फिल्मको चर्चा चलाउन ‘पूजार सार्की’ टिमले गरेको तमासा !-Sutra News

फिल्मको चर्चा चलाउन ‘पूजार सार्की’ टिमले गरेको तमासा !

शनिबार, ३ चैत्र २०८०

शनिबार, ३ चैत्र २०८०

काठमाडाैं । फिल्म बनाउनभन्दा चलाउन कठिन हुन्छ। यही कारणले होला फिल्मकर्मी फिल्म छायांकन हुँदादेखि रिलिजको समयसम्म आइपुग्दा हरेक फन्डा अपनाउँछन् अथवा अपनाइरहेका हुन्छन् । यस्ता फन्डाले कति फिल्मलाई फाइदाभन्दा पनि घाटा पुर्‍याइरहेका हुन्छन् । यसको पछिल्लो उदाहरण बनेको छ ‘पूजार सार्की’ टिम ।



सुरुवातमा यो फिल्मको निर्माण टिमले नेपाली कलाकार एकापसमा मिलेर काम गर्न चाहँदैनन् भन्ने हल्लालाई तोड्दै स्टार नायकहरूलाई एकैसाथ पर्दामा देखाउने आशासहित अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह अनुबन्धित गराएर बजारमा तरंग सिर्जना गरायो ।

दिनेश राउतको निर्देशनमा तयार भइरहेको ‘पूजार सार्की’को सेटबाट हालै कसैले भिडियो खिचेर युट्युबमा अपलोड गरी लिक गरिदिए भन्दै यसको निर्माण पक्ष यतिबेला हल्ला गरिरहेको छ ।

फिल्मका मुख्य कलाकार आर्यन सिग्देलको चरित्रचित्रण हुने २५ सेकेन्ड लामो सार्वजनिक भएको शर्ट्स भिडियोमा उनले ढाका टोपी लगाएर दमाहा र पञ्चेबाजाको तालमा नृत्य गरिरहेको देखिन्छ । भिडियोको पृष्ठभूमिमा फिल्मका अर्का कलाकार प्रदीप जोडसँग दमाहा बजाइरहेका छन् । लामो टुप्पी पालेका आर्यन यस फिल्ममा पूजारीको भूमिकामा रहेको प्रष्ट बुझिन्छ ।

एक महिनादेखि फिल्मको कास्की जिल्लास्थित कास्कीकोटमा छायांकनमा भइरहेको फिल्मका निर्देशक राउतले दृश्य लिक भयो भन्ने तर्क दिँदै आफूले कुनै अवसर पारी लुक्स सार्वजनिक गर्ने तयारी गरिरहेको समयमा एक्कासि भिडियो नै भाइरल भएपछि केही तनाव भएको बताएका छन् ।

अझ राउत भन्छन्, ‘आफूले सोचे अनुरूप सार्वजनिक गर्न नपाए पनि दर्शकले आर्यन सिग्देलको लुक्सबारे चर्चा गरिरहेको देख्दा खुसी नै लागेको छ। जसरी पनि प्रचार सामग्रीहरूमा हामीले देखाउनै पर्ने थियो । योजनामा राखिएको समय अगावै भिडियो सोसल मिडियामा आएको रहेछ । सुटिङ सेटबाटै आर्यनको कोही फ्यानले सेटमै भिडियो खिचेर अपलोड गर्नु भएछ।’

यता, प्रदीप खड्काले सार्वजनिक भएको भिडियोको युट्युब लिङ्क शेयर गर्दै ‘पुजार लिक भयो । मैतैलाई पत्ता लगाउनुस्’ भनेका छन् । तर, रोचक कुरा यो भिडियो लिक नभइ यसको निर्माणपक्षले नै आफै नियोजित रूपमा अपलोड गराएको बुझ्न सकिन्छ । तर, निर्माणपक्ष मौन बसेर उल्टै दृश्य लिक भएको भन्दै प्रचार गरिरहेको छ ।

उनीहरुको यो ‘आइडिया’लाई धेरैले ‘चिप’ भन्दै आलोचना गरेका छन् । सार्वजनिक भएको भिडियोको बारेमा विस्तृत रूपमा अध्ययन गर्दा अभिनेता प्रदीप खड्काका नजिक व्यक्ति मानिने सन्तोष कार्कीले आफ्नो युट्युब च्यानलमा भिडियो अपलोड गरेका छन् । यो टिम आफैंले फिल्मको हल्का हाइप क्रियट त पक्कै गर्नपर्ला भनेर गरेको फन्डा देखिन्छ ।

सुटिङ सेटबाटै दर्शकले भिडियो खिचेर अपलोड गरेको तर्क दिँदै हिँडेको ‘पूजार सार्की’ टिमको उनै सन्तोष कार्कीले पाँच दिन अघि प्रदीपको जन्म दिनमा मैला कालिका मन्दिर पुगेर झर्दै गरेको पूरै फिल्मको युनिट समावेश भिडियो पनि सोही च्यानलबाट हालेको देख्न सकिन्छ ।

यसरी हेर्दा फिल्म बनाउन जति गाह्रो छ, उत्तिकै गाह्रो फिल्म चलाउन पनि छ भन्ने लागेर ‘पूजार सार्की’का मेकर्सले पनि भोगेका रहेछन् भन्ने बुझ्न आउँछ, नत्र लाज पचाइ पचाइ यस्तो तमासा किन गर्नुपर्थ्यो ।

जातीय विभेदविरुद्धको कथामा आधारित यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु लगायतका कलाकारको अभिनय छ । फिल्ममा विकास सुवेदीको लेखन छ । सुभाष भुसालको लगानी रहेको फिल्ममा राजेश श्रेष्ठको डीओपी, सुप्रिम पराजुलीको सम्पादन, हिमाल केसीको एक्सन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट