कांग्रेसको ‘तारो’मा गृहमन्त्री लामिछाने-Sutra News

कांग्रेसको ‘तारो’मा गृहमन्त्री लामिछाने

शुक्रबार, २ चैत्र २०८०

शुक्रबार, २ चैत्र २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस गृहमन्त्री रवि लामिछानेलाई राजीनामा गराएरै छाड्ने पक्षमा देखिएको छ । कांग्रेसले लामिछानेलाई हालकै अवस्थामा उक्त पदमा कायम हुने अवस्था नभएको जिकिर गरेको छ ।



स्थापित मान्यताका आधारमा पनि लामिछाने गृहमन्त्री बन्न अयोग्य भएको कांग्रेसको भनाई छ । शुक्रबार संसद बैठकका बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेसले स्थापित मान्यताका आधारमा गृहमन्त्रीलाई स्वीकार गर्न नसक्ने बताए ।

“कुनै पनि माननीय मन्त्री कुनै पनि अनुसन्धानको दायराभित्र, छानबिनको घेराभित्र पर्नुभएको छ र राज्य त्यो ढंगले अगाडि बढ्नुपर्ने स्थिति छ भने त्यस्तो माननीय मन्त्रीजीलाई आफ्नो पदमा बसिराख्ने हक हुँदैन भन्ने कुरा स्थापित छ”, संसद बैठकमा विशेष समय लिएर बोल्दै लेखकले भने, “यो प्रधानमन्त्रीको प्रतिबद्धताअनुरुप पनि हो ।”

उसो त प्रतिपक्षीको बेन्चमा पुगेदेखि नै कांग्रेसले गृहमन्त्री लामिछानेको नियुक्तीबारे प्रधानमन्त्रीबाट जवाफ मागिरहेको छ । कांग्रेसले विवादितलाई ल्याएर अन्य प्रकरणलाई थामथुम पार्न खोजिएको हो भन्दै कोणबाट प्रश्न तेस्र्याएको छ ।

कांग्रेसले आफ्ना मागमा सरकार मौन बनेको खण्डमा संसद सञ्चालन गर्न नदिने पनि स्पष्ट पारेको छ । उसले आफूलाई वेल घेराउ गर्ने स्थिति नबनाउन पनि चेतावनी दिएको छ ।

“आजपनि माननीय मन्त्री अनुसन्धानको घेरामा हुनुहुन्छ, प्रधानमन्त्री जवाफ दिने अवस्थामा आउँदै आउनुहुन्न, के प्रतिपक्षलाई सत्ताले वेलमै बोलाएको हो ? वेलमै बोलाएको हो भने बाध्य नपारियोस्”, उनले भनेका छन् ।

शुक्रबारको संसद बैठक कांग्रेसको अवरोधसँगै स्थगित भएको छ ।

कांग्रेसले स्पष्टरुपमै गृहमन्त्रीबाट लामिछानेको बहिगर्मनलाई आफ्नो अडान बनाएको छ । कांग्रेसले लामिछानेलाई गृहमन्त्रीको रुपमा स्वीकार नगर्ने स्पष्ट पारेको छ । कांग्रेसले तत्कालिन प्रतिपक्षकै शैलीमा लामिछानेको राजीनामालाई निर्विकल्प बनाएर सदनलाई आफू अनुकुल बनाउने रणनीति लिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट