पश्चिमको पशुपति गलेश्वरमा चार लाख भेटी संकलन-Sutra News

पश्चिमको पशुपति गलेश्वरमा चार लाख भेटी संकलन

शनिबार, २६ फाल्गुन २०८०

शनिबार, २६ फाल्गुन २०८०

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्रिका दिन चार लाख रुपैयाँ भेटी संकलन भएको छ ।



महाशिवरात्रि पर्वका अवसरमा शुक्रबार गलेश्वरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटी शनिबार बिहान गनिएको हो ।

यस वर्षको महाशिवरात्रि पर्वमा चार लाख २९ हजार भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष गौमाया पुनले जानकारी दिइन् ।

पश्चिमको पशुपतिनाथका रूपमा परिचित गलेश्वरमा शिवरात्रिमा म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौंलगायत स्थानबाट करिब ५० हजार भक्तजन दर्शन गर्न आएका कोषाध्यक्ष पुनले बताइन् ।

महाशिवरात्रि पर्वमा कालीगण्डकी स्नान र गलेश्वरमा पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । खेतीबाली लगाउने किसान फुर्सद, मौसम अनुकूल र बेनी-गलेश्वर सडक कालोपत्र भएकाले विगतको तुलनामा यसपालि भक्तजन आगमन बढेको कोषका सदस्य सचिव बलबहादुुर खत्रीले बताए ।

जिल्ला प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लब र आमा समूहका स्वयंसेवकको सहभागितामा महाशिवरात्रि मेलालाई व्यवस्थित गरिएको थियो । साउनको सोमबार, बालाचतुर्दशी र शिवरात्रिको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा भेटी गन्ने गरिएको छ ।

गत साउनयता ३७ लाख ९८ हजार भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए । गलेश्वरमा संकलन भएको भेटी शालिग्राम वेद विद्याश्रम, ज्येष्ठ नागरिक आश्रम निर्माणमा खर्च गरिने कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट