तेस्रो पटक प्रचण्डले पाए विश्वासको मत-Sutra News

तेस्रो पटक प्रचण्डले पाए विश्वासको मत

बुधबार, ३० फाल्गुन २०८०

बुधबार, ३० फाल्गुन २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकका प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।



प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावको पक्षमा १५७ मत खसेको छ भने विपक्षमा ११० मत खसेको छ । यस्तै, उनको प्रस्तावको पक्ष र विपक्षमा मत दिन्न भन्नेमा १ मत खसेको छ । बुधबारकाे प्रतिनिधिसभा बैठकमा २६८ जना उपस्थित थिए ।

२०७९ पुस १० मा प्रधानमन्त्रीमा निर्वाचित भएका प्रचण्डले सोही महिनाको २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए । प्रधानमन्त्री चयनका बेला बनेको गठबन्धन भत्किएसँगै प्रचण्डले चैत्र ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए ।

तत्कालिन समय राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर गठबन्धन फेरिएको थियो । एमालेसहितका दलहरु सरकारबाट बाहिरिएका थिए भने नेपाली कांग्रेसलगायतका दलहरु सरकारमा भित्रिएका थिए । तत्कालिन समय एमाले–माओवादी गठबन्धन भत्किएर कांग्रेस–माओवादी गठबन्धन बनेको थियो ।

तर, पुनः राष्ट्रियसभा अध्यक्षको निर्वाचनको संघारमा फागुन २० को मध्यराति गठबन्धन फेरिएको छ । अहिले कांग्रेस–माओवादी गठबन्धन भत्किएर पुनः एमाले–माओवादी गठबन्धन निर्माण भएको छ । तत्कालिन सत्ता साझेदार कांग्रेसलगायतका दल सत्ता बाहिर पुगेका छन् भने एमालेसहितका दलहरु सत्तामा भित्रिएका छन् ।

सत्ता साझेदार कुनै दलले समर्थन फिर्ता लिएको खण्डमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्रीलाई माओवादी केन्द्रसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायतले विपक्षमा मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट