दर्शकले ‘प्रेमगन्ज’को अधुरो प्रेम ‘उपहार’मा पूर्ण भएको हेर्न पाउँछन्- तेज गिरी-Sutra News

दर्शकले ‘प्रेमगन्ज’को अधुरो प्रेम ‘उपहार’मा पूर्ण भएको हेर्न पाउँछन्- तेज गिरी

बुधबार, २३ फाल्गुन २०८०

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं । यही शुक्रबारबाट रिलिजमा आउनलगेको फिल्म ‘उपहार’ मार्फत ‘प्रेमगन्ज’का प्रेमजोडी अभिनेता तेज गिरी र अभिनेत्री बेनिशा हमाल विवाहित जोडीका रुपमा देखिँदैछन् ।



फिल्म ‘प्रेमगन्ज’मा उनीहरुको अधुरो प्रेम थियो भने ‘उपहार’मा उनीहरुको पूर्ण प्रेम दर्शकहरुले हेर्न पाउनेछन् ।

अभिनेता तेज भन्छन्, ‘फिल्म प्रेमगन्जकै कारण म उपहारमा जोडिएँ । निर्देशक ज्ञानेन्द्र देउजाले ‘प्रेमगन्ज’को प्रिमियर पछि सँगै काम गर्नुपर्छ भन्नु भएको थियो । उपहारकालागि दुई नायकको फाइनल भईसकेपछि म जोडिएँ । प्रेमगन्जमा बेनिशाजी र मेरो क्यामेष्ट्री सुहाएको देखेपछि ज्ञानेन्द्र दाईले मेरो जोडी बेनिशालाई राख्नुभएको रहेछ ।’

‘उपहार’मा उनी र वेनिशा विवाहित जोडी भए पनि दर्शकले त्यो जोडीभित्रको द्वन्द्वलाई हेर्न पाउनेछन् । ‘माया गर्ने जोडीले एकअर्काका अपेक्षाहरु सत प्रतिशत खोज्दा र एकअर्कामा देखिएका कमजोरीका कारण सम्बन्धमा आएको दरार यो फिल्ममा छ । त्यो विछोड र दरार पीडादायी नै छ’, तेज बताउछन् ।

उनी भन्छन्, ‘निर्देशक ज्ञानेन्द्र देउजसँगको सहकार्य तेजका लागि स्मरणीय रहेछ । सबै निर्देशकमा भिन्न भिन्न विशेषता हुन्छन् । ज्ञानेन्द्र दाईसँग लामो अनुभव थियो, उहाँसँग छुट्टै विशेषता थियो । उहाँसँग अध्ययन र अनुभवको विशेषता थियो, जसमा एउटा नयाँपन थियो ।’

तेजको अनुभवमा निर्देशक ज्ञानेन्द्रले ‘अडियन्स प्वाइट अफ भ्यू’बाट फिल्म बनाएका छन् । ‘दर्शकले चाहे अनुसारको फिल्म बनाउनुभएको छ । दर्शकले अवश्य फिल्म स्वीकार्नुहुन्छ’, तेज भन्छन् ।

‘पुराना निर्देशकसँग काम गर्नु भनेको सय किताब पढ्नुभन्दा एउटा विद्वानको एक घण्टाको प्रवचनले धेरै कुरा सिकिन्छ’ भन्ने तेज बुझाई छ । ‘पुरानासँगको अनुभव, कार्यशैली र काम गर्दा यी कुरा सिक्न पाएँ । मैले आफ्नोे चरित्र जति निभाएको छु, त्यो मेरो सुधारिएको अभिनय पनि हो । निर्देशक र टिमको सहकार्यले नै यो सम्भव भएको छ’, उनी बताउछन् ।

तेजले अनुभव र पुरानो ठूलो व्यानरमा काम गर्दा मानसिक रुपमा आफूलाई कता कता असहज भएको अनुभव सुनाए । ‘म भित्र रहेको चिज देखाउन सक्दिनँ कि निकाल्न सक्दिनँ कि भन्ने फिल हुँदो रहेछ । पुरानो टिमसँग काम गर्दा मैले दिएको चिजले उहाँहरुलाई सन्तुष्ट बनाउन सक्दिनँ कि अथवा मबाट चिज पनि निस्कँदैन कि भन्ने हुँदो रहेछ । तर उहाँहरुले काम गर्ने वातावरण बनाइदिएपछि सहज भयो’, तेजले भने ।

‘उपहार’मा आफ्नो चरित्रलाई तेज चुनौतिपूर्ण मान्छन् । ‘एउटा दृश्य अलिक भारी किसिमको छ, जहाँ बेनिशाजी र मेरो मायासहितको झगडा छ । त्यो नचाहँदा नचाहँदै सिर्जना भएको झगडा थियो’, उनी भन्छन् ।

तेज ‘उपहार’को कथालाई समाजमा भएको मौलिक घटनाको रुपमा बुझ्छन् । ‘फिल्म हेर्दा जोकोहीले त्यो चरित्रभित्र आफूलाई अनुभव गर्न सक्छन् । यसमा महिला सशक्तिकरण, वर्ग संघर्षका कुरा छन्, जुन हाम्रो समाजमा जल्दोबल्दो रुपमा उठेका कुराहरु हुन्’, तेज भन्छन् ।

मायाको अभाव र प्रभावमा समाज वास्तवमा गलत बाटो तिर जाँदैछ भन्ने कुरालाई पनि फिल्मले देखाउने उनको बुझाई छ । ‘अविवाहित जोडीहरु मायाको प्रभावमा र विवाहित जोडीहरु मायाको अभावमा महशुस गरिरहँदा आएको सम्बन्धको दरार फिल्ममा छ । श्रीमान श्रीमतिले सम्बन्धलाई प्रगाढ बनाउन के के कुराको कम्प्रमाइज नगरी सम्बन्ध अगाडि बढ्दैन र के के कम्प्रमाइज नगर्दा कस्ता घटना निस्कन्छ भन्ने कथा यसमा छ’, उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट