हरिवंश आचार्य भन्छन्- एकै किसिमको भूमिकामा समेटिन चाहान्न-Sutra News

हरिवंश आचार्य भन्छन्- एकै किसिमको भूमिकामा समेटिन चाहान्न

सोमबार, २८ फाल्गुन २०८०

सोमबार, २८ फाल्गुन २०८०

काठमाडौं । अभिनेता हरिवंश आचार्य ‘भर्सटाइल’ कलाकार मानिन्छन् । फिल्म होस् या टेलिसिरियलमा आचार्यले आफ्नो चरित्रमा विविधता देखाएका छन् । कुनैमा उनले आदर्श पात्र भएर काम गरेका छन् भने कुनैमा नकारात्मक चरित्र निभाएका छन् । यसैले त उनी ‘भर्सटायल अभिनेता’को रुपमा चिनिन्छिन् ।



आदर्श पुरुष र सरल छवि निर्माण गरेका अभिनेता आचार्य पर्दामा पनि त्यस्तै भूमिका निर्वाह गरे । गत वर्ष प्रदर्शन भएको फिल्म ‘महापुरुष’बाट अभिनेता आचार्य नेपाल सरकारको तर्फबाट अभिनेतालाई प्रदान गरिने ‘राष्ट्रिय अवार्ड’ समेत प्राप्त गरे ।

तर, यसपटक आचार्यले फिल्म ‘महाजात्रा’ मा राजनीतिज्ञको भूमिका निर्वाह गरेका छन् । सेवा भावभन्दा अनैतिक कार्यलाई प्रश्रय दिने नेताको भूमिका निर्वाह गरेका अभिनेता आचार्यले सकारात्मक र नकारात्मक दुवै भूमिकाले अभिनयलाई पूर्ण बनाउने बताए ।

फिल्म ‘महाजात्रा’ को प्रचारप्रसारमा सहभागी भएका आचार्यले षट्कोण आर्ट्समा सञ्चारकर्मीसँग कुराकानी गर्दै अभिनेताका रुपमा आफू एकै किसिमको भूमिकामा समेटिन नचाहेको जानकारी दिए ।

“म र मैले अभिनय गर्ने पात्र फरक हुन् । सोही कारण मेरो निजी जीवन पात्रमा नआओस् भन्ने चाहन्छु । त्यहीअनुरूप मैले अभिनय गर्ने गरेको छु । यसपटक मैले नेताको भूमिकामार्फत् भइरहेको विकृति र त्यसले पारिरहेको असरलाई प्रस्तुत गरेको छु । यसले नकारात्मक पक्षबारे आम दर्शकलाई प्रष्ट्याउँछ”, अभिनेता आचार्यले भने ।

उनले आफूसँग मह सञ्चारमा डेढ दशक अगाडि काम गरेका कारण पनि निर्देशक प्रदीप भट्टराईको कामप्रति विश्वास रहेको बताए । उनले भने, “निर्देशक भट्टराईले समाजलाई सन्देश र दर्शकलाई मनोरञ्जन दिने कथा तयार गर्छन् । सोही कारण पनि म उहाँ प्रति विश्वस्त भएर कथा नहुँदा पनि अभिनय गर्न सक्छु । यसपटक पनि मलाई पूर्ण कथाभन्दा पनि चरित्रको बारेमा थाहा थियो । उनले यो फिल्म लेखिएको भन्दा राम्रो बनाएका छन् ।”

अभिनेता आचार्यले ‘महाजात्रा’ कलात्मक र व्यावसायिक दुवै पक्षलाई ध्यान दिएर तयार गरिएको बताए । किनकि उनी सफल हुन कलाको प्रशंसासँगै व्यावसायिक सफलता पनि अनिवार्य हुने विचार राख्छन् । निर्देशक भट्टराईले अभिनेता आचार्यमा रहेका सम्भावना व्यक्तिगत जीवनका कारण समेटिनु हुँदैन भन्नेमा जोड दिए ।

“अभिनेता आचार्य मेरो गुरू हुन् । उहाँले गर्ने अभिनय र त्यसको क्षमतालाई मैले विगत दुई दशकदेखि देखेको छु । तर, उहाँको छविका कारण उहाँलाई एकै किसिमको भूमिका प्रस्ताव हुने गरेका छन् । त्यो नहोस् भन्ने मेरो चाहना हो”, निर्देशक भट्टराईले भने ।

फिल्ममा अभिनेता आचार्यसँगै विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, राजाराम पौडेल, प्रकाश घिमिरे, गौमाया गुरुङ, अरविन खड्कालगायतका कलाकारले अभिनय रहेको छ । दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेको यो फिल्म आउँदो चैत ९ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट