१५औँ महाधिवेशनमा शशांकलाई साथ दिने देउवा संकेत !-Sutra News

१५औँ महाधिवेशनमा शशांकलाई साथ दिने देउवा संकेत !

शनिबार, १२ फाल्गुन २०८०

शनिबार, १२ फाल्गुन २०८०

काठमाडौं । गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठक पूर्वमहामन्त्री डा. शशांक कोइरालाको चियापानसँगै मैजाराे भएको छ । ललितपुरको गोदाबारीमा चार दिनसम्म चलेको महासमिति बैठकमा महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनले चर्चा पायो । उनको प्रतिवेदनसँगै पार्टी सभापति शेरबहादुर देउवामाथि ठूलो दबाबमा परे । थापाले प्रतिवेदनमार्फत पेश गरेको चुनावअघि गठबन्धन ठिक कि बेठिक ? भन्ने निर्णय कांग्रेस एक्लैले बहुमत ल्याउने रणनीतिका साथ लाग्छ, तर वर्तमान सत्ता गठबन्धन छोड्दैन बरु अझै बलियो बनाउँछ भन्ने आशयको निष्कर्ष निकाल्दै सकिएको छ ।



महासमिति बैठकको समापनपछि डा. कोइरालाको चियापान कार्यक्रमले कांग्रेस औपचारिक रूपमै १५ औँ महाधिवेशनको शक्ति समीकरण र गठजोडमा लागेको प्रष्ट देखिएको छ । नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिमा डा. कोइरालाले कांग्रेस एक भए कसैले हराउन नसक्ने भन्दै त्यसलाई मिलाएर लैजान सक्ने नेता सभापति शेरबहादुर देउवा मात्रै भएको दाबी गरे । यसको अर्थ १५ औँ महाधिवेशनमा आफूलाई देउवाको समर्थन हासिल गर्नु एक मात्र ध्येय देखिन्छ ।

पार्टीभित्र करिब दुई तिहाई शक्ति केन्द्रीत गरेका सभापति देउवाको समूह आगामी महाधिवेशनसम्म कम्तीमा दुई समूहमा विभक्त हुने संकेत देखिएको छ । संस्थापनइतर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइराला-महामन्त्री गगन थापाले पनि आ-आफ्नो गुट बनाउन सक्ने संकेत महासमिति बैठकमा देखिसकेको छ ।

महामन्त्री थापा १५ औँ महाधिवेशनमा संस्थापनइतरबाट सभापतिको उम्मेदवारी दाबी गर्ने हैसियतमा पुगेका छन् । तर उनी प्राविधिक रूपमा शेखरकै क्याम्पमा छन् । गगनले नियोजित रूपमा आफ्नो विचारलाई महासमितिको बैठकबाट स्थापित गर्न सफल भइसकेका छन् ।

गणितीय सम्भावनाले यसबीचमा शेखरलाई संसदीय दलको नेता बनाउन प्रतिस्पर्धी बन्ने संकेत देखिसकेको छ । महासमिति बैठकमा शेखर गुमनाम बन्दा गगनले वाहीवाही र आलोचना दुवै बटुलेर चर्चाको शिखरमा पुगेका छन् ।

कांग्रेसको महासमिति बैठकमा नागरिकका आम चासोका विषय, विचार निर्माण, आर्थिक मुद्दा र सरकारको सुस्त कार्य शैलीबारे प्रवेश पाएन । बरु हिन्दुराष्ट्रको मुद्दालाई सशक्त रूपमा स्थापित गर्ने प्रयत्न गरियो । महासमितिमा औपचारिक एजेण्डा बनाउन हिन्दु राष्ट्रपक्षधर असफल भए पनि डा. शशांक कोइरालाले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेर आफू हिन्दुराष्ट्र पक्षधरको नेतृत्व गर्दै पार्टीको सर्वोच्च पदमा आसिन हुने सपना सजाएका छन् ।

योबाहेक पार्टी सभापति देउवाकै खेमामा रहेका पार्टी उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र अर्थमन्त्री डा. प्रकाशशरण महतबीचको द्वन्द्व दुवै नेताको लिखित प्रतिवेदनमा देखियो । खड्काको प्रतिवेदनमा अर्थतन्त्र सहज नभएको उल्लेख हुँदा डा. महतले आफू अर्थमन्त्री बनेपछि अर्थतन्त्र सुधार भएको दाबी गरे ।

विडम्बना दुवै प्रस्ताव महासमितिले पारित गर्‍यो । अब, कुन नेताले प्रस्तुत गरेको विधेयक वास्तविक हो ? त्यो आगामी दिनमा प्रष्ट होला । त्यस्तै युवा पुस्तामा लोकप्रिय रहेका भनिएका महामन्त्रीद्वय गगन र विश्वप्रकाश शर्माको वैचारिक द्वन्द्व पनि छताछुल्ल देखियो । महामन्त्री थापाको प्रस्तावमा निर्वाचनपूर्व गठबन्धन गर्नै नसकिने अर्थात् रुखबाहेक अन्यत्र मतदान गर्न लगाउन नहुने उल्लेख हुँदा अर्का महामन्त्री शर्माले गठबन्धनको विषय रणनीति भएकाले अहिले नै छलफल गरिराख्न नपर्ने बताए ।

बाहिर देखिँदा देउवा र थापाबीच तीव्र ध्रुवीकरण देखिए पनि महासमिति बैठकले कांग्रेसका परम्परागत गुट छिन्नभिन्न भएर नयाँ शक्ति समीकरण निर्माण हुने परिस्थितिलाई आंकलन गर्दै पार्टी देउवालाई साक्षी राखेर शशांक सभापति हुने दौडमा निस्किए । देउवाले पनि कोइरालालाई ग्रीन सिंग्नल दिएको शनिबारको चियापानको शशांकको निकटताले प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट