फ्राइडे रिलिज: दुई हिन्दी फिल्मसँग भिड्दै ‘गोर्खा वारियर’-Sutra News

फ्राइडे रिलिज: दुई हिन्दी फिल्मसँग भिड्दै ‘गोर्खा वारियर’

शुक्रबार, ११ फाल्गुन २०८०

शुक्रबार, ११ फाल्गुन २०८०

काठमाडौं । फ्राइडे रिलिज अन्तरगत शुक्रबारबाट नेपालमा तीन फिल्म रिलिज भएका छन् ।



नेपाली भाषाको फिल्म ‘गोर्खा वारियर’ हिन्दी भाषाका दुई फिल्म ‘आर्टिकल ३७०’ र ‘क्र्याक’ रिलिजमा आएका हुन् ।

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘गोर्खा वारियर’ आजबाट रिलिजमा आएको छ । फरक स्वादको यो फिल्मले सन् १९४९ मा मलाया जङ्गलमा गोर्खालीहरूले देखाएको वीरताको कथा भन्छ ।

‘गुरिल्ला युद्ध’को नामले चर्चित ‘मलाया युद्ध’ सन् १९४८ मा सुरु भएर १९६० मा अन्त्य भएको थियो । यो फिल्मले पनि त्यस मलायाको जङ्गलमा नेपाली गोर्खाली सेनाले देखाएको वीरताको कथालाई प्रस्तुत गरिएको छ । फिल्ममा दोस्रो विश्व युद्धअन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलताको कथा विषय बनाइएको छ ।

करिब ७० वर्ष अगाडिको नेपाली समाजको अवस्थालाई पनि चित्रण गरेको १ घन्टा ५० मिनेट लामो यो फिल्मको मुख्य भूमिकामा रितेश चाम्स छन् । यो फिल्ममा रितेश का अलावा क्याप्टेन विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । जसमा हिमाल केसीको द्वन्द्व, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेश पायल राईको गायन रहेको छ ।

फिल्मको निर्मातामा सुमन राई, सुस्मिता वाइबा छन् । यसको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सह–निर्मातामा सुरेश राई रहेका छन् । यो फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

फिल्मको मेकिङ उच्च छ । मिलन चाम्सले नेपाली फिल्ममा नयाँ प्रयोग गरेका छन् । महँगो बजेटमा बनेको यो फिल्मलाई लिएर निर्माताहरूको व्यापारिक अपेक्षा पनि उच्च छ । गोर्खालीहरूको इतिहासको कथा र उनीहरूको बहादुरताको दृश्य हेर्नका लागि पनि यो फिल्म हलमा गएर हेर्न आवश्यक रहेको प्रतिक्रिया नेतादेखि फिल्मीकर्मीहरुले दिइसकेका छन् ।

पहिलो नेपाली ‘जङ्गल वार’ फिल्म मानिएको ‘गोर्खा वारियर’ ५ करोडमाथिको लागतमा बनेको हो । यो लगानी सुरक्षित गर्न फिल्मले घरेलु बक्स अफिसमा १० करोडमाथिको कमाई गर्नुपर्नेछ । यो आफैँमा चुनौतीपूर्ण भए पनि असम्भव छैन । एकातिर फिल्म सोलो रिलिज भएको छ भने अर्कोतिर प्रिमियरमा सुखद् प्रतिक्रिया मिलेको छ । यसको प्रभाव बक्स अफिसमा देखिन सक्ने प्रक्षेपण छ ।

हिन्दी फिल्म ‘आर्टिकल ३७०’ रिलिजमा आएको छ । यस फिल्ममा ‘आर्टिकल ३७०’ कसरी हटाइयो र सरकारले कस्ता कठिनाइबाट गुज्रनु परेको देखाइएको छ । यस फिल्ममा यामी गौतम कश्मीरी स्टाइलमा देखिएकी छिन् ।

‘आर्टिकल ३७०’ लाई वास्तविक अर्थमा बुझ्ने र त्यस समयको परिस्थिति जान्न चाहनेहरूका लागि यो फिल्म हो। फिल्ममा प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकामा अरुण गोविल निकै राम्रो देखिएका छन् । फिल्म ‘आर्टिकल ३७०’ लाई आदित्य जांभळेले निर्देशन गरेका हुन् ।

यस्तै, अर्को हिन्दी फिल्म हो ‘क्र्याक’ । एक्सनले फ्यानको मन जितेका अभिनेता विद्युत जामवालको आगामी जसमा अर्जुन रामपाल पनि देखिएका छन् । ‘क्र्याक’को शीर्षकसँगै लेखिएको छ– ‘जित्यौ भने बाँच्छौ ।’ यो फिल्ममा एक्सन मात्रै हुने कुरा प्रष्ट छ । नोरा फतेही र एमी ज्याक्सनले पनि यसमा ग्ल्यामर थप्नेछन् । यो फिल्मलाई भारतको पहिलो ‘खेलकुद एक्सन’को रूपमा वर्णन गरिएको छ । फिल्मलाई आदित्य दत्तले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट