बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर हुने ‘साम्बाला’को ट्रेलर सार्वजनिक-Sutra News

बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर हुने ‘साम्बाला’को ट्रेलर सार्वजनिक

मंगलबार, ८ फाल्गुन २०८०

मंगलबार, ८ फाल्गुन २०८०

काठमाडौं । अन्तर्राष्ट्रिय मञ्चमा दरिलो उपस्थिति जनाएको फिल्म ‘कालो पोथी’का निर्देशक मीन बहादुर भामको दोस्रो फिल्म ‘शाम्बाला’को ट्रेलर रिलिज भएको छ ।



फेब्रुअरी २३ मा बर्लिनमा विश्व प्रिमियर हुनुअघि यो ट्रेलर सार्वजनिक भएको हो ।

यो फिल्मले नेपाली हिमालय क्षेत्रमा सेट गरिएको कथा पेश गर्छ । ‘शाम्बाला’ यही शुक्रबार विश्वकै प्रख्यात बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर हुन लागेको छ ।

अंग्रेजी सबटाइटलमा सार्वजनिक गरिएको २ मिनेट हाराहारीको ट्रेलरमा बहुपति प्रथालाई दर्साइएको छ । नेपाली हिमालय क्षेत्रमा कथा पेश गरिएको ट्रेलरमा बहुपति प्रथा प्रचलन मात्र नभई आफ्नो कर्म पनि रहेको ट्रेलरमा जनाइएको छ ।

फिल्मको ट्रेलरमा बहुपति प्रथासँग जोडेर पेमा पात्रको माध्यमबाट कथा भनिएको छ ।

पेमा (थिन्ले ल्हामो)को एउटै घरका तीन दाजु–भाईसँग विवाह हुन्छ । र, उनीहरुमध्ये एक श्रीमान् व्यापारका लागि ल्हासा जान्छन् तर फर्किँदैनन् । यसपछि उसको खोजीमा गर्भवती पेमाले गर्ने यात्रालाई ट्रेलरमा देखाइएको छ । ट्रेलरमा टिबेटियन भाषाको बढी प्रयोग छ । नेपाली भाषा एक दृश्यमा मात्र सुन्न पाइन्छ । कार्म, सोनम तोप्देन लगायतका कलाकारहरु पनि ट्रेलरमा अटेका छन् ।

यो फिल्म बर्लिनको प्रमुख प्रतिस्पर्धा अर्थात् अन्तर्राष्ट्रिय विधातर्फ यो फिल्म छानिएको छ । बर्लिनको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो । विश्वका अरू १९ वटा फिल्म पनि यो विधामा प्रतिस्पर्धामा छन् । यसका लागि निर्देशक भामसहितको टिम बर्लिन पुगेको छ ।

निर्देशक भाम र अविनाश विक्रम शाहको संयुक्त लेखन रहेको यो फिल्मको लागत १४ करोड रुपैयाँ हो । ६ वर्षमा ४४ वटा ड्राफ्ट लेखिसकेपछि निर्देशक भामले फिल्मको नाम ‘शाम्बाला’ राखेका थिए । फिल्म डोल्पाको ४२ सयदेखि ६ हजारको उचाईंमा खिचिएको छ । नेपालसँगै फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान, अमेरिका र कतारसँगको सहकार्यमा यो फिल्म निर्माण भएको हो ।

सुनी फिल्म्सले निर्माण गरेको यो फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार बेल्जियमको कम्पनी बेस्ट फ्रेन्ड फरेभरले लिएको छ । निर्देशक भामले सन् २०२४ भित्रै नेपालमा रिलिज गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट