काेरियामा सीमित हुँदै राेजगारीकाे अवसर, उत्पादनमूलक बाहेकमा नलैजाने घाेषणा-Sutra News

काेरियामा सीमित हुँदै राेजगारीकाे अवसर, उत्पादनमूलक बाहेकमा नलैजाने घाेषणा

बिहिबार, १७ फाल्गुन २०८०

बिहिबार, १७ फाल्गुन २०८०

काठमाडाैं । नेपालीहरूको प्रमुख र आकर्षक रोजगारीको प्रमुख गन्तव्य रहेको दक्षिण कोरियाले यो वर्ष उत्पादनमूलक बाहेक अन्य क्षेत्रमा कामदार नलैजाने औपचारिक जानकारी दिएको छ । उत्पादनमूलक क्षेत्रका लागी ईपीएस भाषा परिक्षा सक्नै एक वर्ष लाग्ने देखिएका कारण यो अवस्था उत्पन्न भएको छ । ईपीएस प्रणालीबाट विदेशी कामदार लैजाने प्रक्रिया हेर्ने एचआरडी कोरियाले पत्र पठाएको ग्वार्को स्थित ईपीएस शाखाले पनि स्वीकार गरेको छ ।



उत्पादनमूलक बाहेक अन्य क्षेत्रमा नेपालमा भाषा परिक्षा नै लिन नसकिने भएका कारण यो क्षेत्रबाहेक अन्य क्षेत्रमा अन्य देशबाटै कामदार लैजाने औपचारिक जानकारी दक्षिण कोरियाले दिएको छ । वर्ष दिनभरि नै परिक्षा लिनुपर्ने गरी धेरै संख्यामा आवेदन परेका कारण थप कामदार लैजान नसकिने आशयको पत्र आएपनी यसअघि नै भाषा परिक्षा र सीप उतिर्ण गरेर रोस्टरमा रहेकाहरू यसबाट प्रभावित नहुने अपेक्षा नेपाल सरकारले लिएको छ ।

उत्पादनमूलक क्षेत्रमा भाषा परिक्षा दिन आवेदन दिएका १ लाख ६३ हजारले आवेदन दिएकोले आगामी वर्षको पुस २ गतेसम्म भाषा परिक्षा संचालन हुने छ । दक्षिण कोरियाले यो वर्ष उत्पादनमूलक क्षेत्रमा काम गर्नको लागि नेपालबाट १५ हजार ९ सय लैजाने जानकारी दिएको थियो । त्यसका लागि १० गुणाभन्दा धेरैले आवेदन दिएपछि त्यसको व्यवस्थापन गर्न सकस देखिएको हो ।

धेरै संख्यामा आवेदन परेपछि अहिले दक्षिण कोरियाकै ह्युमन रिसोर्स डेभलपमेन्ट सर्भिसले दैनिक पाँच अलगअलग सिफ्टमा १ हजार जनाको भाषा परिक्षा लिइरहेको छ । मे महिनाको सुरुवातमा सुरु भएर जुलाई अन्तिममा सकिने दोस्रो चरणको परिक्षामा ७९ हजार र नोभेम्बरमा सुरु भएर डिसेम्बर १७ मा सकिने परिक्षामा बाँकी ३६ हजार सहभागी हुन पाउने कार्यतालिका तय गरिएको छ । दोस्रो चरणमा मे बाट सुरु हुने भाषा परिक्षामा भने दैनिक सहभागीहरूको संख्या बढाउन पहल भइरहेको ईपीएस शाखाले दाबी गरेको छ ।

तर, दक्षिण कोरियाले भने अहिले दैनिक चार सिफ्टमा लिइने गरिएको भाषा परिक्षामा एक सिफ्ट थप गरेर दैनिक पाँच सिफ्टमा लिन सुरु गर्दासमेत यो वर्षको डिसेम्बर १७ सम्म लाग्ने देखिएकोले भाषा परिक्षा छिटो सक्न दैनिक भाषा परिक्षामा सहभागी हुनेको संख्या बढाउन नेपाल सरकारले दक्षिण कोरियालाई आग्रह गरेको भएपनि दक्षिण कोरियाले यो विषयमा थप कुनै कदम उठाएको छैन ।

नेपाल सरकारले भने अर्को वर्षदेखि प्रारम्भिक परिक्षामा उतिर्ण भएकाहरूलाई मात्रै भाषा परिक्षामा सहभागी गराउनेबारे छलफल अगाडि बढाएको छ । तर, दक्षिण कोरियाले भने अन्य देशहरूमा जस्तै मागभन्दा तीन गुणा मात्रै आवेदन लिएर भाषा परिक्षामा सहभागी गराउन औपचारिक आग्रह गरेपनि नेपाल सरकारले भने त्यसतर्फ कुनै ध्यान दिएको छैन । समयमा भाषा परिक्षा सक्ने गरी आवेदन व्यवस्थित नगरे सबैभन्दा धेरै कामदार आपूर्ति गर्ने नेपालको हैसियत खस्किने चेतावनी दिएको छ ।

ईपीएस भाषा परिक्षाकै विषयलाई लिएर भएको झडपमा दुई युवाले ज्यान गुमाएपछि चौतर्फी आलोचित बनेको सरकारले आलोचना बढ्ने डरले कुनै निर्णय लिने हिम्मत नगर्दा दक्षिण कोरियामा नेपाली कामदारले पाउँदै आएको कोटासमेत गुम्ने खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट