राष्ट्रिपतिले गरे पाँच हजार ५५५ किलो ‘महाघण्ट’को उद्घाटन-Sutra News

राष्ट्रिपतिले गरे पाँच हजार ५५५ किलो ‘महाघण्ट’को उद्घाटन

बिहिबार, १० फाल्गुन २०८०

बिहिबार, १० फाल्गुन २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा स्थापना गरिएको पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्ट उद्घाटन गरेका छन् । राष्ट्रपति पौडेलले करिब दुई करोड लागतमा निर्माण भएको महाघण्टको घण्टानाद गरी उद्घाटन गरेका हुन् ।



पञ्चकोटधामका परिकल्पनाकार एवं संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको संकल्पमा बागलुङ नगरपालिका ५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यो महाघण्ट स्थापना गरिएको थियो । पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सुरु भएको छ । फागुन ९ देखि सुरु भएको महायज्ञमा पनि राष्ट्रपति पौडेल सहभागी भएका छन् ।

करिब आधा घण्टा पञ्चकोटमा रहेका पौडेलले यहाँ बन्दै गरेको १०८ फिट गण्डकी कलशकोसमेत अवलोकन गरे । दश वर्षअघि स्थापना भएको पञ्चकोटमा निर्माण भएका धार्मिक संरचनाका साथै निर्माणाधीन सो कलसका बारेमा स्वामी कमलनयनाचार्यले राष्ट्रपति पौडेललाई जानकारी गराए ।

मुक्तिनाथ महाघण्ट पञ्च धातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्ट’ भनिएको हो । महाघण्ट बनाउन आठ वर्ष लागेको स्वामी कमलनयनाचार्यले बताए । जलसम्पदाको संरक्षण गर्न कलश तथा विश्वमा शान्तिको सन्देश फैलाउन सो महाघण्टको स्थापना गरिएको उनको भनाइ थियो ।

महाघण्टलाई दुई साताअगाडि पञ्चकोटमा ल्याइए पनि आज मात्रै विधिपूर्वक स्थापना गरिएको उनी बताउँछन् । विं.सं. २०७२ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । विभिन्न दाताको सहयोग, महायज्ञबाट संकलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले अहिले पञ्चकोट देशव्यापी रूपमा चर्चित बनेको छ ।

पञ्चकोटमा निर्माण गर्न लागिएको १०८ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्ट राखिएको छ । महाघण्टबाट निस्किएको ध्वनि साविक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अधिकांश बस्तीमा सुन्न सकिने दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट