दर्शक भेट्न मोफसल यात्रामा ‘महाजात्रा’-Sutra News

दर्शक भेट्न मोफसल यात्रामा ‘महाजात्रा’

सोमबार, २१ फाल्गुन २०८०

सोमबार, २१ फाल्गुन २०८०

काठमाडौं । फिल्म ‘महाजात्रा’ निर्माण समुह दर्शक भेट्न मोफसल यात्रामा निस्किएको छ । ट्रेलर सार्वजनिक भएसँगै ‘महाकमेडी यात्रा’ अन्तर्गत फिल्मका निर्माता म्याक्स दीपेश खत्री, निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, रवीन्द्र सिंह बानियाँ, अभिनेत्री वर्षा राउत लगायतको टोली पोखरा पुगेको छ । पहिलो चरण अन्तर्गत ‘महाकमेडी यात्रा’ २१ गते पोखराबाट सुरु भई २२ गते बुटवल, २५ गते धनगढीमा हुनेछ ।



यसको दोस्रो चरण फागुन ३० गते बिर्तामोडबाट सुरु भई १ गते इटहरी, ३ गते हेटौडा र ४ गते नारायणगढमा हुनेछ । भ्रमणमा फिल्म युनिटसँगै अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतिमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिनेछन् ।

‘हामीले फिल्मको प्रदर्शन अगाडि मोफसलका विभिन्न सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौँ । दर्शकसँग साक्षात्कार गर्दा हामीसँग रियालिटी शोमार्फत उदाउनुभएका कमेडियनसँगै हाम्रो फिल्मका कलाकारहरू हुनुहुनेछ’, निर्माता खत्रीले बताए ।

निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो । ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यस पटक अभिनेता हरिवंश आचार्य थपिएका छन् ।

यस पटक पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्या नै फिल्मको कथा रहेको छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिने फिल्ममा हाँसो र रोदनको मिश्रण छ । फिल्म चैत ९ गते नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट