क्यानडामाथि नेपाल दुई विकेटले विजयी, रोचक बन्दै शृङ्खला-Sutra News

क्यानडामाथि नेपाल दुई विकेटले विजयी, रोचक बन्दै शृङ्खला

मंगलबार, ८ फाल्गुन २०८०

मंगलबार, ८ फाल्गुन २०८०

काठमाडौं । नेपाल ‘ए’ टोलीले क्यानडा ११ लाई दुई विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपाल दुई विकेटले विजयी भएको हो ।



टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा ११ ले ४९.५ ओभरमा अलआउट हुँदै २४० रन जोडेको थियो । क्यानडाले दिएको २४१ रनको लक्ष्य नेपालले ४९‍.१ ओभर खेल्दै आठ विकेट गुमाएर भेट्टाएको हो ।

नेपालको जितमा कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । सन्दीपले ७४ बलमा ७ चौका र एक छक्का हान्दै ६६ रन बनाए । कप्तान विनोद भण्डारी बिरामी भएसँगै जोरा कप्तानी सम्हालेका हुन् ।

यस्तै, बसिर ५२ रनमा नट आउट रहे । ओपनर अर्जुन कुमालले ४० रन बनाउँदा रसिद खान अर्धशतक प्रहार गर्नबाट ३ रनले चुकेका थिए ।

क्यानडाका लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रन बनाए । यस्तै, नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसनले ३६ रनको योगदान दिए । डिलोन हेलिगरले १६ रन बनाए ।

बलिङतर्फ नेपालका साहब आलमले तीन विकेट लिए । शेर मल्ल र रासिद खानले समान दुई-दुई विकेट लिँदा सागर ढकाल र बसिर अहमदले समान एक-एक विकेट लिए ।

यसअघि गत आइतबार भएको पहिलो खेलमा नेपाल ‘ए’ टोली क्यानडा ११ सँग चार विकेटले पराजित भएको थियो । नेपालले दिएको २१७ रनको लक्ष्य क्यानडा ११ ले ६ विकेट गुमाएर भेट्टाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट