‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु-Sutra News

‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु

शुक्रबार, ११ फाल्गुन २०८०

शुक्रबार, ११ फाल्गुन २०८०

काठमाडौं । कृषा चौलागाईको निर्देशनमा निर्माण हुने फिल्म ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु भएको छ ।



मल्टिस्टारर कलाकारहरु रहेको फिल्मको नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो ।

तीन चरणमा छायांकन हुन लागेको फिल्मको पहिलो चरणको सेड्यूलमा बाल कलाकारले मुहूर्त सट लिँदै छायांकन सुरु गरिएको निर्देशक तथा निर्मात्री कृषा चौलागाईले जानकारी दिइन् ।

१५ दिने सेड्युल राखेर पहिलो चरण अर्न्तगतको छायांकन थालिएको फिल्मको पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकलाकारको भागको छायांकन गरिने बताइएको छ ।  फिल्मको नवलपरासी पश्चात बुटवल र नेपालगञ्जमा समेत छायांकन हुने निर्देशक चौलागाईले जानकारी दिइन् ।

निर्माणपक्षका अनुसार दोस्रो चरणको सेड्युलमा फिल्मका कलाकार अभिनेता प्रदीप खड्का र सौगात मल्ल निरन्तर जोडिने छन् । फिल्ममा प्रदीप एक्सन भूमिकामा देखिनेछन् ।

निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय फिल्म हो । केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव बिष्ट, बिशाल पहारी लगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्मको तेस्रो चरणको छायांकन भने आगामी वर्षको असार-साउनमा हुने निर्देशक चौलागाईंले जानकारी गराएकी छिन् । पाँच करोड लागतमा बन्न लागेको पिताम्बरलाई निर्देशक चौलागाईले लार्ज स्केल बनाउँदैछिन् । फिल्मको निर्मातामा विशाल चौलागाई छन् ।

प्रदीप भारद्धाजको लेखन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट