‘रङ्गेली’ टिमसँग असन्तुष्ट छन् अर्पण थापा !-Sutra News

‘रङ्गेली’ टिमसँग असन्तुष्ट छन् अर्पण थापा !

आइतबार, १३ फाल्गुन २०८०

आइतबार, १३ फाल्गुन २०८०

काठमाडौं । आगामी फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘रङ्गेली’को गत बुधबार ट्रेलर सार्वजनिक गरियो । ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू उपस्थित थिएनन् ।



फिल्मका नायक दयाहाङ राई र नायिका मिरुना मगर अर्को फिल्मको छायांकनका लागि पूर्वी रुकुम पुगेका छन् । जसका कारण दया र मिरुना ट्रेलर सार्वजनिक हुँदा उपस्थित हुन सकेनन् । उनीहरू फिल्म रिलिज हुँदा बखत पनि उपस्थित हुने अवस्था देखिँदैन ।

यता, दया र मिरुना ट्रेलर सार्वजनिक हुँदा उपस्थित हुन नसके पनि फिल्मका अन्य कलाकारहरू सहभागी भएका थिए । फिल्मका अर्का मुख्य कलाकार रहेका अर्पण थापा कार्यक्रममा उपस्थित त भए तर बिचैबाट हराएका थिए ।

अर्पण कार्यक्रम हुनु पूर्व हलमा देखिएका थिए । तर, जब फिल्मका बारेमा मिडियासँग कुराकानी गर्ने बेला भने उनी देखिएनन् । सुरुमा हल भित्र ट्रेलर सार्वजनिक हुने कार्य भइरहेको थियो, ट्रेलर रिलिज गरियो त्यतिकैमा अर्पण हलबाट एकाएक गायब भएका थिए ।

अर्पण ट्रेलर कार्यक्रममा देखिनु र अचानक कार्यक्रम हलबाट बाहिरिनुले कतै निर्माण पक्षसँग असन्तुष्ट रहेका छन् भन्ने धेरैलाई शङ्का लागेको थियो ।

यसरी प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्मको प्रचार प्रसारमा भएका कलकारहरूले समेत साथ नदिनुले फिल्मलाई लिएर निर्माण टिम अन्योलमा परेको छ ।

हुन त, गत वर्षदेखि बक्स अफिसमा सफलताको ह्याट्रिक गरेका दयाहाङ राई र मिरुना मगरलाई जोडीका रूपमा देखाएर दर्शकहरूको नजरमा ‘रंगेली’ फिल्म हिट हुन्छ कि भन्ने आशमा निर्माण टिम रहेको छ ।

अब ‘रंगेली’को हाइपसँगै र प्रमोसन अझै बढाउनालागि दया र मिरूनाको साथ खोजी रहेको निर्माण पक्षले रिलिज मिति नजिकिँदै जाँदा फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रमबाटै उनीहरूको साथ पाउन नसक्नुले फिल्मलाई कस्तो असर पुर्‍याउला त्यो भने फिल्म रिलिज भएसँगै देखिने छ ।

यता, छायाकंनकै चरणबाटै हतार गर्दै अस्ट्रेलिया र अमेरिकामा भिआइपी रेड कार्पेट प्रिमियर हुने भनेर घोषणा गर्न पछाडि नपरेको रंगेली टिमले कलाकारको समय व्यस्तताको कारण देखाउँदै प्रिमियर गर्न नसकिने स्वीकारोक्ति गर्न थालेको छ ।

यसरी हेर्दा फिल्मको टिमलाई पहिलो गाँसमै ढुङ्गा त लागेको छ नै दर्शकलाई हलसम्म तान्न निर्माण पक्षले कहिले ‘मिम च्यालेञ्ज’ घोषणा गर्छ त, कहिले यसमा दर्शकले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्ने भन्दै प्रचार स्वरूप अर्को हल्ला पिटिरहेको छ ।

अर्जुन सुवेदीको निर्देशनमा तयार भएको फिल्म ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । सुशन प्रजापति फिल्मका छायाकार हुन् ।

यो पनि पढ्नुहोस्

हल्ला र प्रचार बाजिमा हतारिएको ‘रंगेली’लाई पहिलो गाँसमै ढुङ्गा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट