फिल्म ‘काँडेतार’लाई देशभरका हलबाट उतार्ने घोषणा-Sutra News

फिल्म ‘काँडेतार’लाई देशभरका हलबाट उतार्ने घोषणा

शनिबार, २६ फाल्गुन २०८०

शनिबार, २६ फाल्गुन २०८०

काठमाडौं । फिल्म ‘काँडेतार’लाई देशभरका हलबाट उतार्ने (प्रदर्शन बन्द गर्ने निर्णय) निर्माणपक्षले घोषणा गरेको छ ।



महाशिवरात्रिको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘काँडेतार’लाई हलबाट उतार्ने निर्माता तथा निर्देशक नवल खड्काले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदर्शकहरुले फिल्मलाई सहयोग नगरेको भन्दै प्रदर्शन बन्द गर्ने घोषणा गरेका हुन् ।

उनले शनिबार पत्रकार सम्मेलन गर्दै फिल्ममाथि संगठित गिरोह खनिएको समेत आरोप लगाए । योसँगै शुक्रबारदेखि रिलिजमा आएको यो फिल्म आइतबारबाट भने हलमा प्रदर्शन नहुने भएको छ ।

निर्देशक खड्काले पत्रकार सम्मेलनमा भने–‘हामीले देशभक्ति फिल्म बनाउनु नै अपराध गरेको हो र ? के देशभक्ति फिल्म फिल्म नै होइन ? व्यवहारमा यस्तो नै देखिएको छ । यसको जवाफ हामीलाई सम्बन्धित सरोकारवाला निकायले एक दिन दिनै पर्छ ।’

उनले, देशभक्ति फिल्ममाथि मजाक गर्न छुट कसैलाई पनि नभएको तर्क गरेका छन् । नवलले, फिल्म हलहरुबाट शो दिइँदा प्राइम टाइममा गडबडी हुन्छ भन्ने कुरा कल्पना पनि नगरेको बताएका छन् ।

आफूहरूसँग जुध्न आएका अन्य नेपाली फिल्मका ८०–९० वटा शोहरु प्राइम टाइममा दिइएको तर आफूहरूको फिल्मलाई भने निकै कम शो दिइएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।

हलहरूबाट शो दिइँदा प्राइम टाइममा गडबडी हुन्छ आफूहरूको कल्पनाभन्दा बाहिरको कुरा भएको र अन्तिम घडीमा चाल पाइएको उनको भनाई छ । ‘तर त्यसबेला हामीले काँडेतारको प्रदर्शन रोक्न सम्भव थिएन। त्यसैले हामीले संकेतिकरुपमा फिल्म शो गर्ने र आजबाट नै रोक्ने निर्णय गरेका थियौँ, जुन कुरा हामीले हलवालालाई हिजो फागुन २५ मा नै जानकारी गराएका थियौँ,’ उनले भने ।

खड्काको निर्देशन तथा अभिनय रहेको फिल्म काँडेतारले सीमा अतिक्रमणको मुद्दा उठाएको छ । नेपालको सीमा मिचेर भारतले मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश गरिएको छ । तर यो फिल्ममा सरकारबाट पनि सहयोग नपाएको गुनासो निर्देशक खड्काले गरेका छन् ।

निर्माण कम्पनी सामना फिल्मस् प्रा. लि. ले जारी गरेको बक्तव्यमा भनिएको छ, ‘हिन्दी फिल्म (शैतान)लाई ११५ वटा शोज उपलब्ध गराइएको छ । अंग्रेजी (कुङ्ग फु पाण्डा ४)लाई ७० शोज उपलब्ध गराइएको छ । फिल्मको शोजमा ‘प्राइम टाइम’ अति महत्वपूर्ण मानिन्छ । यही समयमा दर्शकहरु फिल्म हेर्न निस्कन्छन् । ‘काँडेतार’लाई यस्तो ‘प्राइम टाइम’ उपलब्ध गराइएन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट