विराजको ‘१२ गाउँ’बाट न्यान्सी खड्का डेब्यु गर्दै-Sutra News

विराजको ‘१२ गाउँ’बाट न्यान्सी खड्का डेब्यु गर्दै

बुधबार, १६ फाल्गुन २०८०

बुधबार, १६ फाल्गुन २०८०

काठमाडौं । अभिनेता विराज भट्टले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘१२ गाउँ’का लागि नायिका फाइनल गरिएको छ ।



यो फिल्ममा ‘मिस नेपाल इन्टरनेशनल २०२२’ समेत रहेकी न्यान्सी खड्काले काम गर्ने पक्का भएको हो। निर्माण कम्पनी विराज भट्ट प्रोडक्सन र खड्काबीच लिखित सम्झौता भएको छ ।

व्यवसायीक मोडलको रुपमा काम गर्दै आइरहेकी न्यान्सीलाई आफूहरूले खोजे जस्तो पात्र भएकाले अनुबन्धित गरिएको विराजको भनाई छ । यो फिल्मको निर्माण एवं निर्देशन विराज आफैले गर्दैछन् ।

न्यान्सीले केही समय अगाडि जापानमा भएको ‘मिस इन्टरनेश्नल‘मा नेपालको प्रतिनिधित्व गरेकी थिइन। यसका अलावा न्यानसीले मानसिकस्वास्थ्यमा जनचेतना फैलाउने काममा सक्रिय रहँदै आएकी छन्।

यो फिल्ममा विराजका छोरा समीर भट्टले काम गर्ने पक्का भइसकेको छ । यही फिल्मबाट समीरले फिल्म क्षेत्रमा डेब्यू गर्न लागेका हुन् । यो फिल्मको छायांकन चैत्रको १५ गतेबाट सुरु गर्ने तयारी विराजको छ । सन्तोष सरकारको कथा तथा पटकथामा तयार हुने फिल्ममा विराजको पनि मुख्य भूमिका रहनेछ ।

यस्तै, फिल्मको अर्को एक लिड-एक्टर तय हुन बाँकी रहेको जनाइएको छ । फिल्म ‘१२ गाउँ’को कथावस्तुको बारेमा केही पनि बताइएको छैन । नेपाली फिल्म क्षेत्रलाई एक्सनको नयाँ तहमा लैजान यो फिल्म महत्वपूर्ण साबित हुने विराजको बुझाई छ ।

विराजले यो प्रोजेक्टलाई करिअरकै महत्वकांक्षी प्रोजेक्टको रुपमा हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट