माओवादी उपाध्यक्ष महरादेखि पूर्वआईजीपी खनालसम्मलाई कारबाही सिफारिस-Sutra News

माओवादी उपाध्यक्ष महरादेखि पूर्वआईजीपी खनालसम्मलाई कारबाही सिफारिस

शुक्रबार, २ चैत्र २०८०

शुक्रबार, २ चैत्र २०८०

काठमाडौं । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित आयोगले छानबिन प्रतिवेदन बुझाएको छ । आयोगले आफ्नो प्रतिवेदनमा मुद्दा चलाउनुपर्ने मुख्य आरोपित नै कारबाहीको दायरा बाहिर रहेको निष्कर्ष निकालेको छ ।



पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित केही उच्च राजनीतिक पात्र र केही कर्मचारीमाथि कारबाहीको सिफारिस गरेको छ । आयोगले गम्भीर आरोपित पूर्वसभामुख महरा, तत्कालिन अध्यागमन विभागका महानिर्देशन झलकराम अधिकारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई सामान्य सोधपुछ गरेर मात्रै छाडिएको निष्कर्ष निकालेको छ । तीनै जनालाई कारबाहीको दायरामा ल्याउन आयोगले सिफारिस गरेको छ ।

लापरबाहीका कारण तस्करीका बिचौलिया जीवन चलाउने फरार भएको निष्कर्ष आयोगको छ । आयोगले पूर्वआईजीपी तथा एमाले नेता सर्वेन्द्र खनालमाथि छानबिन नै नगरिएकोमा पनि प्रश्न उठाएको छ । आयोगले तत्कालै खनाललाई छानबिनको दायरामा ल्याउन सिफारिस गरेको छ ।

यस्तै, सीआईबी प्रमुख किरण बज्राचार्यमाथि नै कारबाहीको सिफारिस गरेको छ । आयोगले पूर्वआईजीपी खनालको विरुद्धमा आएको बयानको कागज नै च्यातेको विषयलाई गम्भीरताका साथ उठाएको छ । आयोगले बज्राचार्यमाथि दोषीलाई उन्मुक्ति दिने भूमिका खेलेको आरोप लगाएको छ । बज्राचार्यमाथि विभागीय कारबाही चलाउन आयोगको सिफारिस छ ।

यस्तै, आयोगले अभियोजनमा त्रुटि गरेको निष्कर्ष निकाल्दै काठमाडौं जिल्ला न्यायाधिवक्ता जनकप्रसाद घिमिरे र बासुदेव शर्मालाई विभागिय कारबाहीको पनि सिफारिस गरेको छ ।

सुन तस्करी प्रकरणमा बृहत छानबिनको माग गर्दै एमाले र रास्वपाले संसदमा तत्कालिन समय संसदमा अवरोध गरेका थिए । एमाले र रास्वपाको निरन्तर अवरोधपछि सरकारले गत असोज १५ मा पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो । जुन आयोगले बिहीबार आफ्नो प्रतिवेदन गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो ।

आयोगले दिएको प्रतिवेदन गृहमन्त्री लामिछानेले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष पेश गरेका छन् । प्रधानमन्त्रीले आयोगको सिफारिसअनुसार अबिलम्ब कारबाही गर्न गृहमन्त्रीलाई निर्देशन गरेका छन् । कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयन थाल्न प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेलाई निर्देशन दिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।

“सुन तस्करी नियन्त्रण गर्न र तस्करीमा संलग्नलाई कारबाही गर्न तपाईं अघि बढ्नुस्, तस्करीमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालय परिचालन गर्नुस्, सत्यतथ्य पत्ता लगाएर अदालतमा पेस गर्नुस् भनेर उहाँले निर्देशन दिनुभएको छ”, प्रधानमन्त्रीको निर्देशनबारे आचार्यले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट