गठबन्धनभित्र बढ्यो विवाद, प्रधानमन्त्रीलाई विश्वासको मत लिनै सकस-Sutra News

गठबन्धनभित्र बढ्यो विवाद, प्रधानमन्त्रीलाई विश्वासको मत लिनै सकस

सोमबार, २८ फाल्गुन २०८०

सोमबार, २८ फाल्गुन २०८०

काठमाडौं । नयाँ समीकरण फेरबदलसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी बुधबार विश्वासको मत लिने तयारी गरेका छन् । जसका लागि प्रधानमन्त्री प्रचण्डले संसद सचिवालयलाई पत्र पठाइसकेका छन् । सचिवालयले पनि बुधबारका लागि बैठक बोलाएको छ ।



प्रधानमन्त्री प्रचण्डले फागुन २१ मा एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाएका थिए । जुन समीकरणमा एमाले र माओवादी केन्द्रसहित रास्वपा, जसपा र एकीकृत समाजवादी सहभागि छ ।

संसदीय गणीतलाई हेर्दा गठबन्धनमा भएका दलहरुले मत दिएमा प्रधानमन्त्रीले सहजै बहुमत प्राप्त गर्न सक्छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको मत चाहिन्छ । गठबन्धनमा आबद्ध एमालेसँग ७६, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २१, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० गरी बहुमतभन्दा बढी मत १५१ मत छ ।

तर, यहीबीच गठबन्धनभित्र खटपट देखिएको छ । एमालेभित्रबाट केही आशंकायुक्त कुराहरु आइरहँदा जसपाभित्र विवाद देखिन थालेकाे छ भने एकीकृत समाजवादीले घोषितरुपमै लिखित सहमति नभए मत नदिने घोषणा गरेको छ । एमाले र जसपाभित्र सामान्य विवाद दखिँदा एकीकृत समाजवादीको घोषणा असमान्य छ ।

सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले राष्ट्रियसभा अध्यक्ष र प्रधानमन्त्रीमा मत दिन लिखित सहमति हुनुपर्ने अडान लिएको छ । एकीकृत समाजवादीले लिखित सहमति नभएको खण्डमा मत नदिने स्पष्ट पारेको छ ।

“भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीज्युले लिने विश्वासको मत लिने बारेमा निर्णय गरेका छैनौँ, हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ, र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ”, बैठकपछि एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले भने, “तर उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ, उहाँमै भर पर्छ, सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भरपर्छ, सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न ।”

राष्ट्रियसभामा आठ सीट भएको एकीकृत समाजवादीले मत नदिए पनि गठबन्धनभित्र बहुमत त पुग्ने देखिन्छ तर, कसैले फ्लोर क्रश गरेमा हार्ने स्थिति छ । एकीकृत समाजवादी बिना गठबन्धनतर्फ २९ सिट छ ।

यता, प्रतिनिधिसभा एकीकृत समाजवादीबिना गठबन्धनभित्र १४१ सिट पुग्छ । जहाँ बहुमत सिद्ध गर्न १३८ मत चाहिन्छ । तर, प्रतिनिधिसभामा पनि कसैले फ्लोर क्रश गरेमा प्रधानमन्त्रीले विश्वासकाे मत जुटाउन सक्दैनन् ।

किनकि यसअघि पनि थुप्रै निर्वाचनमा दलका सांसदहरुले फ्लोर क्रश गरेका उदाहरण छन् । यस्तोमा एकीकृत समाजवादीलाई मनाएरै जानुपर्ने बाध्यता गठबन्धनलाई देखिन्छ । तर, एकीकृत समाजवादीकाे मागअनुसार सहमति नभए अवस्था अन्याैलपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट