माओवादीभित्रको शक्ति संघर्षमा सत्ता : जनार्दन कतारमा हुँदा वर्षमानले उल्टाए ‘पुस १०’-Sutra News

माओवादीभित्रको शक्ति संघर्षमा सत्ता : जनार्दन कतारमा हुँदा वर्षमानले उल्टाए ‘पुस १०’

सोमबार, २१ फाल्गुन २०८०

सोमबार, २१ फाल्गुन २०८०

काठमाडौं । नेकपा (माओवादी)भित्र प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पछि सबैभन्दा धेरै सांगठनिक मत होल्ड गर्ने नेताहरूमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा अगाडि आउँछन् । पार्टीभित्रको आन्तरिक राजनीतिमा खास प्रतिष्पर्धी मानिने पुन र शर्माको सत्ता गठबन्धन भत्काउने र जोगाउने आ–आफ्नै विरासत छ ।



अघिल्लो वर्षको पुस १० गते नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार नगर्दा उनै वर्षमानको पहलमा एमाले–माओवादी गठबन्धनको सरकार बनेको भएपनि फेरि अर्का उपमहासचिव जनार्दनको सक्रियतापछि दुई महिना पनि बित्न नपाउँदै प्रधानमन्त्री प्रचण्डले एमालेको साथ छोडेर कांग्रेससँग पुनः सहकार्य थालेको माओवादीकै नेताहरूले बताउने गरेका छन् ।

अहिले नेकपा (एमाले)सँगको गठबन्धन टुटेको ठिक एक वर्ष बित्नेबित्तिकै फेरि एमाले–माओवादी सत्ता सहकार्यमा फर्किएका छन् । यसपटक पनि एमाले–माओवादी सत्ता सहकार्यको सूत्रधार भने उनै वर्षमान बनेका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेलसँग विश्वासिलो सम्बन्ध बनाएका वर्षमानले एमाले अध्यक्ष केपी शर्मा ओली समेतलाई विश्वासमा लिँदै सत्ता समीकरण बदलेर आफ्नो दक्षता एकपटक पुनः प्रमाणित गरेर देखाएका छन् । नयाँ गठबन्धनको निर्माणसँगै गठबन्धनभित्र सिट तथा मन्त्रालय बाँंडफाँटलगायत आन्तरिक व्यवस्थापन मिलाउन चार सदस्यीय कार्यदलमा पनि वर्षमान समेटिनुले उनको यो गठबन्धन निर्माणमा कति भूमिका छ भन्ने प्रष्ट हुन्छ ।

उक्त कार्यदलमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल रहँदा रास्वपाबाट रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफैं छन् । जसले नयाँ गठबन्धको शक्ति समीकरण मिलाउने दायित्व पाएको छ । अहिले वर्षमान आफैं उपप्रधानसहित अर्थमन्त्री बन्ने दौडमा छन् ।

प्रधानमन्त्री प्रचण्डपछि पार्टीभित्रको मुख्य नेता बन्ने दौडमा पनि जनार्दन र वर्षमान नै खास प्रतिष्पर्धी हुन । केही अगाडि प्रचण्डविरुद्धको लडाइँमा मिलेर जाने सहमति गरेका जनार्दन र वर्षमान विधान सम्मेलनदेखि मिलेर जाने उद्घोष गरेपनि पछिल्लो स्थायी कमिटी बैठक नसकिँदै आ–आफ्नै बाटोमा लागेका छन् ।

प्रचण्डको कार्यविभाजनप्रति लिखित असहमति राखेका जनार्दनलाई वर्षमानले यो पटक पनि साथ दिएनन् । जनार्दन प्रचण्डसँग टाढिदै जाँदा वर्षमान भने निकट बन्दै जाँदा जनार्दनकै सक्रियतामा बनेको गठबन्धनमा नै उलटफेर ल्याइदिएका छन् ।

अझ रोचक विषय, नेपालमा सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्दा जनार्दन शर्मा भने यतिबेला माओवादी केन्द्रको प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिनको लागि कतारमा छन् । मंगलबार वा बुधबारसम्म मात्रै जनार्दन नेपाल आइपुग्ने कार्यक्रम छ ।

कांग्रेस र माओवादीको पुरानो गठबन्धनमा अर्थ मन्त्रालय सम्हालेका जनार्दनको ठाउँमा यसपटक वर्षमान अर्थमन्त्री बन्दै गर्दा वर्तमान गठबन्धनप्रति जनार्दनको ‘रियाक्सन’ कस्तो रहला ? त्यो प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट