उच्च अदालत पाटनले माग्यो ‘प्रकाश’ सेन्सर पास भएको प्रमाणपत्र-Sutra News

उच्च अदालत पाटनले माग्यो ‘प्रकाश’ सेन्सर पास भएको प्रमाणपत्र

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०

काठमाडौँ । उच्च अदालत पाटनले नेपाली फिल्म ‘प्रकाश’को सेन्सर पासको सक्कल प्रमाणपत्र झिकाउन आदेश दिएको छ ।



राष्ट्रिय चलचित्र पुरस्कारबारेको मुद्दामा उच्च अदालत पाटनले दिनेश राउतद्वारा निर्देशित फिल्म ‘प्रकाश’को सेन्सर पासको सक्कल प्रमाणपत्र झिकाउन आदेश दिएको हो ।

चलचित्र विकास बोर्डको आयोजनामा भएको राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्मको घोषणा नै गरिएको थिएन । भदौ १२ गते सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो । एक जना जुरी सदस्यले ‘प्रकाश’लाई सिफारिस गरिएको तर बोर्ड नेतृत्वले नमानेको बताएका थिए । यसप्रति आपत्ति जनाउँदै फिल्म ‘प्रकाश’को निर्माण टिमले मुद्दा दायर गरेको थिए।

अघिल्ला वर्षहरूमा दिँदै आएको पुरस्कार यो वर्ष किन दिइएन भनी जुम्ला जिल्लाका स्थानीय व्यक्ति मीनराज आचार्य, फिल्म लेखक विकास सुवेदी र निर्देशक दिनेश राउतले चलचित्र विकास बोर्डमा पत्र दर्ता गरी सोधेका थिए । बोर्डबाट जवाफ नपाएपछि गत असोज ५ गते उनीहरुले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका थिए ।

रिट निवेदनको सुनुवाइका क्रममा बुधवार पक्ष र विपक्षका वकिलहरूको वहसपछि प्रदर्शनका लागि स्वीकृति दिए नदिएकोबारे केन्द्रीय चलचित्र जाँच समितिबाट बुझ्न र दिएको भए प्रमाणित प्रतिलिपि पेश गर्न न्यायाधीशद्वय धीरबहादुर चन्द र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

२०७९ भदौ ५ गते सेन्सर पास भएको यो फिल्म अघिल्लो वर्षको भदौ १० गतेदेखि प्रदर्शनमा आएको थियो । यो फिल्ममा प्रदीप खड्का, दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा आदि कलाकारले अभिनय गरेका छन् ।

यो फिल्ममा नेपाली समाजको यथार्थता, भोगाइ तथा समस्यालाई चित्रण गरिएको छ । फिल्ममा जुम्लाको गरिब परिवारको विपन्नतामा हुर्केका एक सदस्य प्रकाशको शिक्षक बन्ने सपना र त्यससँग उनको सपना पूरा गर्न जोडिएका विभिन्न घटनाक्रमलाई प्रस्तुत गर्न खोजिएको छ । आफ्नो सपना पूरा गर्न गर्नुपर्ने विविध सङ्घर्षको कथालाई फिल्मले देखाउन खोजेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट