दयाहाङ र मिरुनाको फिल्म ‘रङ्गेली’लाई रङ्गेलीकै मेयरले गरे नहेर्न आग्रह-Sutra News

दयाहाङ र मिरुनाको फिल्म ‘रङ्गेली’लाई रङ्गेलीकै मेयरले गरे नहेर्न आग्रह

आइतबार, २७ फाल्गुन २०८०

आइतबार, २७ फाल्गुन २०८०

काठमाडौं । महाशिवरात्रिको अवसरमा शुक्रबार प्रदर्शनमा आएको दयाहाङ अभिनीत फिल्म रङ्गेलीलाई मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप कुमार अग्रवाल (बगडिया)ले फिल्म नहेर्न आग्रह गरेका छन् ।



फिल्म हेरेर मिडियासँगको अन्तर्वार्तामा फिल्म नहेर्न आग्रह गरेका हुन् । लगातार तीन वटा हिट फिल्म दिइसकेका दयाहाङ र मिरुना मगर अभिनीत रङ्गेली हलमा प्रदर्शनरत छ ।

केही फरक गर्ने सोचका साथ दयाहाङ यो पटक रङ्गेलीमार्फत ग्याङ्स्टरको लुक्समा देखिएका छन् । तर, उनको यो लुक्सलाई दर्शकले खासै मन पराएको देखिँदैन । दयाहाङलाई यो पात्रमा निकै भद्दा देखिएको प्रतिक्रिया दिएका छन् ।

यही फिल्मलाई लिएर केही दिनअघि सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै मेयर अग्रवालले आफूले नेतृत्व गरिरहेको नगरपालिका रङ्गेलीको नामबाट फिल्म बनेको भन्दै खुसी व्यक्त गरेका थिए ।

उनले त्यसबेला भिडियो मार्फत शुभकामना दिँदै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण तथा प्रचुर सम्भावना रहेको नेपाली फिल्म ‘रङ्गेली’को भव्य सफलता होस भन्ने कामना गरेका थिए । तर, मेयर अग्रवालले फिल्म हेरिसकेपछि दर्शकलाई नहेर्न आग्रह गरेका छन् ।

रङ्गेलीमा राज गर्नका लागि ग्याङस्टारबीच हुने लडाइँको कथालाई पस्किएको फिल्ममा रङ्गेलीको नामअनुसारको काम अर्थात् फिल्म नभएको बताउँदै उनले यो फिल्म नहेर्न आग्रह गरेका हुन् ।

योभन्दा अगाडि दयाहाङको कुनै फिल्म नहेरेको बताएका मेयरले रङ्गेलीमै यस्तो कथा किन लेखियो भनेर आपत्तिसमेत जनाए । फिल्म सुटिङदेखि तयार हुँदासम्म नगरपालिकासामु कुनै स्वीकृति नलिई सेन्सर गरिसकेपछि मात्रै स्वीकृत लिन आएको दाबी गरे । सुरुमा स्वीकृत नदिऊँ भन्दा बार्गेनिङ गरेको जस्तो देखिने भएकाले स्वीकृत दिएको उनको भनाइ छ ।

अर्जुन सुवेदीले निर्देशन गरेको फिल्ममा रङ्गेलीबासीको कथा एक प्रतिशत पनि मेल नखाएको मेयरको दाबी छ । साथै, फिल्ममा भनेजस्तो खुल्ला नाकामा तस्करी हुन्छ, तर फिल्ममा देखाएको जस्तो अवैध कारोबार हुँदैन भन्दै फिल्ममा देखाएको भरमा देश तथा विदेशबाट रङ्गेली प्रति नराम्रो नसोच्न पनि आग्रह गरेका छन् ।

अब देखि रङ्गेली माथि कुनै फिल्म बनाउँदा राम्रोसँग कथा जाँच गरेर मात्र बनाउन दिने उनी बताउँछन् । जनप्रतिनिधिहरूले हाम्रो ठाउँमा बनेको फिल्मलाई रोकिदियो भनेर चौतर्फी विरोध नगरुन् भनेर सुकृति दिइएको बताउने उनले ‘रङ्गेलीको पार्ट २’ बन्दैन जस्तो मलाई लाग्छ भन्न समेत भ्याएका छन् ।

रङ्गेली स्थित ऐतिहासिक मन्दिरहरू नदेखाएकोमा गुनासो पोखेका उनले फिल्म हेर्दा रमाइलो नलागेको र टाईम पास गर्नै मुस्किल परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट