‘क्याप्टेनको पृष्ठभूमिबाट हिरोको परिचय दिँदै गरेका रितेश चाम्स’-Sutra News

‘क्याप्टेनको पृष्ठभूमिबाट हिरोको परिचय दिँदै गरेका रितेश चाम्स’

मंगलबार, ८ फाल्गुन २०८०

मंगलबार, ८ फाल्गुन २०८०

काठमाडौं ।  फिल्म ‘गोर्खा वारियर’ फागुन ११ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको छ ।



मिलन चाम्सले निर्देशन गरेको ‘गोर्खा वारियर’ले नेपाली मौलिकतालाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ । फिल्मले नेपाली मौलिक सामाजिक कथावस्तुका साथै ७० वर्ष अघिको युद्धमा गोर्खाली सेनाहरुको वास्तविक कथावस्तुमा आधारित रहेर विषय बस्तु देखाउन खोजिएको छ ।

मलायामा नेपाली गोर्खाली सेनाले लडेको युद्धलाई आधार बनाएको यस फिल्मको मुख्य पात्रको भूमिका रितेश चाम्सले निर्वाह गरेका छन् । रितेशको पृष्ठभूमि भने क्याप्टेन हो । उनले गोर्खा वारियरबाट डेब्यु गदै छन् । रितेशले यस फिल्मका लागि ३ वर्षसम्म समय लगाएर तयारी गरेका थिए ।

सैनिक जीवनमा रहेका रितेश चाम्सको जीवनशैली केही समय यता फेरिएको छ । क्याप्टेन भनेर सम्बोधन गरिने रितेशलाई अहिले हिरो भन्न थालिएको छ । किनकि उनी विश्वकै प्रसिद्ध मिडियामा पुगेर आफ्नो अभिनयको बारेमा कुराकानी गरिरहेका छन् । गोर्खाली भनेर चिनिने रितेशले एक गोर्खाली सैनिकको जीवनलाई पर्दामा बाचेका छन् । उनले ‘गोर्खा वारियर’ मा निर्वाह गरेको भूमिकाले अहिले सम्पूर्ण गोर्खालीलाई वीरताको स्मरण गराईरहेको छ ।

सैनिकले युद्ध लड्दा देखाउने कौशलतासँगै परिवारको दायित्वलाई उनले व्यक्त गरेका छन् । उनले आफ्नो अभिनय यात्रामार्फत गोर्खालीको कथालाई विश्वसामु पुर्याउने उदेश्य रहेको बताए ।

‘म सैनिक थिएँ । केही फरक गरौँ भन्ने लगेर अभिनय सिक्न तर्फ लागे । किनकि बाल्यकालदेखि नै चाहना त थियो नै तर सिकेर र बुझेर यहाँ आए’, अभिनेता चाम्सले भने । उनले पहिलो फिल्ममार्फत नै गोर्खालीको विषयलाई देखाउन पाउँदा उत्साह थपिएको बताए । सैनिक जीवन बाचेका रितेशले फिल्मकै लागि केही तालिम समेत लिए । उनलाई आफू अभिनेता बन्छु भन्ने लागेदेखि नै आठ वर्ष लगाएर विभिन्न प्रशिक्षण लिए ।

‘मैले एउटा अभिनेतामा हुनु पर्ने सम्पूर्ण कुराहरू सिकेर नै अभिनयको सुरुआत गरे । पहिलो फिल्ममा नै मिलन चाम्स जस्तो निर्देशकसँग काम गर्न पाएँ । उहाँ जत्तिको सैनिकको विषयमा सायदै कसैले फिल्म बनाउन सक्नुहुन्छ होला’, रितेशले भने । उनले निर्देशक चाम्सलाई ‘गडफादर’ भनेर सम्बोधन गर्ने गरेकाछन् । किनकि उनी पहिलो फिल्मबाट नै ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलोचरण अन्तर्गत विश्वका प्रसिद्ध अभिनेतासँग प्रतिष्पर्धामा रहे ।

‘हलिउडका विभिन्न अभिनेतासँग म अभिनेतामा प्रतिष्पर्धामा पहिलोचरणमै रहनु पनि आफैँमा उपलब्धि हो । मलाई यो लायक बनाउने मिलन दाई (निर्देशक मिलन चाम्स) नै हुनुहुन्छ । म अब अभिनयलाई नै निरन्तरता दिने तयारीमा छु’, रितेशले भने । बेलायतको पाइन उड स्टुडियोमा अभिनयमा मास्टर्स गर्ने पहिलो नेपाली रहेका रितेशले सैनिकको जीवनलाई दुरुस्तै पर्दामा ल्याएको निर्देशक चाम्सले बताए । यसमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय रहेको छ ।

निर्देशक चाम्सले पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’लाई वास्तविक युद्धको शैलीमा तयार गरेका छन् ।

निर्देशक चाम्सले भने भन्छन्, ‘त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु ।’

फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यसमा सुमन राई र सुस्मिता वाइवा निर्माता छन् । यस्तै, कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् । फिल्मको एसोसिएट वितरकमा रीच इन्टरटेनमेन्ट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट