‘सुस्त सुस्त’गीतमा आँचलसँग रोमान्टिक देखिएका दया-Sutra News

‘सुस्त सुस्त’गीतमा आँचलसँग रोमान्टिक देखिएका दया

शुक्रबार, ११ फाल्गुन २०८०

शुक्रबार, ११ फाल्गुन २०८०

काठमाडाैं । आगामी नेपाली नयाँ वर्षको अवसर पारेर चैत्रको ३० गतेबाट रिलिज हुने रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला: एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक गरिएको छ ।



सार्वजनिक ‘सुस्त सुस्त’ बोलको रोमान्टिक भावको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई प्रस्तुत गरिएको छ ।

सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ । भिडियोमा उनीहरुको एकअर्काप्रति आकर्षण, प्रेम, आशक्ति र समर्पण बोल्छ । दुवैको केमेस्ट्री सुहाएको देखिन्छ ।

फिल्मको सार्वजनिक गीतमा एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द रचना अनि संगीतकार योगी र बिज्ञानी पराजुलीको स्वर सुन्न सकिन्छ ।  गीतमा युमी बलामीको कोरियोग्राफी र निर्देशक रेनेशा वान्तवा राईको डिरेक्टर अफ कोरियोग्राफी रहेको छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेसगर्छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । फिल्म सोही नामको नाटकमा आधारित रहेको छ । फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले‘ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर फिल्मको निर्माण गरेको हो । फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, कमलमणी नेपाल, शेखर चापागाईं, सोमनाथ खनाल, पशुपति राईलगायत कलाकारको अभिनय छ।

फिल्ममा नेमिश श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै, फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट