हिट जोडी ‘रङ्गेली’का बारेमा भन्छन् – हाम्रो चरित्रले सामाजिक विषयवस्तुलाई राम्रैसँग बोकेको छ-Sutra News

हिट जोडी ‘रङ्गेली’का बारेमा भन्छन् – हाम्रो चरित्रले सामाजिक विषयवस्तुलाई राम्रैसँग बोकेको छ

बुधबार, २३ फाल्गुन २०८०

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं । पछिल्लो समयका चर्चित तथा सफल फिल्म जोडी हुन् अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर । यो जोडीको लगातार तीन फिल्म हिट भए । अहिले पनि यो जोडीलाई लिएर फिल्म निर्माण गर्नेको ताँती छ  । यस्तैमा दयाहाङ र मिरुनालाई जोडीको रूपमा लिएर  यही फागुन २५ गते अर्थात् शुक्रबारबाट रिलिज हुने फिल्म ‘रङ्गेली’मा उनीहरु पुनः जोडीका रुपमा देखिदैछन् ।



दयाहाङ राई र मिरुना मगर ‘रङ्गेली’मा फरक-फरक भूमिकामा छन् । जोडी नै भएर काम गरेपनि यस फिल्ममा दयाले ‘विजय’ पात्र र समरुना ‘जुनकिरी’ चरित्रमा देखिदैछन् ।

‘विजय’ पात्रको भूमिकामा रहेका दयाहाङ रङ्गेलीका बारेमा भन्छन्, ‘मैले अहिलेसम्म गरिरहेको चरित्रहरु चाहिँ प्राय ग्रे चरित्र छन् । ती चरित्रमा नेगेटिभ र पोजेटिभ दुवै कला छ । ‘रङ्गेली’को चरित्रलाई पनि ग्रे चरित्र मान्न सकिन्छ, तर आम मानिसको आम सोचाईबाट हेर्दा यसमा डार्क क्यारेक्टर नै देखिन्छ । फिल्ममा विजयभित्र रहेका मानवता र अनुभूतिका कुरा छ ।’

आफ्नो चरित्रबारे दया भन्छन्, ‘रङ्गेली’मा दर्शकले विजय चरित्रको यात्रालाई बाल्यकालदेखि आजको दिनसम्म अर्थात फिल्मको कथा सकिन्जेलसम्म हेर्न पाउँछन् । ‘मेरो चरित्र हेरिरहँदा दर्शकले हाम्रो समाजमा देखिरहेका पात्रहरु अथवा यही जीवन बाँचिरहेका, जसले आफूलाई सहज गर्न सकेका छैनन् जस्तालाई चित्रण गर्नेछन् । जस्तो कि मेरो चरित्रलाई सामान्य भएर बाँच्न सहज छैन । किन छैन भन्ने फिल्म हेरेर थाहा पाउनुहुनेछ । ऊ आफूलाई नै कहीँ कतै खोजिरहेको छ । आफू स्थापित हुन अथवा सहज जीवन बाँच्न कोशिस गरिरहेको हुन्छ ।’

दयाको बुझाईमा ‘विजय’ चरित्र भित्र कहिँ न कहिँ बिसाउने ठाउँ पायो भने उसले सारा चिज बिसाउने इच्छा हुन्छ । ‘मेरो लागि यो चाखलाग्दो यात्रा थियो । किनभने विजयका लागि एउटा चुनौतिमा गएर उसको जीवनको यात्रा सकिएको छ ।’ उनी भन्छन् ।

दयाहाङका लागि ‘रङ्गेली’ को विजय चरित्र आफैंमा चाख लाग्दो चरित्र पनि रहेछ । ‘विजयले पाउने साथीहरुको साथ, आफूभन्दा अग्रजहरुले दिएको माया, प्रेमिकाले दिएको साथ चाख लाग्दो कुरा हो । तर त्यति हुँदाहुँदै पनि वरपरकाले उसका कमजोरीलाई हतियार बनाइरहेका हुन्छन् । जसले हतियार बनाउन खोज्छ, उसको लागि त्यो कसरी फर्केर आउँछ भन्ने कुरा चाहिँ मलाई अर्को सबैभन्दा चाखलाग्दो लाग्यो । कसैलाई पनि हिन भावले हेर्नु हुँदैन भन्ने सन्देश पनि चाखलाग्दो छ । त्यो चरित्र निभाइरहँदा पनि आफूलाई महशुस गरिरहेको थिएँ’, उनी भन्छन् ।

दयाहाङ विजयको चरित्र भित्र इमान्दरिता देख्छन् । ‘ऊ आफ्नो जीवनमा इमान्दार साथ भएर हिँड्ने प्रयास पनि गरिरहेको हुन्छ । जब पावर र पैसाको कुरा आउँछ अर्थात उसलाई पनि जीवनको अलिकति माथि पुग्न मन लाग्छ । किनकी त्यो मान्छेको स्वभाव नै हो । त्यो खोज्दा चाहिँ उसको आफ्नो जीवन कठिन बन्छ । त्यो बेला उसलाई वरपरकाले प्रयोग गरिरहेकै हुन्छन् । विजयको मनोविज्ञान भित्रको चापको यात्रा यसमा हेर्न पाइन्छ’, उनी भन्छन् ।

यता, ‘जुनकिरी’ चरित्र निभाएकी मिरुनाकालागि यो फिल्म करियरकै फरक रहेको छ । मिरुनाका अनुसार जुनकिरी चरित्रमा अभिनय गरिरहँदा समाजका धेरै पात्रहरुको प्रतिनिधित्व गरेको अनुभव भएको बताउछिन् ।

मिरुना भन्छिन्, ‘जुनकिरी एकदमै स्वतन्त्र र आफ्नो बाटोमा हिडिँरहेकी पात्र हो । फिल्मका विशेषत खलपात्रहरु जो ‘ब्ल्याक एण्ड ह्वाइट’ नभईकन ‘ग्रे’ जोनका पात्रहरु छन्, उनीहरुको यात्रामा उसले आफैलाई एकदमै कठोर तरिकाले कसरी डिल गर्दै लैजान्छिन् भन्ने फिल्ममा हेर्न पाइन्छ ।’

मिरुनाले आफूले स्क्रिप्ट पढ्दा देखि नै जुनकिरीको चरित्र विकास गरेको खुलाइन् । ‘मैले आफैंले त्यसलाई चित्रण गर्दास माजमै भएको पात्रहरुलाई हेरेर उनीहरुको यात्रा, भावनालाई मैले नभोगेता पनि उनीहरुको भोगाईलाई वास्तविक हिसाबले हेरेर त्यसलाई फिल्ममा चित्रण गर्ने प्रयास गरेकी छु’, उनले भनिन् ।

जुनकिरी आफ्नो जीवनमा फिल्मका प्रमुख पात्रहरु विजय, भगवान दादा, माने र यादव आफ्नो जीवनमा जोडिने चरित्र भएको मिरुना खुलाउँछिन् । त्यसकारण पनि पिल्ममा जुनकिरीको सम्बन्ध अन्य चरित्रसँग ‘चाखलाग्दो’ मान्छिन् ।
‘उहाँहरु सबैसँगको जुनकिरीको यात्रा चाहिँ एकदमै जटिल छ । उनीहरुको यात्रासँग जोडिँदा दर्शकमा अब के हुन्छ, कता कता जान्छ, कसरी यस्तो हुन्छ भन्ने कौतुहलता सिर्जना गर्छ’, मिरुना भन्छिन् ।

मिरुनाको अनुभवमा फिल्मका सबै दृश्य खिचिरहँदा उनलाई चुनौति उत्तिकै भइरहेको थियो । फिल्ममा देखिने आफ्ना भावुक दृश्यअघि अन्य पात्रको भावना बुझ्न आफूलाई निकै गाह्रो भएको उनको कथन छ । ‘पात्रसँगको सम्बन्ध र त्यो पात्रसँग कथाभित्र के पाउन खोजिएको छ, त्यो कुरा बुझ्न र कथाका विकास गर्न केही समय लाग्यो । जुनकिरी चरित्र निर्वाह गर्दा आफ्ना भावनाहरु आफूभित्र नभोगेका कुराहरु नहुन पनि सक्थ्यो, त्यो भावना बाहिर निकाल्न मलाई अलिक गाह्रो भयो’ उनी भन्छिन्, ‘मैले वास्तविक जीवनमा त्यो अवस्था भोगेको छैन । तर मेरो चरित्रले भोगेको छ । मैले नदेखेको कुरा ल्याउनुपर्दा चाहिँ त्यसलाई साइन्ड गर्न र आफूलाई प्रस्तुत गाह्रो भयो ।’

मिरुनाको बुझाईमा फिल्म निर्वाह गरेको ‘जुनकिरी’ चरित्रको यात्राबाट दर्शकले धेरै कुरा लैजान सक्छन् । ‘जुनकिरी चरित्रको आयाम यति धेरै छ कि दर्शकले फिल्म हेरिरहँदा जुनकिरी भित्रका कुराहरु कतिपयले ‘रिलेट’ गर्न पनि सक्नुहुन्छ अथवा कतिपयले नगर्नुहोला,’ मिरुना भन्छिन् ।

मिरुनाको अनुभवमा ‘जुनकिरी’ एउटा विश्वभित्र एक्लै लडिरहेकी हुन्छिन् । उसले आफ्नो जीवनमात्र अगाडि बढाइरहँदा त्यसभित्र आउने टर्न र ट्वीस्टले जुनकिरीमाथि चुनौति थप्ने मिरुनाको दाबी छ । ‘त्यो चुनौतिलाई डिल गर्दै जुनकिरी एकदमै दह्रो भएर अगाडि आउँछिन् । त्यो कुरा दर्शकले फिल्म हेर्दा थाहा पाउनुहुनेछ’, मिरुना भन्छिन् ।

मिरुनाले फिल्मका स्क्रिप्ट पढिरहँदा उनले फिल्ममा एउटा मात्र महिला चरित्र छ भन्ने थाहा पाएकी रहिछन् । ‘त्यो महिलामा धेरै जिम्मेवारी छ, उसले फिल्मका प्रत्येक चरित्रसँग डिल गर्छे । चलचित्रको मलाई राम्रो लागेको पक्ष यही हो’, उनले भनिन्,‘फ्लोरमा जानु अघिको वर्कसपमा हामीले यो विषयमा धेरै छलफल गर्यौ । मैले निर्देशक र अन्य कलाकारहरुलाई धेरै प्रश्न सोधें । अरु चरित्रसँग सल्लाह लिने मौका पाएँ ।’

उनले मानव जीवनमा र चरित्र निर्वाह गर्दा भोगेको समानान्तर अनुभव, अवस्था या देखिरहेको अवस्थालाई खोतलेर त्यहाँबाट प्राप्त भावनालाई आफ्नो चरित्रमा देखाउने प्रयास गरेको खुलाइन् । ‘अन्य चरित्रको जस्तै जुनकिरीलाई पनि पावर चाहिन्छ । उसले पनि धोका पाउँछे । दैनिक जीवनमा पनि मान्छेसँग पावर भयो भने आफूले गर्न चाहेको कुरा गर्न पाउँछन् । यो फिल्मकी जुनकिरी चरित्रको कुरा पनि त्यही हो । यो दृष्टिकोणबाट हेर्दा जुनकिरीलाई पनि मैले नै उसको यात्रामा त्यसरी गाइड गर्न खोजेको बुझेको छु,’ मिरुना प्रष्ट्याउँछिन् ।

‘रङ्गेली’मा ‘जुनकिरी’ चरित्र निभाइरहँदा समाजमा राम्रो र नराम्रो नभई ग्रे जोनमा बसिरहेको मान्छेहरुको जीवनमा कसरी ट्वीस्ट आउँछ भन्ने कुरा आफूले ‘विजय’ र ‘भगवान दादा’को यात्राबाट देखेको बताइन् । ‘उहाँहरु कसरी त्यहाँसम्म आइपुग्नुभयो । त्यो विन्दुसम्म समाजले उहाँहरुको आफ्नो अनुभवले कसरी गाइड गर्दै गयो भन्ने कुरा नै बुझ्ने प्रयास गरें जस्तो लाग्छ । खलपात्र भनेको जसरी हामीले चित्रण गरिन्छ, जसरी समाजमा बुझिन्छ, त्यो भन्दा पनि किन भयो त, कसरी त्यहाँसम्म आइपुग्नु भयो र उहाँहरुले के हिसाबमा खलपात्र मानिनुभयो भन्ने कुरा नै सुरुमा नै मैले बुझ्ने प्रयास गरेकी हुँ,’ मिरुना भन्छिन् ।

मिरुनाको बुझाईमा ‘जुनकिरी’ पनि एक हिसाबले खलपात्र नै हो । ‘उसको उद्देश्य प्राप्त गर्न जसरी सबैजना पछाडि दौडिरहेका छन्, त्यो एउटा खलपात्र शैली नै हो’, उनी भन्छिन् ।

मिरुनाका अनुसार यो फिल्मको छायाङ्कन गर्दा सामना गरेको प्रमुख चुनौति मौसम थियो । कहिले ४३ डिग्रीको गर्मी त कहिले चिसो मौसममा काम गरेर फिल्मको सुटिङ सक्नु परेको थियो । ‘हाम्रो समय तालिकाले गर्दा पनि सबै जनाको समय मिलाउन एकदमै गाह्रो भएको थियो । तर ती सबै चुनौती हाम्रा लागि रमाइलै रहे’, उनको भनाई छ ।

फिल्ममा ‘जुनकिरी’को दह्रो उपस्थिति नै फिल्मको अर्को उल्लेख्य पक्ष रहेको मिरुनाको बुझाई छ । ‘जसरी हाम्रो समाजमा यस्तो हुनुपर्छ, यसरी गर्नुपर्छ भनेर कुराहरु आउँछ, त्यो सामाजिक विषयवस्तुलाई चरित्रले राम्रैसँग बोकेको छ । त्यो हुँदाहुँदै पनि मैले समाजसँग भन्दा पनि आफूले विश्वास गर्ने कुराहरु, मेरो मूल्य र मान्यतालाई धेरै फाइट गर्नु परेको थियो । मैले विश्वास गर्ने कुरा र जुनकिरीको जीवनमा हुने कुरा धेरै फरक छन् । त्यो विशाल बाटोमा एकदमै गहिरो तहमा नहुन सक्छ । जुनकिरीको यति धेरै छ कि ती सबै खोल्न पनि मिल्दैन । तर फिल्म हेर्दा समाजमा हुने घटनाको र समाजमा हुने पात्रहरुको एउटा राम्रो उपस्थिति देखिन्छ ।’

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट