प्रचण्डले बाटो फेर्दा माधव नेपालमाथि बज्रपात !-Sutra News

प्रचण्डले बाटो फेर्दा माधव नेपालमाथि बज्रपात !

सोमबार, २१ फाल्गुन २०८०

सोमबार, २१ फाल्गुन २०८०

काठमाडौं । माओवादी केन्द्रले एकाएक सत्ता गठबन्धन परिवर्तन गरेसँगै समग्र राजनीतिक कोर्षमा पनि ठूलो परिवर्तन आएको छ । क्रमशः हुने ठानिएका राजनीतिक घटनाक्रम अब सम्भावना बाहिर पुगेका छन् । यही घटनाक्रमका बीच एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको पनि प्रधानमन्त्री बन्ने सपना तुहिएको छ ।



कांग्रेस–माओवादी नेतृत्वको गठबन्धनभित्र भएको सहमतिअनुसार आगामी एक वर्षपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने पालोमा थिए । नेताहरुले बताएअनुसार दलहरुबीच पहिलो दुई वर्ष माओवादी केन्द्र, त्यसपछि एक वर्ष एकीकृत समाजवादी र चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने सहमति बनेको थियो ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पाँचै वर्ष’ आफ्नै नेतृत्वमा सरकार चल्ने बताउन थालेपछि नेपाली कांग्रेसका केही नेताहरुले सार्वजनिकरुपमा एक वर्षपछि प्रधानमन्त्री बन्ने पालो माधव नेपालको भनि बताउन थालेका थिए । नेताहरुले “सहमतिभन्दा बाहिरबाट कोर्ष अगाडि बढाउन नहुने” बताएका थिए ।

नेताहरुको अभिव्यक्तिपछि माधव नेपाल पनि प्रधानमन्त्री बन्नेमा ढुक्क देखिन्थे । तर, अप्रत्यासितरुपमा घटनाक्रम बदलिएसँगै प्रधानमन्त्री बन्ने माधव नेपालको सपना तुहिएको छ ।

माओवादी केन्द्रले कोर्ष परिवर्तन गर्दै २०७९ पुस १० को अवस्थामा समीकरण फर्काउँदा कांग्रेस–माओवादी नेतृत्वको गठबन्धनभित्र भएका सबै सहमति भंग भएका छन् । एमाले–माओवादी गठबन्धन ब्यूँतिएसँगै गठबन्धनभित्र नयाँ शिराबाट सहमति खोजिएको छ ।

दलहरुबीच तत्कालका लागि मन्त्रिपरिषद्मा भागवण्डादेखि राष्ट्रियसभा अध्यक्ष र प्रदेश तहका सरकारका विषयमा नयाँ शिराबाट सहमति गर्ने तयारी गरिएको छ । प्रारम्भिक छलफलअनुसार दलहरुबीच केही मन्त्रालयगत विषयमा सहमति बनेको छ ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार पहिलो कार्यकाल माओवादी केन्द्रले नै लिनेगरी बाँकी कति–कति समय कसले लिने भन्नेमा सहमति खोज्ने तयारी छ । “हाल प्रचण्डजीकै नेतृत्वमा सरकारमा जाने समझदारी बनेको छ”, दलहरुबीचको छलफलबारे पोखरेलले भनेका छन्, “दुई पार्टीले कति–कति समय सरकारको नेतृत्व गर्नेबारे भने निर्णयमा पुगिएको छैन, गृहकार्य जारी छ ।”

एमाले र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आधा/आधा समय लिनेगरी भागवण्डा हुनसक्ने अनुमान छ । नेताहरुका अभिव्यक्ति पनि सोही कोणबाट आएका देखिन्छन् ।

यस्तोमा एकीकृत समाजवादीले सरकारको नेतृत्व लिन पाउने सम्भावना कहिँ कतै छैन । एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सार्वजनिकरुपमा माधव नेपाल प्रधानमन्त्री बन्ने विषयलाई अस्वीकार गरिसकेका छन् । केही दिन अगाडि मात्रै एक सार्वजनिक कार्यक्रममा ओलीले ‘राष्ट्रिय दलको हैसियत नभएकाले मुलुकको नेतृत्व लिन नहुने’ अभिव्यक्ति दिएका थिए ।

यद्यपि, सरकारको नेतृत्व नदिएपनि एकीकृत समाजवादीलाई सरकारमा समेट्ने पक्षमा माओवादी केन्द्र देखिन्छ । जसका निम्ति माओवादी केन्द्रले एमालेसँग संवाद बढाएको छ । अंकगणित पुर्‍याउनकै निम्ति पनि एकीकृत समाजवादीलाई सरकारमा लैजान सक्ने सम्भावना छ ।

माओवादी केन्द्रले सचिवालय बैठकबाटै एकीकृत समाजवादीलाई समेट्नुपर्ने निर्णय लिएको छ । सचिव देवेन्द्र पौडेलका अनुसार वामधारका सबै पार्टीलाई समेटेर जानुपर्ने निर्णय माओवादी केन्द्रको छ ।

“सबै वामपन्थी पार्टीलाई सँगै लिएर जाने भन्ने हाम्रो लाइन हो, समाजवादी मोर्चामा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीदेखि संसदमा नभएको विप्लव नेतृत्वको नेकपा पनि छ, हामीले बैठक बसेर सबैलाई समेटेर जानुपर्छ भनेर निर्णय लिएका छौं”, पौडेलले भनेका छन् ।

यस्तोमा एकीकृत समाजवादी पनि मिलेसम्म सरकारमा जाने योजनामा देखिन्छ । एकीकृत समाजवादीले गठबन्धन नेतृत्वबाट अफर आएमा निर्णय लिने बताएको छ ।

“यो नयाँ गठबन्धनका नीति र कार्यक्रम के हुन्छन् ? यसको प्रक्रिया र चरित्र के हो ? त्यो थाहा पाएको छैन”, सोमबार बसेको पार्टी सचिवालय बैठकपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भनेका छन्, “त्यसबारेमा उहाँहरूले कुराकानी गर्नु भयो भने हामीले फाइनल दृष्टिकोण बनाउन मिल्छ ।”

एमाले–माओवादी गठबन्धन ब्यूँतिदा भूमिका बिहीन बन्ने डरका कारण एकीकृत समाजवादी गठबन्धनमा आबद्ध हुनेमा अन्योल छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट