अभिनेत्री निशा र शरदको ‘डिर्भोस’बिना अंशबण्डा-Sutra News

अभिनेत्री निशा र शरदको ‘डिर्भोस’बिना अंशबण्डा

सोमबार, १४ फाल्गुन २०८०

सोमबार, १४ फाल्गुन २०८०

काठमाडौं । अभिनेत्री निशा अधिकारी र पूर्वक्रिकेटर शरद भेषावकरबीच अंशबण्डा भएको छ ।



निशाले यसअघि नै शरदविरुद्ध अंश र माना चामलको मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर गरेकी थिइन् ।

विवाह भएको केही समयसम्म पारिवारिक जीवन राम्ररी चले पनि निशाले पछि पति शरदले नराम्रो व्यवहार गरेको भन्दै अंश मुद्दा हालेकी थिइन् । निशा र शरदबीचको मुद्दामा काठमाडौं जिल्ला अदालतले निशाले अंश पाउने फैसला सुनाएको हो ।

शरद र निशाबीच अदालतले अंशबण्डा गरिदिए पनि उनीहरूबीच सम्बन्ध बिच्छेद भएको देखिँदैन । कानूनअनुसार कुनै पनि विवाहित महिलाले श्रीमानसँग डिभोर्स नगरी अंश वा माना चामलको मागदाबी गर्न सक्छिन् ।

कानून व्यवसायीका अनुसार डिभोर्स र माना चामल मुद्दा फरक हुन् । डिभोर्स गरेपश्चात् महिलासँग श्रीमानको नातासम्बन्ध पूरै टुट्छ । तर, माना चामलको मुद्दा श्रीमान्–श्रीमतीको नाता कायम राखेरै दायर हुन सक्छ ।

शरद र निशा विं.सं. २०७५ सालदेखि अलग बस्दै आए पनि दम्पतीकै हैसियतमा छन् । अब उनीहरूले डिभोर्स गर्न चाहेमा अर्को मुद्दामा जानुपर्ने हुन्छ । कानून व्यवसायीका अनुसार माना चामल भइसकपछि श्रीमान् वा श्रीमतीले अर्को विवाह गर्न स्वतन्त्र हुन्छन् ।

शरद र निशाको विवाह ०७४ असार १६ गते भएको थियो । उनीहरूले ०७५ साल जेठ ३ गते पहिलो सन्तानका रूपमा पुत्र लाभ गरेका थिए । सन्तान प्राप्तिलगत्तै निशा शरदसँग छुट्टिएर माइतीमा बस्दै आएकी छन् ।

यी दम्पतीका पाँच वर्षका एक छोरा छन् । निशाले छोरा आफूसँगै रहेको भन्दै तीन भागको दुई भाग सम्पत्तिको दाबीसहित मुद्दा हालेकी हुन् ।

निशाले अदालतसमक्ष शरदको सम्पत्तिबाट दुई तिहाई (३ भागको २ भाग) आफूले पाउनु पर्ने मागदाबी गरेकी थिइन् । उनले ०७९ साल भदौ २८ गते दायर गरेको मुद्दामा अदालतले गत मंसिर २८ गते फैसला सुनाएको हो । मुद्दाको प्रमाणीकरण गत माघ १४ गते भएको थियो ।

उक्त माना चामलको मुद्दा न्यायाधीश शिशिरराज ढकालले शरदको एक तिहाई सम्पत्ति (३ भागको १ भाग) निशाले पाउने फैसला सुनाएका छन् । अंश प्राप्त नहुञ्जेलसम्म शरदले निशालाई मासिक ४१ हजार रुपैयाँ भरणपोषण खर्च उपलब्ध गराउनु पर्ने फैसलामा छ ।

निशा र शरदको बच्चाको उमेर १८ वर्ष नहुँदासम्म आमाबाबु दुवैको संरक्षणमा हुनुपर्ने फैसला पनि अदालतले सुनाएको छ । अंश नपाउँदासम्म माना चामलबापत बादीहरु (निशा र बच्चा)ले शरदबाट मासिक ४१ हजार रुपैयाँ पाउने ठहरसमेत अदालतले गरेको छ ।

आफ्नो फिरादपत्रमा निशाले विवाह भएको केही समयसम्म राम्रोसँग पारिवारिक जीवन चले पनि पछि श्रीमानबाट राम्रो व्यवहार नभएको उल्लेख गरेकी थिइन् ।

निशाले शरदको अंशलाई तीन भाग लगाएर नाबालक छोराको अंश भाग पनि आफूलाई दिन माग गरेकी थिइन् । यस्तै छोरा र आफूलाई जनही ५० हजारको दरले मासिक १ लाख रुपैयाँ पतिले दिनु पर्ने उनको अर्को मागदाबी थियो ।

अदालतले शरद र निशा दुवैको माग आंशिक पूरा गरिदिएको छ । अंश तीन भाग लगाएर नाबालिक छोराको भाग उनी साबालिक नहुञ्जेल आमा र बुवा दुवैको संरक्षणमा रहनुपर्ने फैसला न्यायाधीश ढकालले सुनाएका छन् ।

यसैगरी, हालसम्म शरदले निशालाई मासिक ४१ हजार रुपैयाँ माना चामल खर्च दिइरहेकोमा निशाले अंश प्राप्त नगरेसम्म यसलाई निरन्तरता दिन फैसलामा उल्लेख गरिएको छ ।

शरद र निशाको फैसला गर्ने न्यायाधीश ढकाल उनै हुन्, जसले सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजायसहित पाँच लाख रुपैयाँ जरिवाना र क्षतिपूर्ति सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट