

काठमाडौं । आमिर खानको फिल्म ‘दंगल’मा बाल कलाकारको भूमिका निभाएकी अभिनेत्री सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । सुहानीको केही दिनदेखि फरिदाबादमा उपचार भइरहेको थियो ।
केही दिनअघि मात्रै उनको खुट्टा भाँचिएको थियो । उपचारका लागि लिएको औषधिको प्रतिक्रियाका कारण सुहानीको पूरै शरीर पानीले भरिएको थियो । यही प्रतिक्रियाका कारण शुक्रबार साँझ उनको मृत्यु भएको हो । सुहानीको शनिबार सेक्टर १५ फरिदाबादस्थित अजरौंडा श्मशान स्थलमा अन्तिम संस्कार गरिने छ ।
आमिर खानको टोलीले सामाजिक सञ्जालमा लेखेको छ, ‘सुहानीको निधनको खबरले हामी अत्यन्तै दुखी छौँ, उहाँकी आमा पूजा जी र सम्पूर्ण परिवारलाई हाम्रो समवेदना, सुहानी एक धेरै प्रतिभाशाली केटी थिइन्, उनले सधैँ एक टोली खेलाडीको रूपमा काम गरे, उनीबिना नाच अधुरो हुन्थ्यो, सुहानी तिमी सधैं हाम्रो मनमा तारा बन्ने छौ ।’
सुहानीले ‘दंगल’मा आमिरकी कान्छी छोरी (जुनियर बबिता फोगाट)को भूमिका निभाएकी थिइन् । यो फिल्मबाहेक उनी केही टिभी विज्ञापनमा पनि देखिएकी थिइन् । तर, पछि उनले कामबाट ब्रेक लिएर पढाइ पूरा गर्ने निर्णय गरिन् । उनले धेरै अन्तर्वार्तामा पढाइ सकेर फिल्ममा फर्किने बताएकी थिइन् ।
सन् २०१६ मा रिलिज भएको फिल्म ‘दंगल’ अहिलेसम्म बलिउडको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । यसले ग्लोबल बक्स अफिसमा २०२३ करोड रुपैयाँ कमाएर इतिहास रच्यो ।
नितेश तिवारीले निर्देशन गरेको यस स्पोर्ट्स ड्रामा फिल्ममा आमिर खानले पहलवान महावीर फोगाटको भूमिका निभाएका थिए । फिल्ममा उनीबाहेक फातिमा सना शेख, सान्या मल्होत्रा र जायरा वसीम जस्ता कलाकार पनि देखिएका थिए ।