सभामुखले आफ्नै पार्टीतर्फ अनुहार फर्काइरहेपछि…-Sutra News

सभामुखले आफ्नै पार्टीतर्फ अनुहार फर्काइरहेपछि…

शुक्रबार, ११ फाल्गुन २०८०

शुक्रबार, ११ फाल्गुन २०८०

काठमाडौं । संसद बैठक सञ्चालनको विधि र प्रक्रियामाथि निरन्तर प्रश्नहरु उठिरहेको देखिन्छ । विशेषगरी सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर प्रश्नहरु उठिरहेका छन् । संसद बैठक विपक्षी अनुकुल बनाएर सञ्चालन गरेको आरोप घिमिरेमाथि लागिरहेको छ ।



हुनपनि संसदका अधिकांश बैठक विवादरहित छैनन् । बैठक सञ्चालनमा संसद नियमावलीलाई प्रयोग गरिएको पाइँदैन ।

प्रमुख प्रतिपक्षी एमालेका कुनै सांसदले हात उठाएमा अवरुद्ध हुने स्थिति बनेको अन्य दलका सांसदहरुको गुनासो छ । विपक्षीको बेन्चमा रहेका दलहरुले पनि सदन एमाले अनुकुल मात्रै चलेको आरोप लगाउने गरेका छन् ।

बिहीबार बसेको संसद बैठक सांसदहरुको गणपूरक संख्या नपुगेपछि स्थगित बनेको थियो भने शुक्रबारको बैठक एमालेसहित विपक्षीको अवरोधपछि स्थगित बन्यो । यद्यपि, सभामुख स्वयम् सदन सञ्चालनको सन्दर्भमा गम्भीर नबनेपछि पनि स्थगित बनेको दलहरुको आरोप छ ।

सभामुखको अनुहार एमालेतिरै

शुक्रबारको संसद बैठक कार्यसूचीमा प्रवेश नगरी सकियो । सभामुखले एकपछि अर्को गर्दै कार्यसूची बाहिरबाट सांसदहरुलाई बोल्न दिए र विपक्षीको अवरोधलाई देखाएर बैठक स्थगित गराए ।

एक घण्टा छ मिनेट चलेको बैठकमा सभामुखको अनुहार करिब एमालेतिरै फर्किएर बित्यो । बैठकको सुरुमै झण्डै ११ मिनेट एमालेका सांसद योगेश भट्टराईले बोले । ११ मिनेटको समय खर्चिएका भट्टराईको भनाईको निचोड– विवादित मन्त्रीहरुले राजीनामा दिनुपर्ने थियो ।

उनले बोलेपछि जसपा, रास्वपा र राप्रपाका सांसदहरु एकपछि अर्को गर्दै बोलेका थिए । सांसदहरुलाई बोल्दा कुनै विषय र समय तोकिएको थिएन ।

झण्डै आधा घण्टाको लथालिङ्ग बैठक सञ्चालनपछि कांग्रेसका सांसद कुमार केसीले बोल्न समय मागे । तर, जब उनले बोल्न थाले विपक्षीका सांसदले अवरोध गरे ।

जहाँ सभामुखको भूमिका केसीलाई बोल्न सहजीकरण गराउनेभन्दा विपक्षीलाई सहयोग गर्ने खालको बन्यो । केसी बोलिरहेकै बखत केसीलाई उभ्याएर पुनः विपक्षीलाई बोल्न समय दिए । जसको विरोध भयो । केसीले बोल्न त पाए तर, विपक्षीले हल्ला गरिरहे ।

केसीको आग्रह यतिमात्रै थियो– विधेयकहरु अगाडि बढ्न सहयोग गरौं । उनले विपक्षीलाई जिम्मेवार बन्न आग्रह गरेका थिए ।

“विधेयक साझा कुरा हो, एक वर्षमा एउटा मात्रै विधेयक पास भएको विगतको उहाहरण हो”, उनले बैठकमा भनेका छन्, “विधेयक पारित गर्नु सत्तापक्षको मात्रै जिम्मेवारी होइन, प्रमुख प्रतिपक्षी पनि उत्तिकै जिम्मेवार हुनुपर्छ ।”

तर, फेरि केसीले बोलेपछि उस्तै दोहोरी सदनमा चल्यो । फेरि एकपछि अर्को गर्दै सांसदहरु विषय बाहिरबाट बोलिरहे । विशेषगरी एमाले र अन्य विपक्षी दलका सांसदहरुले एकपछि अर्को गर्दै बोल्ने समय पाइरहे ।

माओवादी सापकोटा, आजपाका प्रभु शाह, कांग्रेसका राजेन्द्र बजगाइँ बोलेपछि फेरि विपक्षीलाई सदन अवरुद्ध गर्ने मुड चल्यो । एमालेतिर फर्किरहेका सभामुखले सदन १५ मिनेटका लागि भन्दै स्थगित गराए ।

बैठक सञ्चालनको कार्यविधिमाथि प्रश्न

शुक्रबारको संसद बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा निकै आक्रामक शैलीमा प्रस्तुत बने । सत्ता पक्षलाई बोल्न नदिने र विपक्षीलाई मात्रै एकपछि अर्को गर्दै पालो दिइरहेपछि सभामुखमाथि उनी खनिए ।

सापकोटाले बैठक सञ्चालनको विधि र प्रक्रियामाथि प्रश्न मात्रै उठाएनन्, खुलेर सभामुखको कार्यशैलीमाथि विरोध गरे । उनले संसद नियमावलीको धाराहरु पल्टाएर सुनाए ।

“बैठकमा ‘संक्षिप्त समय’ भनेको के हो ? म मन लागुन्जेल बोल्न पाउने हो कि तपाईँ (सभामुख)का तजबिजमा तपाईंलाई आनन्द लागेका कुरामा मन लागुन्जेल बोल्न पाउने हो ?”, बैठक सञ्चालनमाथि सापकोटाले प्रश्न गरे, “मलाई थाहा छ, सम्माननीय सभामुखलाई सिधा–सिधा प्रश्न गर्न पाइँदैन, यो कुरा पनि थाहा छ तपाइँको कानमा राम्रा स्वर गुन्जिएनन् भने बिचैमा रोक्न पाइँदैन भन्ने कुरा हाम्रो संसदको नियमावलीको धारा २१ (ङ)ले भन्छ ।”

बैठक सञ्चालनको विधिलाई व्यवस्थित बनाउन सापकोटाका माग छ । कार्यविधिअनुसार बैठक सञ्चालन गर्न सापकोटाले आग्रह गरेका छन् ।
“कार्यविधिमा राम्रोसँग छलफल होस्, आकस्मिक समयमा को–को बोल्ने हो, को–को नबोल्ने हो ? कार्यव्यवस्थामा छलफल गर्ने कि नगर्ने, कि लथालिङ्ग शैलीमै चलाउने ?”, सापकोटाले प्रश्न गरेका छन् ।

यद्यपि, झण्डै डेढ वर्षको सदन सञ्चालनको शैलीलाई हेर्दा सदन विषयगतरुपमा नभई दलहरुको असन्तुष्टि पोख्ने थलोको रुपमा मात्रै प्रयोग भइरहेको छ । वर्षमा एउटा मात्रै विधेयक पारित हुनुले पनि सदन सञ्चालनको शैलीलाई प्रष्ट्याउँछ । जहाँ सभामुखको भूमिका पूर्ण अराजक खालको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट