महाजात्राले तोड्न सक्ला त बक्स अफिसको रेकर्ड ?-Sutra News

महाजात्राले तोड्न सक्ला त बक्स अफिसको रेकर्ड ?

शनिबार, ३ चैत्र २०८०

शनिबार, ३ चैत्र २०८०

काठमाडौं । षड्कोण आर्ट्स ब्यानरबाट निर्माण भएका अधिकांश फिल्मले एकपछि अर्को चर्चा बटुल्दै आएको छ । तीन फिल्म जात्रा, जात्रैजात्रा र महापुरुष निर्माण गरेर चर्चा बटुलेको यस ब्यानरबाट चौथो फिल्मका रुपमा महाजात्रा रिलिज हुँदै छ ।



प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्मको चर्चा उत्कर्षमा पुगेका छ । तर, यो ब्यानरको अघिल्ला फिल्महरूले जति चर्चा कमाए पनि बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको छैन ।

हालसम्म बक्स अफिसमा रामबाबु गुरुङ निर्देशित फिल्म कबड्डी ४ को नाममा सर्वाधिक कमाई गर्ने रेकर्ड रहेको छ । महाजात्राको प्रचार हेर्दा र निर्माण गरेका चर्चालाई मूल्याङ्कन गर्दा यसले पनि धमका मच्चाउने फिल्म वृत्तमा अनुमान लगाइएको छ ।

अहिलेसम्म व्यापारिक हिसाबले मात्रै असफल देखिएको यो ब्यानर आफैलाई पनि बक्स अफिसका हिसाबमा ठूलै पहाड फोर्नु पर्ने चुनौती देखिएको छ । महाजात्रामा विपिन कार्की, रविन्द्र सिंह बाँनिया, वर्षा राउत, रविन्द्र झा, प्रविन खतिवडा, राजाराम पौडेल यो फिल्मको अघिल्ला शृङ्खलादेखि जोडिदै आएका कलाकार हुन् ।

यसपटक महाजात्रा टिमले अन्य कलाकारको रुपमा हरिवंश आचार्य, दिव्य देव र गौमाया गुरुङलाई पनि समावेश गरेको छ । कलाकारका हिसाबले बलियो लाइनअफ देखिएको फिल्ममा यसपटक दर्शकमाझ खिचडी नै खिचडी दिने प्रयत्न गरेको देखिन्छ ।

फिल्ममा प्रयोग गरिएका सात संवादहरू दर्शकहरूले निकै रुचाएका छन् । यी संवादहरूले दर्शकलाई कही न कही फिल्मप्रति आकर्षित गर्ने देखिएको छ । अब, दर्शकले साथ दिएको खण्डमा यो फिल्मले बिष्फोटक व्यापार गर्ने अनुमान लगाउन सकिन्छ ।

आगामी चैत्र ९ गतेदेखि विश्वव्यापी रुपमा प्रदर्शन हुन लागेको छ । सफल फिल्म दिन माहिर देखिएको यस टिमलाई बक्स अफिसमा आफ्नै सिरिजको कमाइसँगै २२ करोडको रेकर्ड बनाएको कबड्डी ४ को कीर्तिमानी कमाइलाई समेत चिर्नु पर्ने देखिन्छ ।

केही दिनअघि ट्रेलर सार्वजनिक कार्यक्रममा यस फिल्मका निर्माता दिपेश खत्री म्याक्सले राम्रो फिल्म बनाएकाले उच्च व्यापारका लागि सबै मिलेर पुजापाठ गर्नु पर्ने व्याङ्ग्य गरेका थिए । फिल्मको व्यापार कस्तो होला ? त्यो भने रिलिज भएपछि हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट