अरु दलका नेतालाई ‘चोर’ भन्ने लिङ्देनले कहिले हटाउलान् मुख्यालयबाट ‘गुण्डा’ ?-Sutra News

अरु दलका नेतालाई ‘चोर’ भन्ने लिङ्देनले कहिले हटाउलान् मुख्यालयबाट ‘गुण्डा’ ?

सोमबार, २८ फाल्गुन २०८०

सोमबार, २८ फाल्गुन २०८०

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्ति निकै चर्चित बन्यो । उद्घाटन सत्रको फोरमलाई प्रयोग गर्दै उनले मुख्य राजनीतिक दलका नेतालाई ‘चोर’को संज्ञा दिएका थिए ।



“पहिले–पहिले गाउँमा जाँदा कुन नेता आउनुभएको छ भन्ने गरिन्थ्यो तर, अहिले कुन चोर आएछ भन्ने गरेका छन्”, नेतृत्व पंक्तिलाई हेर्दै उनले भनेका थिए ।

विशेषगरी राजसंस्था फर्काउने अभियानमा लागेका लिङ्देनले गणतान्त्रिक व्यवस्था र यस व्यवस्थाका नेतृत्वकर्ताको धज्जी उडाउने योजनामा उक्त टिप्पणी गरेका थिए । व्यवस्था असफल बनेको र नेतृत्वले विश्वास गुमाएको टिप्पणी लिङ्देनको थियो ।

“सरकार सरकारजस्तो छैन, संसद् संसद्जस्तो छैन, अदालत अदालतजस्तो छैन, यो सबलाई ठीक बनाउने राजनीति पनि ठीक छैन,” लिङ्देनले भनेका थिए, “राजनीतिलाई ठीक बनाउने नेताले पनि विश्वास गुमाएका छन् ।”

हुन त लिङ्देन चोटिलो अभिव्यक्तिकै कारण चर्चामा छन् । उनका यी र यस्तै अभिव्यक्तिकै कारण पनि लोकप्रियता बढेको देखिन्छ । व्यवस्थाका खराब पक्षलाई देखाएर यस्तै अभिव्यक्ति दिँदा उनको पक्षमा माहोल सिर्जना भएको पाइन्छ ।

तर, यसरी अन्यलाई उछितो काढ्दै आफ्नो आकार बढाउन सफल भएका लिङ्देनको मुख्यालयमा ‘गुण्डाको बास’ भएको विषयले भने अहिले चर्चा पाएको छ । आइतबार राप्रपाको केन्द्रीय कार्यालय, धुम्बाराहीभित्र पूर्वएआईजी एवम् राप्रपा केन्द्रीय नेता डा. ठाकुरमोहन श्रेष्ठ कुटिएका छन् ।

राप्रपाका महामन्त्री विक्रम पाण्डेलाई ‘भ्रष्टाचारी’को आरोप लगाउँदा उनका समर्थकबाट उनी कुटिएका हुन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल छ ।

केन्द्रीय कार्यालयमै कुटिएपछि श्रेष्ठ अहिले उजुरी बोकेर प्रहरीमा पुगेका छन् । उनले आफूमाथि कुटपिट गर्ने गुण्डाहरुलाई कारबाही गर्न निवेदन गरेका छन् । उनले नामै किटेर आफूमाथि उपाध्यक्ष विक्रम पाण्डेले आक्रमण गराएको बताएका छन् ।

जुन घटनापछि राप्रपा केन्द्रीय कार्यालयमा कस्ता व्यक्ति आउँछन्, कस्ताको बास छ भन्ने कुरा छताछुल्ल छ । अरुलाई ‘चोर’को संज्ञा दिने लिङ्देनले आफ्ना मण्डले गुण्डा व्यवस्थापन गर्ने कि ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट