‘उपहार’ र ‘रङ्गेली’ दोस्रो सातामा प्रवेश गर्दा ‘अगस्त्य’ तेस्रो सातामा-Sutra News

‘उपहार’ र ‘रङ्गेली’ दोस्रो सातामा प्रवेश गर्दा ‘अगस्त्य’ तेस्रो सातामा

शुक्रबार, २ चैत्र २०८०

शुक्रबार, २ चैत्र २०८०

काठमाडौं । पछिल्लो समय नेपाली फिल्मले बक्सअफिसमा खासै राम्रो कमाई गर्न सकिरहेका थिएनन् । हलमा दर्शकको खडेरी लागेका कारण फिल्म दोस्रो वा तेस्रो दिनमै हलबाट उत्रिने अवस्था देखिएको थियो ।



यस्तैमा, गत शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘उपहार’ र ‘रङ्गेली’ले भने दर्शकको राम्रै साथ पाएको देखिन्छ त्यसैले त यी दुई फिल्म नै दोस्रो हप्तामा प्रवेश गरेको छन् ।

ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी र समर्पण जंग कार्कीको मुख्य भूमिका रहेको छ ।

यो फिल्म रिलिज भएसँगै केही दर्शकले ‘उपहार’ धेरै राम्रो छ भनिरहेको अवस्थामा कतिले भने कथा भन्दा विज्ञापनलाई ज्यादा प्राथमिकता दिइएको भन्दै गुनासो पनि पोखेका छन् । फिल्ममा ‘बैंकिङ पार्टनर’को रूपमा जोडिएको सिद्धार्थ बैंकलाई कथाको एउटा हिस्सा नै बनाइएको छ । सिद्धार्थको घर कर्जादेखि लिलामी प्रक्रियासम्मलाई फिल्ममा देखाइएको छ ।

यता, ‘रङ्गेली’को कुरा गर्ने हो भने अर्जुन सुवेदीको निर्देशन रहेको यस फिल्ममा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा लगायतका कलाकारको अभिनय छ ।

दर्शकबाट फिल्म केही लामो भएको प्रतिक्रिया पाएपछि २१ मिनेट घटाइएको थियो । फिल्मको लम्बाई कम भएपछि दर्शकले झनै ‘इञ्जोए’ गरेको निर्देशक सुवेदीले बताए । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो फिल्ममा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । फिल्मको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।

यी दुई फिल्म नै दोस्रो हप्तामा प्रवेश भएकाले निकै उत्साहित देखिएको अवस्थामा फागुनको १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य च्याप्टर १’ भने तेस्रो सातामा प्रवेश गरेको छ ।

दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएसँगै यो फिल्मले दोस्रो हप्ताको शोलाई यथावत् राख्दै तेस्रो सातामा प्रवेश गरेको हो । ‘अगस्त्य’को उच्च ‘वर्ड अफ माउथ’ले व्यापार पनि उत्साहजनक निरन्तरता पाइरहेको छ ।

प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम शोहरु भए पनि तेस्रो सातामा दर्शकको चाप भने घटन दिएको देखिँदैन । फिल्मले पाएको शोजमा दर्शकको अकुपेन्सी सुखद रहेको छ ।

दर्शकले ‘अगस्त्य च्याप्टर १’ हेरेर निस्कँदै गर्दा फिल्मको अन्त्य तिर, को हो गणेश ? भन्ने सस्पेन्सले दर्शकहरू माझ थप एकखालको चासोको विषय बनाइदिएको पाइन्छ ।

फिल्म ‘अगस्त्य’को मेकिङ, कथावस्तु, कलाकारको अभिनय, एक्सनलाई दर्शकले निकै रुचाएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको ‘अगस्त्य’मा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट