राष्ट्रियसभा अध्यक्षमा किचलो : एमालेलाई ‘पुस १०’ उल्ट्याउने अवसर-Sutra News

राष्ट्रियसभा अध्यक्षमा किचलो : एमालेलाई ‘पुस १०’ उल्ट्याउने अवसर

बुधबार, १६ फाल्गुन २०८०

बुधबार, १६ फाल्गुन २०८०

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको पदलाई लिएर सत्ता गठबन्धनभित्र विवाद सिर्जना भएको छ । सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रले अध्यक्षको उम्मेदवार आफ्नो पार्टीकै हुनुपर्ने अडान लिएसँगै विवाद सिर्जना भएको हो ।



बुधबार सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकले औपचारिकरुपमै राष्ट्रियसभा अध्यक्षको पदमा पार्टीको तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको छ । “बैठकमा बोल्ने सबैजसो नेताहरुले राष्ट्रियसभा अध्यक्षको पद माओवादीले नै पाउनुपर्ने धारणा राख्नुभयो, नेताहरुको धारणापछि बैठकले आधिकारिकरुपमा उम्मेदवारी दिने निर्णय गरेको छ”, स्थायी समितिको निर्णयबारे माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले भनेका छन् ।

यद्यपि, कतिपय नेताहरुले यसअघि सार्वजनिकरुपमै राष्ट्रियसभा सदस्यको उम्मेदवारी तय गर्दा नै अध्यक्ष पदमा पनि सहमति भइसकेको धारणा राखेका थिए । कांग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने सहमति भइसकेको चर्चाका बीच माओवादी केन्द्रले स्थायी समिति बैठक बसालेर पछिल्लो निर्णय लिएको हो ।

राष्ट्रियसभा अध्यक्षको उम्मेदवारको सन्दर्भमा माओवादीले औपचारिक निर्णय लिएपनि कांग्रेसले भने निर्णय लिइसकेको छैन । कांग्रेस नेता डा. नारायण खड्काले छिट्टै बैठक बसालेर राष्ट्रियसभा अध्यक्षको सन्दर्भमा निर्णय लिने बताए ।

“माओवादी केन्द्रले निर्णय लिएको विषय बाहिर आएको छ, यो सन्दर्भमा कांग्रेसले पदाधिकारी बैठक बसालेर निर्णय लिन्छ”, खड्काले सूत्रसँगको कुराकानीमा भनेका छन्, “गठबन्धनभित्र सहमति नै गरेर जानुपर्ने अवस्था भएको कारण कांग्रेसले पनि सहमतिकै बाटोबाट जानेगरी निर्णय लिन्छ । यसमा सहमतिबाटै निकास खोज्नुपर्छ भन्ने धारणा कांग्रेसको हो ।”

एमालेलाई अवसर

राष्ट्रियसभा अध्यक्षको पदमा उम्मेदवार दिने निर्णय गर्दै गर्दा माओवादी केन्द्रभित्र गठबन्धनको सन्दर्भमा पनि समीक्षा भएको छ । एक स्थायी समिति सदस्यका अनुसार धेरै नेताहरुले कांग्रेससँगको गठबन्धन फलदायी नभएको भन्दै विकल्प खोज्नुपर्ने सुझाब दिएका छन् । जसमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई पनि मिल्दो छ ।

यद्यपि, माओवादी केन्द्रले गठबन्धनबारे तत्काल कुनै निर्णय भने लिएको छैन । तर, नेताहरुको धारणाअनुसार माओवादी केन्द्र आवश्यक परे कांग्रेससँगको सहकार्य तोड्नसक्ने तहमा पुगेको छ ।

“नेताहरुले गठबन्धनबारे समीक्षा गर्नुपर्ने र बाम गठबन्धन बनाउन पहल गर्नुपर्ने धारणा राख्नुभएको छ, अध्यक्षले पनि हामीलाई लगातार धोका भइरह्यो भन्ने कुरा राख्नुभएको छ”, ति नेताले भनेका छन्, “अब पनि घटना दोहोरिने अवस्था भएमा विकल्पमा जानुपर्छ भन्ने धारणा सबैजसो नेताहरुको छ ।”

माओवादी केन्द्रभित्र गठबन्धनबारे जुन कोणबाट समीक्षा भएको छ, यसले प्रमुख प्रतिपक्षीको बेन्चमा बसेको एमालेलाई भने अवसरको ढोका खोलिदिएको देखिन्छ । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि एमालेका निम्ति अवसर देखिएको बताउँछिन् ।

“एमालेलाई कोर्ष करेक्सनको अवसर देखिएको छ, यसलाई उपयोग गर्नुपर्छ भन्ने मेरो धारणा हो”, शाक्यले भनेकी छिन्, “अहिले जसरी कांग्रेस महासमिति बैठकमा छलफल भयो, जस्ता एजेन्डाहरु पारित भए, कांग्रेस बैठकपछि माओवादी केन्द्रभित्र जसरी समीक्षा भयो, यसले बाम सहकार्यको बाटो खोलेको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन अवसर बन्न सक्छ ।”

पुस १० को घटना दोहोरिने अवस्था बनेको शाक्यको समीक्षा छ । उनले भनेकी छिन्, “जसरी पुस १० मा कोर्ष करेक्सन हुने अवस्था बनेको थियो, अब पनि अवसर देखिन्छ । नेताहरुले समीक्षा गर्नुपर्छ । यो बाम सहकार्यको अवसर हो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट