प्रिमियरमा फिल्म ‘रङ्गेली’लाई तारिफ प्राप्त-Sutra News

प्रिमियरमा फिल्म ‘रङ्गेली’लाई तारिफ प्राप्त

बिहिबार, २४ फाल्गुन २०८०

बिहिबार, २४ फाल्गुन २०८०

काठमाडौं । फिल्म ‘रङ्गेली’को प्रिमियर शो सम्पन्न भएको छ ।



बुधवार बेलुकी काठमाडौंको कमलपोखरीस्थित बिग मुभिज मल्टिप्लेक्समा आयोजना भएको प्रिमियरमा फिल्मका कलाकार, फिल्मकर्मी र सञ्चारकर्मीकाबीच सम्पन्न भएको हो ।

यस फिल्मका प्रमुख दुई कलाकार दयाहाङ राई र मिरुना मगर प्रिमियरकैलागि रातारात रुकुमको तक्सेराबाट काठमाडौं आइपुगेका थिए । त्यहाँ फिल्म ‘घरज्वाईं’को छायाङ्कनमा रहेका कलाकार द्वयसँगै छायाकार सुशन प्रजापति पनि प्रिमियरको लागि रुकुमबाट आएका थिए ।

प्रिमियरमा फिल्म हेरेपछि दया र मिरुनाले यो फिल्म आफ्नो करियरको लागि कोशे ढुङ्गा साबित हुने बताउँदै आएका छन् ।

दयाले भने, “हामी मङ्गलवार राती ११ बजेतिर मात्र रुकुमबाट हिँडेका थियौँ । मिरुना २ दिनदेखि बिरामी थिइन् । बाटोमा विभिन्न समस्याहरू झेल्दै प्रिमियरकै लागि भनेर अनिदो अवस्थामा आइपुगेका छौँ । यो फिल्मबाट निकै आशा छ ।’ एउटै भूमिकामा देख्दै आएका दर्शकले आफूमा नयाँ चरित्र देख्ने बताउँदै दयाले आफूले सधैँ पात्रको इमोशन र दर्शकलाई ‘कनेक्ट’ गराउने प्रयास गर्ने गरेको बताए । “यसमा पनि मैले सोही कोसिस गरेको छु । मेरो चरित्रमा आफू पावरमा आउनको लागि गरिएका कामहरू र मानवताको प्रदर्शन छ”, उनले बताए ।

बिरामी र अनिद्रामा रहेकी मिरुनाले फिल्म हेर्न थालेपछि निद्रा सबै हराएको प्रतिक्रिया दिइन् । फिल्म हेरिसकेपछि मिरुनाले दयालाई फरक भूमिकामा हेर्दा गज्जब लागेको बताइन्, “उहाँले गहिरो रूपमा पात्रलाई केलाएर अभिनय गर्नुहुन्छ । उहाँले यसमा ग्रे जोनमा बस्ने पात्रको अभिनय गरेर एकदम राम्रो काम गर्नुभएको छ ।” उनले शालीन जुनकिरी (मिरुना)बाट शक्तिशाली जुनकिरी बन्दै जाने यो चलचित्रको स्क्रिप्ट पढ्ने बित्तिकै काम गर्न उत्साहित भएको स्मरण गरिन् ।

प्रिमियर पछि फिल्ममा दयाको ग्याङस्टर चरित्र र मिरुनाको अप्रत्याशित भूमिकाको प्रशंसा भएको छ । अर्जुन सुवेदीले पहिलो पटक लेखन तथा निर्देशन गरेको यो फिल्मबाट उनले नेपाली फिल्म गतिलो निर्देशक पाएको भन्दै प्रशंसा भएको छ ।  प्रिमियरमा फिल्मको क्लाइमेक्स र यसको अन्त्यमा सबैले वाह वाही गरेका थिए । अप्रत्याशित रूपमा अन्त्यमा आउने पात्र (आर्यन सिग्देल)को दमदार केमियोको व्यापक चर्चा भएको छ ।

फिल्मका निर्देशक सुवेदीले आफूले फिल्ममा भन्न खोजेको विषयलाई इमानदारीताका साथ ‘रङ्गेली’मा प्रस्तुत गरेको बताए । प्रिमियरमा हेर्नेहरूबाट प्राप्त प्रतिक्रियाबाट आम दर्शकको रोजाइमा यो फिल्म पर्छ भन्नेमा विश्वास रहेको उनले जनाए ।

सुवेदीकै लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ र मिरुनाको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।  सुशन प्रजापति छायाकार रहेको यस फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट