेल्दै टी २० विश्वकपमा डेब्यु गरेको थियो ।



नेपाली क्रिकेटका लागि त्यो दिन ऐतिहासिक मात्रै थिएन । पूरा देश नै क्रिकेटमय बनेको थियो । सोही खेलबाट नेपालमा क्रिकेटको माहौल बढेको थियो । त्यसपछि नेपालीले क्रिकेटप्रति चासो दिन थालेका हुन् ।

टी २० विश्वकपमा नेपाली डेब्यु टिमको कप्तानी पारस खड्काले सम्हालेका थिए । नेपाली आम समर्थकलाई क्रिकेट खेल्न, हेर्न र बुझ्न प्रेरित गरेका उनी यतिबेला नेपाल क्रिकेट संघ (क्यान)को सचिव पदमा छन् ।

सन् २०१४ को विश्वकपमा सहभागिता जनाएका सोमपाल कामी योपटक पनि राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलरमा स्थापित छन् । यसपटक उनले आफ्नो दोस्रो टी २० विश्वकपमा पनि सहभागीता जनाउँदै छन् ।

त्योबेला विश्वकप खेलेका केही खेलाडी विदेश छन् । केही नेपालमा नै कुनै न कुनै रूपमा आबद्ध रहँदै आएका छन् । गत साउनमा क्रिकेट टोलीबाट सन्यास लिएका ज्ञानेन्द्र मल्ल नेपाल ‘ए’को मुख्य प्रशिक्षक हुँदा शक्ति गौचन भैरहवामा क्रिकेट एकेडेमीमा खेलाडी उत्पादन गर्न व्यस्त हुँदा शरद भेषावकर घरेलु क्रिकेट खेल्दै क्रिकेट कमेन्ट्रीमा र विश्लेषकका रूपमा सक्रिय छन् ।

नेपालले टी २० विश्वकपमा डेब्यु गरेको एक दशकपछि अर्को चिर प्रतिद्वन्दी युएईलाई आठ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको थियो । कप्तान रोहित पौडेलले अविजित रहेर खेलेका खेलको नेपाल दोस्रोपटक टी २० विश्वकपमा छनौट भएको हो ।

रोहितकै कप्तानीमा नेपालले आगामी विश्वकपमा सहभागी जनाउँदै गर्दा सन् २०१४ को विश्वकपपछि उदाएका नेपाली लेग स्पिनर सन्दीप लामिछाने टोलीमा हुँदैनन् । क्रिकेटलाई विश्वमा चिनाउँदै सन्दीप नेपाली क्रिकेटका पर्याय नै बने ।

इण्डियन प्रिमियर लिग, अष्ट्रेलियन बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तानी लिगजस्ता विश्वका चर्चित फ्रेञ्चाइज लिगमा सन्दीपको उपस्थितिले नेपाली क्रिकेटको उपस्थिति विश्वभर भएको भन्न कञ्जुस्याई गर्नु पर्दैन । तर, उनी यतिबेला गौशाला २६ माथि बलात्कार गरेको अभियोगमा उच्च अदालत पाटनको पेशी कुरेर बसेका छन् ।

भारत र पाकिस्तान जस्ता विश्व क्रिकेटका पावर हाउसविरुद्ध भिड्ने हैसियतमा पुग्दा नेपाली टोलीमा यतिबेला सन्दीपको हुने छैनन् । लामिछाने बलात्कार प्रकरणमा जोडिएसँगै नेपाली टोली कमजोर बनेको भन्दै उनका समर्थकले विश्वकप खल्लो बन्ने चिन्ता व्यक्त गरेका छन् ।

एक दशकअघि अर्थात सन् २०१४ को विश्वकपमा हङकङ, अफगानिस्तान र बंगलादेशसँग खेलेको नेपालले योपटक दक्षिण अफ्रिका, श्रीलंकासँग मात्रै होइन अहिलेको एसोसिएट्सको सबैभन्दा बलियो मानिएको नेदरल्याण्डससँग समेत सामना गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट