गुरुङ र बिडारी ‘वर्ष फिल्म निर्देशक’ घोषित-Sutra News

गुरुङ र बिडारी ‘वर्ष फिल्म निर्देशक’ घोषित

सोमबार, २८ फाल्गुन २०८०

सोमबार, २८ फाल्गुन २०८०

काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजले विभिन्न फिल्मकर्मीलाई सम्मान गरेको छ । समाजले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो १६औँ वार्षिक साधारण सभाको अवसर पारेर विभिन्न फिल्मकर्मीलाई सम्मान गरेको हो ।



कार्यक्रममा दीर्घ साधना सम्मान वरिष्ठ निर्देशक यादव खरेललाई प्रदान गरियो । निर्देशक खरेल स्वास्थ्यका कारण कार्यक्रममा अनुपस्थित भएपछि उनका प्रतिनिधिलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा नेपालको पहिलो रंगीन फिल्म ‘कुमारी’का निर्देशक प्रेमबहादुर बस्न्यातलाई ‘हिरासिंह खत्री स्मृति सम्मान २०८०’ बाट सम्मान दिइयो ।

यस्तै, कार्यक्रममा निर्देशकद्धय रामबाबु गुरुङ र सुजित बिडारीलाई नेपाली फिल्मका ‘वर्ष निर्देशक’ घोषित गर्दै पुरस्कृत गरिएको थियो ।

निर्देशक गुरुङलाई फिल्म ‘कबड्डी कबड्डी ४’ बाट ‘डिरेक्टर अफ द इयर २०७९ (कमर्सियल­)’ र निर्देशक बिडारीलाई फिल्म ‘ऐना झ्यालका पुतली’बाट ‘डिरेक्टर अफ द इयर २०७९ (क्रिटिक)’ विधामा सम्मान गरियो । उनीहरूलाई प्रमुख अतिथिको रुपमा सहभागि अभिनेता राजेश हमालले पुरस्कार प्रदान गरेका थिए ।

चलचित्र विकास बोर्डको बक्स अफिस विवरणअनुसार २०७९ सालमा रिलिज भएको गुरुङ निर्देशित ‘कबड्डी ४’ले सर्वाधिक कमाउने फिल्मको इतिहास रचेको थियो । बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ सोही वर्ष ओस्कारमा मात्र सिफारिस भएन, दशककै उत्कृष्ट फिल्मको रुपमा यसले समीक्षा बटुलेको थियो ।

यसैगरी, समाजले निर्देशक आकाश अधिकारी, दिनेश डिसी र सम्झना उप्रेती रौनियारलाई ‘स्रष्टा सर्जक सम्मान २०८०’बाट सम्मान गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि अभिनेता हमालले सबैजना एकजुट भए चलचित्र ऐन बनाउने कार्यमा आफू सघाउन तयार रहेको बताएका थिए । नेपाली फिल्म क्षेत्रका लागि आफू जहाँ जानुपरे पनि जान तयार रहेको बताउँदै उनले भने, ‘अहिले म खुला छु । त्यसकारण नेपाली फिल्मको वृत्ति विकासदेखि हरेक पक्षका लागि म तपाईंहरुसँग जहाँ जान पनि जान तयार छु ।’

यस्तै, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाली फिल्म विकासका लागि निर्देशकको योगदानको स्मरण गर्दै फिल्म क्षेत्रको विकासका लागि सरकारी तवरबाट पनि चासो हुनुपर्ने बताए ।

अध्यक्ष पराजुलीले अबदेखि हरेक वर्ष व्यवसायिक र समीक्षात्मक कोणबाट उत्कृष्ट हुने फिल्मका निर्देशकलाई ‘वर्ष निर्देशक’को रुपमा पुरस्कृत गरिनेछ । साथै, हीरासिंह खत्री स्मृति सम्मानसमेत प्रदान गरिने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट