फिल्मबाट रङ्गेलीलाई चिनाएको भन्दै मेयर बने खुसी, दिए शुभकामना-Sutra News

फिल्मबाट रङ्गेलीलाई चिनाएको भन्दै मेयर बने खुसी, दिए शुभकामना

मंगलबार, २२ फाल्गुन २०८०

मंगलबार, २२ फाल्गुन २०८०

काठमाडौं । शुक्रबार रिलिज हुने नेपाली फिल्म ‘रङ्गेली’लाई मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप कुमार अग्रवाल (बगडिया)ले सफलताको शुभकामना दिएका छन् ।



सामाजिक सञ्जालमा भिडि‌ओ पोस्ट गर्दै उनले आफूले नेतृत्व गरिरहेको नगरपालिका रङ्गेलीको नामबाट चलचित्र बनेकोमा खुसी व्यक्त गरेका हुन् । भिडिओमा शुभकामना दिँदै उनले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण तथा प्रचुर सम्भावना रहेको नेपाली फिल्म ‘रङ्गेली’को भव्य सफलताको कामना गरेका छन् ।

साथै फिल्ममार्फत रङ्गेलीलाई चिनाउने काम गरेकोमा निर्माण टिमलाई धन्यवाद व्यक्त गरे । केही दिन पहिले सोही नगरपालिकाको सहमति पत्र चाहिने भन्दै सेन्सर बोर्डले प्रमाणपत्र नदिएको खबर सार्वजनिक भएपछि विरोध भएको थियो ।

यद्यपि, बोर्डले आइतबार यो फिल्मलाई पिजी प्रमाणपत्र प्रदान गरेको छ । प्रमाणपत्र बुझेपछि यसका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले नामको विषयलाई लिएर पछि समस्या हुन सक्ने भन्दै नगरपालिकाको सहमति ल्याउन भनेको तर पत्र पेस नगरी बोर्डले प्रमाणपत्र दिएको बताए ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट