हिट जोडीले सुरु गरे ‘घरज्वाइँ’को छायांकन-Sutra News

हिट जोडीले सुरु गरे ‘घरज्वाइँ’को छायांकन

सोमबार, ७ फाल्गुन २०८०

सोमबार, ७ फाल्गुन २०८०

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’को शुभ साइतसँगै छायांकन सुरु भएको छ ।



फिल्मका लागि हिट जोडी रहेका दया र मिरुनाले रुकुम पूर्वको लुगुम गाउँबाट ‘घरज्वाइँ’को छायांकन सुरु गरेका हुन् ।

लगातार पाँच फिल्म ‘कबड्डी ४’, ‘जारी’ र ‘नाङ्गो गाउँ’, ‘रङ्गेली’ र ‘मनसरा’ जोडी रूपमा काम गरेका उनीहरूले यस फिल्ममा पनि जोडीकै रूपमा काम गर्दै छन्। दया र मिरुनाका तीन फिल्म ‘कबड्डी ४’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ लगातार सफल भएका छन् ।

फिल्म ‘घरज्वाइँ’बाट अनिल बुढामगरले डेब्यु गर्दै छन् । ३५ दिनको छायांकन तालिका राखिएको फिल्मको छायांकन पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटन लगायतका थलोमा हुने जनाइएको छ ।

जीएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयंको हो भने पटकथा र संवाद लेखनमा उनलाई सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका छन् ।

फिल्ममा बुद्धि तामाङ, शिशिर बाङ्देल, पुष्कर गुरुङ, भोलाराज सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, विना मगर, खड्गबहादुर पुन, सोनाम लामा, बिवेश बुढा, सुनिल मगरलगायतले अभिनय गर्नेछन् ।

फिल्मलाई सुशन प्रजापतिले खिच्नेछन् भने रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् ।

फिल्मलाई आगामी वर्षको असार २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्म मगर संस्कृतिसँग नजिक रहेर सामाजिक कथामा निर्माण हुने जनाइएको छ ।

फिल्मको अन्तर्राष्ट्रिय वितरण एमएसएम इन्टरटेनमेन्टले गर्दै छ भने नेपालको वितरण अधिकार आरआर फिल्म्सले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट