मन्त्री क्वाटर छाड्दै गर्दा सुदनले भने– पस्दा धेरै डर लागेको थियो, निस्कँदा खुसी छु-Sutra News

मन्त्री क्वाटर छाड्दै गर्दा सुदनले भने– पस्दा धेरै डर लागेको थियो, निस्कँदा खुसी छु

मंगलबार, २२ फाल्गुन २०८०

मंगलबार, २२ फाल्गुन २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समिकरण परिवर्तन गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै पदमुक्त भएका निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्री क्वाटर छाडेका छन् । मन्त्री पदबाट मुक्त भएको भोलिपल्ट मंगलबार किराँतीले क्वाटर छाडेका हुन् ।



क्वाटर छाड्दै गर्दा किराँतीले आफूलाई निकै खुसी लागेको बताएका छन् । मन्त्री हुँदै गर्दा निकै डर मानेको भन्दै उनले निस्कदा सफल भएको अनुभूतिसहित खुसी भएको बताए ।

“आज सरकारले दिएको निवास छोडेर जाँदैछु, पस्दा मलाई धेरै डर लागेको थियो तर निस्कदा खुसी छु”, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “मेरो आमाले भन्नू हुन्थ्यो ‘जिम्मेवारी पाउनु गाह्रो कुरा हो त्यो भन्दा गाह्रो त पूरा गर्नु हो’, ४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरे। यो अवसर प्रदान गर्नु हुने प्रधानमन्त्री ‘प्रचण्ड’, मेरो पार्टी, मलाई मत दिनुहुने मतदातहरु र संसारका कुना–कुना बाट मलाई सहयोग र सहानुभूति दिनुहुने सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दछु । म र मेरो टिमले सकेको कोशिस गरेकाछौँ । हामीले रोपेको बिरुवामा धेरै कोपिला लागेको छ, आउने मालीले फक्राउनु हुनेछ भन्ने विश्वास लिएकोछु ।”

किराँतीले आफू बेदाग भएर मन्त्रीबाट बाहिरिएको पनि दाबी पनि गरेका छन् । “मैले यहाँ बस्दा मेरो वुवाको एक प्राण लिने मृत्यु मात्र देखिन मेरो राजनीतिक जीवनको हजार मृत्युहरु पटक पटक देखे र राजनितिक मृत्युलाई मैले छल्न सके तर प्राणलिने मृत्युलाई वुवाले छल्नु सक्नु भएन ।

सत्य यो रहेछ कि भौतिक मृत्यु माथी अठोट र ईमानले जित्न नसकिदो रहेछ तर राजनीतिक मृत्युलाई अठोट र ईमानले जित्न सकिदो रहेछ”, उनले भनेका छन् ।

यद्यपि, पछिल्लो समय उनी निकै विवादमा तानिएका थिए । एमालेलगायतका दलहरुले उनको निःशर्त राजीनामा माग्दै सदनमा अवरोध गरिरहेको थियो । उनी आबद्ध स्वयम् माओवादी केन्द्र पनि उनको काम गराईप्रति सन्तुष्ट थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट