रेखा भन्छिन्- ‘उपहार’ दर्शकको मन मस्तिष्कमा बस्ने गरी बनाइएको छ-Sutra News

रेखा भन्छिन्- ‘उपहार’ दर्शकको मन मस्तिष्कमा बस्ने गरी बनाइएको छ

बिहिबार, १० फाल्गुन २०८०

बिहिबार, १० फाल्गुन २०८०

आगामी फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’ रिलिज हुँदै छ । यस फिल्म मार्फत रेखा थापा पाँच वर्षपछि दर्शकमाझ आउँदै छिन् । यस अघि उनको फिल्म ‘मालिका’ दर्शकमाझ आएको थियो ।



‘मालिका’ रिलिजपछि राजनीतिमा सक्रिय देखिएकी उनले गर्भवती अवस्थामा ‘उपहार’मा काम गरेकी थिइन् ।

पहिलो सन्तानलाई जन्मदिन परिवारसँगै हाल अमेरिकामा रहेर फिल्मको प्रचारप्रसार गरिरहेकी रेखाले पाँच वर्षपछि दर्शकमाझ आउन पाउँदा उत्साहित रहेको बताएकी छिन् । उनले फिल्म ‘उपहार’को प्रचारप्रसारकै क्रममा अमूल्य विषय रहेको र दर्शकको मन मस्तिष्कमा बस्ने गरी बनाइएको तर्क गरेकी छिन् ।

रेखा भन्छिन्, ‘उपहार’ दर्शकको मन मस्तिष्कमा बस्ने गरी लेखिएको र बनाइएको छ । नेपाली फिल्म नियमित हेरिरहने र कहिल्यै नेपाली फिल्म नहेर्ने दर्शकले पनि ‘उपहार’लाई हेर्नुहुनेछ भन्नेमा हामी ढुक्क छौँ । यो फिल्म हेर्दा आम दर्शकले नयाँ ऊर्जा पाउनुहुनेछ ।’

यस्तै, उनले ‘उपहार’ सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको बताउँछिन् । नेपाली फिल्ममा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउने उनले त्यो आरोपलाई ‘उपहार’ले गलत साबित गर्ने दाबी गरिन् ।

उनी भन्छिन्, ‘हाम्रो फिल्म आँखालाई शीतल दिने किसिमको छ । फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र बिछोडका कुरा दर्शकले पाउनुहुनेछ । ‘मालिका’पछि मैले अभिनेत्रीकै रूपमा फिल्ममा त काम गरिनँ । तर एक दुई वटा फिल्मका गीतमा केमियो गरेँ, फिल्ममा काम गर्ने सोच त थियो, तर बीचमा कोभिड महामारीको लकडाउनले त्यो सम्भव भएन ।’

साथै, उपहारमा समाज रूपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान भएको बताइन् । फिल्ममा नारी मात्र होइन, पुरुष पनि पीडित छन् भन्ने कुरा देखाइएको उनले बताइन् ।

नेपाली फिल्ममा ‘५–१० वर्ष यता देखिँदै आएका कथा भन्दा ‘उपहार’को कथा फरक छ । हामीले ‘हिट’ भन्दा पनि दर्शकले मनपराउने कथामा फिल्म बनाएका छौँ । फिल्मको कथा, छायांकन, सम्पादन, संगीतलगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ भन्नेमा ढुक्क छौँ । दर्शकले तनाव मुक्त भएर ‘उपहार’ हेर्नुहुनेछ’, उनले भनिन् ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट