खोले साग बेचेर महिनामा लाखौँ आम्दानी-Sutra News

खोले साग बेचेर महिनामा लाखौँ आम्दानी

आइतबार, ६ फाल्गुन २०८०

आइतबार, ६ फाल्गुन २०८०

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे (खोले) साग खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । विगत दुई वर्षदेखि व्यावसायिक रूपमा पालुङ्गे सागखेती गर्दै आएका महतो दम्पतीले वार्षिक तीन लाखभन्दा बढी आम्दानी गरेका छन् ।



सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मंसिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताइन् । केही वर्षअघिसम्म चैतेधान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुङ्गे साग लगाउन थालेको उनले बताए ।

“चैते धानभन्दा यो साग लगाएपछि फाइदा भयो, यसमा सामान्य जैविक मल प्रयोग गर्छौं अरू केही गर्नु पर्दैन”, उनले भने, “चैते धानभन्दा यो साग खेतीले जीविकोपार्जनमा राहत पुर्याएको छ ।”

महतो दम्पतीले साग बिक्री गरेर यामअनुसार तीन महिनामा नै तीन लाखसम्म आम्दानी गर्न सफल भएको छ । माघमा मात्र पहिलो लट काटिएको सागबाट ८० हजारभन्दा धेरै आम्दानी गरिसकेको लक्ष्मीले बताइन् ।

मंसिरमा लगाएको पालुङ्गे साग चैतसम्म उत्पादन हुने गर्दछ । खोलामा खेर गइरहेको पालुङ्गे सागलाई पहिलोपटक दुई वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकाले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उनले जानकारी दिइन् ।

गर्मी मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि पालुङ्गे सागको माग अझ बढ्ने गरेको छ । एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने भएकाले लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन् । पूर्ण रूपमा अग्र्यानिक हुने र जुनसुकै प्रकारका बिरामीले पनि खान मिल्ने भएकाले बजारमा यसको माग बढ्दो रहेको किसान लीला थारूले बताइन् ।

पछिल्लो समय जिल्लाको सदरमुकाम कावासोती बजारलगायतका स्थानमा पालुङ्गे सागको राम्रो कारोबार हुने गरेको छ । यस वर्ष स्थानीय किसानले जिल्लाबाहिर बुटवल, नारायणगढलगायतका बजारमा समेत यो सागको राम्रो निर्यात गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट