गगन थापाको एउटा प्रतिवेदनले पल्टियो सत्ता !-Sutra News

गगन थापाको एउटा प्रतिवेदनले पल्टियो सत्ता !

सोमबार, २१ फाल्गुन २०८०

सोमबार, २१ फाल्गुन २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समेट्दै नयाँ सत्ता समीकरण बनाएका छन् । वि.सं. २०७९ को आम निर्वाचनपछि यो तेस्रोपटक सत्ता गठबन्धन परिवर्तन भएको हो । गत वर्ष पुस १० मा एमाले, रास्वपासहित दलहरुको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।



त्यसको ६४ दिनपछि सत्ता गठबन्धन भत्किएर नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रसहित दलहरुको सत्ता गठबन्धन बनेको थियो । यो गठबन्धन पनि एक वर्ष पूरा भएसँगै भत्किएको छ ।

कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहित दलको गठबन्धन क्याम्पबाट प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड एमालेतिर जाने भएसँगै गठबन्धन भत्किएको हो । प्रधानमन्त्री प्रचण्डले सोमबार नै नेकपा एमाले र रास्वपालाई समेट्दै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् ।

यसअघि सोमबार बिहान सत्ता गठबन्धन जोगाउने गरी बैठकमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले गठबन्धनको बैठक स्थगित गरी पार्टीको पदाधिकारी बैठक आह्वान गरेका थिए ।

पदाधिकारी बैठकमा प्रचण्डले एमालेसहित दलहरुसँग मिलेर जाने निर्णय गरे । योसँगै कांग्रेस, माओवादीसहित पाँच दलीय गठबन्धनमा पूर्णविराम लागेको हो ।

गगनको प्रतिवेदनले उल्टियो सत्ता

कांग्रेस महामन्त्री गगन थापाले लामो समयदेखि कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताउँदै आएका थिए । १४ औँ महाधिवेशनपछि पार्टीभित्र एकलौटी निर्णय गर्दै आएका सभापति देउवालाई खुम्चाउने गरी उनले गत ७ देखि १० गतेसम्म सम्पन्न महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गरे ।

महामन्त्री थापाले पेश गरेको सांगठनिक प्रस्तावसँगै कांग्रेसभित्र मात्रै हाेइन, सत्ता गठबन्धनमै तरंग सिर्जना भयाे । जसपश्चात सभापति देउवा सत्ता गठबन्धन नभत्किने भन्दै आश्वत पार्न प्रधानमन्त्रीलाई पटक–पटक भेट गर्न पुगेका थिए ।

थापाले पेश गरेको सांगठनिक प्रस्तावमा भनिएको थियो, “०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरु हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौँ, र हाम्रा समर्थक शुभेच्छुकलाई रुख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्ने छौँ ।”

महासमितिको उद्घाटनमा नै कांग्रेस सभापति देउवाले महामन्त्री थापाको प्रस्तावले गठबन्धन नभत्किने संकेत गरेका थिए । उद्घाटनमा देउवाले भनेका थिए, “भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य सान्दर्भिकतालगायतका विषयमा ठोस मूल्याङ्कन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिने सक्नेछ ।”

गगन थापाको प्रस्तावमा सहमति जुट्न सकिरहेको थिएन । यसैक्रममा महासमिति उद्घाटन गरेपछि पदाधिकारी तथा पूर्वपदाधिकारीहरु देउवा निवास बूढानीलकण्ठमा बैठकमा बसे । बैठक चलिरहँदा देउवा र उपसभापति पूर्णबहादुर खड्का प्रधानमन्त्रीलाई भेट्न पुगे । त्यसपछि देउवाले गगन थापाको प्रस्तावमा सहमति जनाए ।

तर, देउवालाई प्रचण्डले गगन थापाको प्रस्तावसहित विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनको पनि केही अंश सच्याउन दबाब दिँदै आएका थिए । देउवाले यस विषयमा पार्टीको केन्द्रीय समिति बैठकमा लगेर सच्याउने विश्वास प्रचण्डलाई दिलाएका थिए ।

कांग्रेस महासमिति बैठकबाट असन्तुष्ट बनेका प्रचण्डसँग अहिलेकै सत्ता गठबन्धनलाई थप चार वर्ष टिकाउने अवसर थियो । तर, ०८४ को आम निर्वाचन र कांग्रेसमा देउवा कमजोर भएको आकंलन गरेका प्रचण्डले बलियो साथ खोज्दै एक वर्षपछि एमालेको क्याम्प खोजेका हुन् ।

एमालेलाई फुटाउन ठूलो भूमिका खेलेका प्रचण्डले नयाँ सत्ता समीकरणसँगै दोस्रोपटक वाम गठबन्धनको एकता हुनेसम्म भन्न भ्याए । एमालेसँग पार्टी एकता गर्नेसम्म भन्न भ्याएका प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एसलाई कसरी सम्बोधन गर्छन् हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट