प्रिमियरमा ‘उपहार’को तारिफ, ‘प्याकेज’ फिल्म भन्दै गरे प्रशंसा-Sutra News

प्रिमियरमा ‘उपहार’को तारिफ, ‘प्याकेज’ फिल्म भन्दै गरे प्रशंसा

बिहिबार, २४ फाल्गुन २०८०

बिहिबार, २४ फाल्गुन २०८०

काठमाडौं । फिल्म ‘उपहार : द जर्नी अफ लाइफ’को प्रिमियर शो सम्पन्न भएको छ ।



शुक्रबारबाट रिलिज हुने फिल्मको बिहीबार राजधानीमा एक कार्यक्रमबीच रिलिजको पूर्वसन्ध्यामा प्रिमियर शो सम्पन्न भएको हो ।

प्रिमियर शोमा फिल्मको टिम सहित फिल्मकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय पूजा शर्मा र बेनिशा हमाल, अभिनेतात्रय मुकुन भुषाल, समर्पणजंग कार्की र तेज गिरीलगायतको उपस्थिति रहेको शोमा उपस्थिति थिए ।

अमेरिकामा रहेर प्रिमियर समारोहमा उपस्थित हुन नसकेकी अभिनेत्री तथा निर्मात्री रेखा थापाले भिडियो संदेशमार्फत सबैलाई फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरिन् । रेखाले भिडियो सन्देशमार्फत भनेकी छन्, ‘अब उपहार हाम्रो नभई दर्शकको भएको छ । फिल्म हेरेर कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला । हामी खुल्ला हृदयले स्वागत गर्नेछौँ’, अभिनेत्री थापाले भनिन्, ‘यो फिल्ममा नारीको सङ्घर्षसँगै सक्षमता पनि देखाईएको छ । स्वाभिमानी महिलाको कथा हो ।’

प्रिमियरमा फिल्म हेर्न पुगेका अधिकांश फिल्मकर्मीहरुबाट ‘उपहार’लाई अब्बल रहेको प्रतिक्रिया प्राप्त मिलेको छ । उनीहरुले फिल्मको कथावस्तु र कलाकारको अभिनयको खुलेर प्रशंसा गर्दै एउटा ‘प्याकेज’को फिल्म बनेको भन्दै प्रशंसा गरेका थिए ।

साथै, फिल्म हेरेर निर्देशक सुदर्शन थापाले कमर्सियल फिल्म कस्तो हो भनेर ‘उपहार’ले बताउने तर्क गरे । उनले भने, ‘नेपाली फिल्ममा विभिन्न धारका फिल्म भन्ने सुनिन्छ । तर, फिल्मको एउटै धार हुन्छ, मूलधार । यो पूर्ण रुपमा मूलधारमा बनेको फिल्म हो । यसले उठाएको विषयवस्तु, प्रस्तुति, कलाकारको अभिनय सबै उत्कृष्ट छ ।’

फिल्म हेरेर कलाकार किरण केसीले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिए । उनले भने, ‘ज्ञानेन्द्र देउजा सानो-सानो कुरालाई पनि केलाएर प्रस्तुत गर्न सक्ने खुबी भएको निर्देशन हो । ‘उपहार’मा हरेक कलाकारहरुको काम राम्रो छ । पूजा र बेनिशाले गजब अभिनय गरेका छन् । शिशिर राणा भाईलाई विशेष बधाई दिन चाहन्छु । उसले साह्रै मीठो अभिनय गरेको छ । सिचुएशनल कमेडीले धेरै हँसाउँछ ।’

यस्तै, कलाकार रमेश उप्रेतीले फिल्म हेरेपछि ‘उपहार’ यस वर्षकै उत्कृष्ट फिल्म लागेको बताए । उनले भने, ‘फिल्ममा मनोरञ्जनसँगै सन्देश पनि छ, हरेक कलाकारहरुको अभिनय राम्रो छ । यसमा रेखा थापाको आफ्नो पन निस्किएको छ । रेखामा दमदार मेकरको पनि लक्षण देखिएको छ । यो फिल्म हेर्दा समय र पैसा खेर जान्न । मैले धेरैपछि गजबको नेपाली फिल्म हेरेँ । यो वर्षकै उत्कृष्ट फिल्म लाग्यो ।’

कलाकार शिवहरी पौडेलले फिल्ममा हुनुपर्ने सबै गुण ‘उपहार’मा रहेको धारणा व्यक्त गरे । निर्देशक शोभित बस्नेतले भने धेरैपछि वास्तविक नेपाली फिल्म हेर्न पाएको बताए । दर्शकलाई मनपर्ने फिल्म बनेको उनको दाबी छ । त्यस्तै, निर्देशक तथा निर्मात्री कृषा चौलागाईं ‘उपहार’लाई ‘प्याकेज’को फिल्म भन्न रुचाउँछिन् । रेखा थापाका फ्यानहरुका लागि राम्रो उपहार हुने उनको विश्वास छ ।

निर्देशक नवल नेपाल ‘उपहार’लाई एउटा परिपक्व फिल्म रहेको बताउछन् । उनी भन्छन्, ‘एउटा परिपक्व निर्देशकको परिपक्व फिल्म हो यो । यसमा हाँसो, रोदन सबैथोक छ । समग्रमा ‘प्याकेज’को फिल्म हो ।’

प्रिमियरमा उपस्थित अभिनेत्री केकी अधिकारी, अभिनेता विजय लामा, निर्देशक शोभित बस्नेत, सुदर्शन थापा, मोडल उषा उप्रेती, निर्देशक कृषा चौलागाई, दिवाकर भट्टराईले फिल्मको कथाले मन छोएको बताए । संगीतकार अर्जुन पोखरेल, लेखक प्रदीप भारद्वाजलगायतले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए ।

फिल्मकी मुख्य अभिनेत्री पूजा शर्माले आफ्नो लागि यस वर्षकै उत्कृष्ट फिल्म रहेको दाबी गरिन् । उनले खुसी हुँदै भनिन्, ‘स्क्रिप्टभन्दा अझ बलियो लाग्यो फिल्म । यो फिल्म हेर्न छुटाइयो भने सबथोक छुटाएको बराबर हुनेछ । मेरो लागि यस वर्षकै उत्कृष्ट फिल्म हो।’

‘उपहार’की अर्की अभिनेत्री बेनिशा हमाल प्रिमियरमा प्राप्त सकारात्मक प्रतिक्रियाले हर्षित भावमा देखिएकी थिइन् ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट