राष्ट्रिय सभा अध्यक्षमा किचलो, गठबन्धनकै भविष्यमाथि प्रश्न-Sutra News

राष्ट्रिय सभा अध्यक्षमा किचलो, गठबन्धनकै भविष्यमाथि प्रश्न

मंगलबार, १५ फाल्गुन २०८०

मंगलबार, १५ फाल्गुन २०८०

काठमाडौं । आगामी फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक तहमा भने उथलपुथलका दृश्यहरु देखिन थालेका छन् । विशेषगरी सत्ता साझेदारबीच अध्यक्ष पद हत्याउने सन्दर्भमा पेचिलो बहस सुरु भएको छ ।



अहिले विशेषगरी सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच उक्त पदलाई लिएर विवाद सुरु भएको देखिन्छ । कांग्रेसले पूर्वसहमति भन्दै उक्त पदमा दाबी गरेको छ भने माओवादी केन्द्रले संवैधानिक परिषद्मा भूमिकाबिहीन बन्ने सन्दर्भलाई जोड्दै उक्त पद आफूले पाउनुपर्ने अडान राखेको छ ।

यस्तोमा गठबन्धनभित्र कसरी सहमति खोज्ने ? विषय पेचिलो बनेको छ ।

राष्ट्रिय सभा सदस्यको लागि उम्मेदवार चयनको बेला दलहरुबीच राष्ट्रियसभा अध्यक्षको पद पनि कसले लिने भन्ने विषयमा मोटामोटी सहमति भएको थियो । नेताहरुले बताएअनुसार कांग्रेसको तर्फबाट उम्मेदवार बनेका कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने गरी मौखिक सहमति बनेको थियो ।

जसबारे माओवादी केन्द्रका कतिपय नेताहरुले पनि सार्वजनिकरुपमा अभिव्यक्ति दिएका छन् । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सार्वजनिकरुपमै सिटौलालाई अघि सार्ने बताएका छन् । यद्यपि, भनिएको उक्त सहमतिबाट माओवादी अलग भएको देखिन्छ । स्वयम् उपमहासचिव शर्माले पनि बोली फेरेका छन् ।

सोमबार संसद भवनअगाडि सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले राष्ट्रिय सभा अध्यक्षको पद छाड्ने स्थिति नभएको बताए । यद्यपि, दलहरुबीच सहमति खोजिने उनले बताए ।

औपचारिकरुपमा निर्णय लिँदै माओवादी

राष्ट्रिय सभा अध्यक्षको पद कसले लिने भन्नेबारे सत्ता गठबन्धनभित्र औपचारिक छलफल हुन सकेको छैन । तर, गठबन्धनभित्र औपचारिक छलफल नभएपनि दलहरुभित्र आन्तरिक छलफल भने चलिरहेको छ ।

माओवादी केन्द्रले औपचारिकरुपमै पार्टी बैठकमा उक्त विषयलाई प्रवेश गराएको छ । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा राष्ट्रिय सभा अध्यक्षको पदबारे छलफल भएको हो ।

माओवादी बैठकमा नेताहरुले कुनै हालतमा उक्त पद छाड्न नहुने सुझाव राखेका छन् । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएअनुसार मंगलबारको बैठकमा बोल्ने सबैजसो नेताहरुले अध्यक्षको पद छाड्दा माओवादी कमजोर हुने धारणा राखेका छन् ।

यद्यपि, मंगलबार बसेको बैठकले भने उक्त विषयमा कुनै निर्णय लिएन । सापकोटाले जनाएअनुसार बुधबार पुनः बस्ने बैठकले अध्यक्षको पदबारे औपचारिक निर्णय लिनेछ । माओवादी केन्द्रले आन्तरिक निर्णयपश्चात मात्रै गठबन्धनबीच छलफल गर्ने तयारी गरेको उनले बताए ।

गठबन्धनभित्र सहमति नबने विकल्प खोज्ने तयारी

नेपाली कांग्रेसको इतर समूहले राष्ट्रियसभा अध्यक्षको पदलाई लिएर पार्टी संस्थापन पक्षमाथि दबाब बढाइरहेको छ । नेताहरुले खुलारुपमै कुनै हालतमा उक्त पद छाड्न नहुने भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई असहज बनाइरहेका छन् ।

यस्तोमा माओवादी केन्द्र पनि उक्त पद कुनै हालतमा छाड्न नहुने अडानमा देखिएको छ । मंगलबार बसेको स्थायी समिति बैठकमा पनि नेताहरुले आवश्यक परे विकल्प खोज्नसमेत सुझाएको माओवादी स्रोतले बताएको छ ।

“सहमतिअनुसार प्रधानमन्त्रीको पद केही समयपश्चात छोड्नुपर्छ, यस्तोमा राष्ट्रियसभा अध्यक्षको पद नपाएको खण्डमा संवैधानिक परिषद्मा रिक्त हुने अवस्था हुन्छ”, माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले भनेका छन्, “यस्तोमा माओवादीलाई सघाउन कांग्रेस तयार हुनुपर्छ, नभए विकल्प त भइ नै हाल्छ ।”

माओवादी वर्तमान गठबन्धनलाई तोड्ने पक्षमा नभएपनि परिस्थितिअनुसार विकल्प खोज्नुपर्ने पक्षमा नेताहरुको सुझाब रहेको उनले बताए । “कोशीमा हामीमाथि एकपछि अर्को धोका भयो, तैपनि हामी स्वीकारीरहेका छौं, अहिलेको सन्दर्भमा पनि हामी गुमाउन सक्दैनौ, राजनीतिमा विकल्प नहुने भन्ने हुँदैन”, ति नेताले भनेका छन् ।

अहिले विशेषगरी माओवादी केन्द्रभित्र एकातिर समाजवादी मोर्चालाई विस्तार गर्ने सन्दर्भमा छलफल चलिरहेको छ भने अर्कोतिर वाम एकताको छलफल चलेको छ । समाजवादी मोर्चाको संयोजक बनेका नेत्रविक्रम चन्द ‘विप्लव’ पनि सक्रियपूर्वक मोर्चालाई विस्तार गर्न जुटेका छन् । उनले मोर्चामा एमालेलाई भित्र्याउने गरी छलफल चलाइरहेका छन् । जुन छलफलपछि वाम एकताको विषयले फेरि चर्चा पाइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट