कांग्रेस सक्रिय हुँदा बालुवाटार तरंगित, समीकरण बदल्न कति सहज ?-Sutra News

कांग्रेस सक्रिय हुँदा बालुवाटार तरंगित, समीकरण बदल्न कति सहज ?

बुधबार, २३ फाल्गुन २०८०

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं । अप्रत्यासित सत्ता समीकरण फेरबदलबाट रुष्ट बनेको नेपाली कांग्रेस जसरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बदला लिने रणनीतिमा देखिएको छ । कांग्रेसले एमाले–माओवादी समीकरणलाई जसरी पनि भत्काउने खेलमा आफूलाई सक्रिय बनाएको छ ।



सत्ता समीकरण परिवर्तनसँगै मंलगबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले वैकल्पिक गठबन्धन निर्माणमा जुट्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा कांग्रेसले एकातिर सत्ता समीकरण भत्काउने र अर्कोतिर नयाँ समीकरण बनाउने खेलमा आफूलाई होमेको छ ।

प्रधानमन्त्रीको प्रचण्डको पक्षमा बहुमत पुग्न नदिनका लागि कांग्रेसले सत्ता समीकरणमा आबद्ध भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मात्रै होइन समीकरणमा आबद्ध हुने तयारीमा जुटेको नेकपा (एकीकृत समाजवादी)लाई समेत सरकार नेतृत्वको अफर गरेको छ । मंगलबार रास्वपा सभापति रवि लामिछानेलाई अफर गरेको कांग्रेसले बुधबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अफर गरेको हो ।

बुधबार अध्यक्ष नेपाललाई भेट्न स्वयम् पार्टी सभापति शेरबहादुर देउवा उनकै निवास कोटेश्वर पुगेका थिए । अध्यक्ष नेपालसँगको भेटवार्तापछि देउवा उत्साहित देखिएका छन् ।

अध्यक्ष नेपालसँगको भेटवार्तापछि सञ्चार माध्यमसँग कुराकानी गर्दै कांग्रेस नेता रमेश लेखकले छलफल निकै सकारात्मक भएको प्रतिक्रिया दिए । अध्यक्ष नेपालले बैठक बसालेर निर्णय सुनाउने आश्वासन कांग्रेसलाई दिएका छन् ।

“परिवर्तित राजनीतिक घटनाक्रमबारे छलफल भएको छ, निकै सकारात्मक छलफल भएको छ”, लेखकले भनेका छन्, “उहाँ ९अध्यक्ष माधवकुमार नेपाल० सकारात्मक देखिनुभएको छ, पार्टी बैठक बसालेर निर्णय लिन्छु भन्नुभएको छ ।”

आफूलाई कुनै जानकारी नदिई गठबन्धन परिवर्तन गरेको भन्दै प्रधानमन्त्री प्रचण्डसँग एकीकृत समाजवादी सन्तुष्ट छैन । मंगलबार बसेको सचिवालय बैठकमा एकीकृत समाजवादीले कुनै निर्णय लिएको थिएन । मंगलबार नै प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतले बेग्ला–बेग्लै र सामूहिक भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा पनि अध्यक्ष नेपालले सचिवालय बैठक बसालेर निर्णय लिने बताएका थिए ।

अहिले कांग्रेस रास्वपा, एकीकृत समाजवादी र जसपालाई रोक्ने प्रयासमा लागेको छ । तीन दललाई रोक्न सकिएमा आफ्नो पक्षमा बहुमत जुटाउन सकिने बुझाई कांग्रेसको छ ।

सहज छैन गणित

अहिलेसम्मको परिदृश्यमा एमाले–माओवादी गठबन्धनको पक्षमा स्पष्ट गणित पुगिसकेको छैन । एमालेसँग ७६ सांसद छन् भने माओवादी केन्द्रसँग ३२, रास्वपासँग २१ (उपसभामुखसहित) र जनता समाजवादीसँग १२ सांसद छन् । चार दलको सांसद संख्या जोड्दा सहज बहुमत १४१ मत पुग्छ ।

दलहरुले १० सिट भएको एकीकृत समाजवादी, ६ सिट भएको जनमत पार्टी, ४ सिट भएको लोकतानित्रक समाजवादी पार्टी, ४ सिट भएको नागरिक उन्मुक्ति पार्टीलाई पनि समेट्ने तयारी गरेका छन् । यदि यी चार पार्टी पनि सहभागि भएमा गठबन्धनको पक्षमा १६५ मत पुग्छ ।

तर, यहीबीच सरकारमा सहभागि हुने वा नहुने भन्ने कोणबाट १२ सिटको जसपाभित्र विवाद चर्किएको छ । चार दलबीचको सहमति पत्रमा हस्ताक्षर गरेपनि जसपा आन्तरिक विवादमा घेरिएको छ । जसपाले सहयोग नगरेको खण्डमा चार दलबीचको समीकरणले बहुमत पुग्दैन ।

यस्तोमा एकीकृत समाजवादी र अन्य साना दल पनि अहिलेको गठबन्धनको विपक्षमा उभिएमा सरकारले बहुमत जुटाउन सक्दैन ।

कांग्रेसले ८७ सांसद (एक निलम्बितसहित) भएको कांग्रेसले १४ सांसद भएको राप्रपा, १२ सांसद भएको जसपाले १० सांसद भएको एकीकृत समाजवादीलाई समेट्न सकेमा १२३ सिट पुग्छ जसमा थप १४ सिट पु¥याएमा बहुमत जुट्छ । जसमा लोसपा, जनमत र उन्मुक्ति पार्टी सहयोगी हुन सक्छन् ।

दलहरुभित्र आन्तरिक विवाद बढिरहेको सन्दर्भमा जटिल देखिएको गणितले सत्ता जसको पक्षमा पनि पु¥याउन सक्ने देखिन्छ । यद्यपि, अहिलेको गठबन्धनका लागि केही सहजता भएको देखिन्छ ।

बाह्य शक्तिको प्रभाव उत्तिकै

नेपालको राजनीतिमा भूराजनीतिक प्रभाव देखिनै गरी नै हुने गरेको छ । अहिलेको सत्ता राजनीतिमा पनि बाह्य प्रभाव सतहमै देखिन्छ । विशेषगरी लुम्बिनीमा दलाई लामालाई स्वागत गर्ने तयारीका बीच सत्ता समीकरणभित्र फेरबदल आएको कुरा लुकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले पार्टी पदाधिकारी बैठकमा भारतीय भूमिकाको विषयमा बोलेको कुरा बाहिर आएका छन् । जसलाई हेर्दा, खेल कुन तहसम्म हुँदैछ स्पष्ट हुन्छ ।

पछिल्लो सत्ता समीकरण फेरबदलप्रति भारतसहित पश्चिमा मुलुक असन्तुष्ट रहेको विश्लेषण गरिएको छ भने चीनले स्वागत गरेको छ । भारतीय सञ्चार माध्यमले जे–जसरी यनिकपूर्वक लेखेका छन् (नेपालमा चीनले गरायो सत्ता परिवर्तन) जसले पनि भारतीय शासकको मनोविज्ञानलाई बुझाउँछ ।

फेरिएको सत्ता समीकरण पुनः फेर्ने कांग्रेसको कसरतमा पनि बाह्य भूमिका जोडिन सक्ने धेरैको अनुमान छ । कुनै पनि दलको पक्षमा बहुमत नपुगिरहेको परिस्थितिमा दलहरुलाई मिलाउन यसअघि पनि बाह्य भूमिकाले काम गरेको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट