काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने विवादित शर्मिला वाइबा पक्राउ परेकी छिन् । बुधबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
वाइबामाथि खतिवडाको पति–पत्निबीचको विवाद चलिरहेको बेला घरमा गएर खतिवडामाथि कुटपिट गरेको आरोप छ ।
वाइबाले खतिवडाको पारिवारिक विवादलाई यूटुबरलाई जम्मा गरेर बाहिर ल्याएकी थिइन् । घर झगडालाई बाहिर ल्याएपछि खतिवडाले पनि पत्रकार सम्मेलन गरेका थिए ।
उनले आफूमाथि वाइबाले कुटपिट गरेको आरोप लगाएका थिए । पत्रकार सम्मेलन उपस्थित हुँदा खतिवडाको अनुहारमा घाउ देखिएको थियो ।
वाइबाविरुद्ध कुटपिट तथा अंगभङ्गसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।