इन्द्रेणी विवाद : कँडेल कसरी डामिए यौन दुराचारको आरोपले ?-Sutra News

इन्द्रेणी विवाद : कँडेल कसरी डामिए यौन दुराचारको आरोपले ?

इन्द्रेणी कार्यक्रम विवाद

शनिबार, ५ फाल्गुन २०८०

शनिबार, ५ फाल्गुन २०८०

काठमाडौं ।  इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कँडेल र कलाकार शर्मिला श्रेष्ठसहितको आरोप-प्रत्यारोपले अहिले सामाजिक सञ्जाल तातिरहेको छ । कृष्ण कँडेल र कलाकारबिचको विवाद सामाजिक सञ्जाल हुँदै यतिबेला अदालतसम्म पुगेको छ ।



कँडेलले आफूविरुद्ध अफवाह फैलाउने शर्मिला श्रेष्ठ, खगेन्द्र विश्वकर्मा, पूर्ण कँडेल, लक्ष्मी घिमिरेसहितविरुद्ध कानुनी उपचारका लागि  शुक्रबार अदालत पुगेका हुन् । कँडेलले शर्मिला श्रेष्ठलगायत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन्।

अध्यक्ष कँडेलले विभिन्न सामाजिक सञ्जालमा लाइभ तथा पत्रकार सम्मेलन गरी आफ्नो र आफूले सञ्चालन गर्दै आएको इन्द्रेणी सांस्कृतिक समाज केन्द्र तथा संस्थामा आबद्ध कर्मचारी र कलाकारहरूका विरुद्धमा आरोप लागेको भन्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गराएका हुन् । कँडेलले दर्ता गराएको मुद्दामा शर्मिला श्रेष्ठ, जीवन टण्डन, कविता लामा, पूर्ण प्रसाद कँडेल, खगेन्द्र वि.क. लक्ष्मी प्रसाद घिमिरेलाई विपक्षी बनाइएको छ ।

दर्ता भएको मुद्दामा लेखिएको छ, ‘विपक्षीहरूले मेरो मान प्रतिष्ठा, इज्जत तथा संस्थाको गरिमामाथि धक्का पुग्ने किसिमले मेरो, इन्द्रेणी तथा सो संस्थामा आबद्ध अन्य महिला कलाकार तथा कर्मचारीहरूको बेइज्जती गरेको हुँदा मुलुकी फौजदारी संहिता २०७४ को दफा ३०७ (२) अनुसार विपक्षीहरूले गरेको बेइज्यतिको गम्भीरता, मेरो प्रतिष्ठामा पर्न गएको असर र मलाई मेरो बेइज्जती गर्ने दूषित उद्देश्यका साथ गैर कानुनी तवरबाट विभिन्न सामाजिक सञ्जालमा लाइभ बस्ने, कथित रूपमा पत्रकार सम्मेलन गर्ने तथा विभिन्न अनलाइन सञ्चार माध्यममा समेत सार्वजनिक गरेको हुँदा विपक्षीहरुबाट उचित क्षतिपूर्ति दिलाई उक्त क्षतिपूर्ति रकम असहाय तथा दुःखी पीडितले प्राप्त गर्ने गरी नेपाल सरकारअन्तर्गत रहेको पीडित राहत कोषमा पठाई पाउँ ।’

केही दिन अघि इन्द्रेणीबाट अघोषित निष्कासनमा परेका पाँचजना कलाकारले फेसबुक लाइभमा आएर सञ्चालक कृष्ण कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए । उनीहरूले पुसदेखि आफूहरूलाई कार्यक्रममा नबोलाइएको बताएका थिए । पूर्ण कँडेल र लक्ष्मी घिमिरेले आफूहरूमाथि हातपातसमेत भएको दाबी गरेका छन् । यद्यपि, उनीहरूले के कति कारणले विवाद भएको हो र किन उनीहरूलाई निकालियो भन्ने स्पष्टरूपमा बताएका छैनन् । आगामी दिनमा थप तथ्यहरू बाहिर ल्याउने उनीहरूको भनाइ थियो ।

लाइभ आएकाहरूमा शर्मिलासहित खगेन्द्र विश्वकर्मा, पूर्ण कँडेल, लक्ष्मी घिमिरेलगायत छन् । इन्द्रेणीमा नियमित देखिने गरेकी शर्मिला श्रेष्ठ लाइभमै रोएकी थिइन् । आफ्नो बुवाआमाले कृष्ण कँडेललाई भगवान् मान्ने तर आफूलाई उनैले अन्यायमा पारेको श्रेष्ठले बताइन् ।

कँडेलमाथि शर्मिलाकाे आराेप यस्ताे

‘म विगत ५-७ वर्षदेखि इन्द्रेणीमा थिएँ । दर्शकहरूले मलाई नियमित देखिराख्नुभएको थियो । तर, पुसदेखि म इन्द्रेणीमा गएकी छैन । कार्यक्रमहरू रेकर्ड भइरहे पनि हामीलाई बोलाइएको छैन । एक महिना प्रतीक्षा गर्दा पनि कुनै रेस्पोन्स नभएपछि लाइभ आउन बाध्य भएका हौं । धेरै दर्शकहरूले कार्यक्रमका बारेमा सोधिरहनु हुन्छ । म विभिन्न बहाना गरेर पन्छिन्छु ।

आज सरस्वती पूजाको दिन हो । म सरस्वती माताको कसम खाएर भन्छु कि कुनै झूटो कुरा बोल्दिनँ । मेरी आमाले टिभीमा कृष्ण कँडेललाई देख्दा ढोग्नुहुन्छ । मेरो बुवाले पनि भगवान् मान्नुहुन्छ । त्यसैले मैले घरमा भन्न सकेको छैन । मलाई थाहा छ, दर्शकबाट पनि गालीको वर्षा हुन्छ होला । जुन थालमा खायो त्यसैमा थुकेको आरोप लाग्छ होला । तर, सबैले भगवान् मानेको व्यक्तिलाई मैले खप्न सकिनँ । औषधि खाएर निदाउनुपर्ने अवस्था आएको छ ।

टिका सानुलाई बिदा गर्ने बेलामा उहाँले भन्नुभएको थियो कि, एकजनालाई झम्टिन आउने बाघले तपाईंहरूलाई पनि भोलि टोक्न सक्छ । यस्तै नै भएको छ । हामीलाई किन बोलाइएन त भनेर अफिसमा जाँदा मेरा कलाकार साथीहरू मसित बोलेनन् । म जाँदा दनादन कार्यक्रम सुटिङ भइरहेको थियो । म स्टुडियो भित्र छिरिनँ । अफिसका स्टाफहरूसँग राम्रो हाँसिखुशी कुरा गरेँ । आफ्नो चोट लुकाएर आएँ ।

म अब ढुंगाको भगवान्‌लाई विश्वास गर्दिनँ । इन्द्रेणीमा काम गर्दा नै मेरो स्वर, शरीर सबै सकियो । तँलाई उपचार गर्नुपर्छ कि भनेर कहिल्यै सोधिएन । लास्टमा परेको बोलामा मात्र बोलाउने र तलबमा नराख्ने भनेर हटाइयो । मानसिक टर्चर दिइयो ।

एक वर्ष अगाडि पनि यस्तै व्यवहार भएपछि म १५ दिनसम्म इन्द्रेणी नगई बसेकी थिएँ । त्यो थाहा पाएपछि मेरो आमाले भगवानको थलो छोडेर हिँड्ने ? तैंले के गरेर खान्छेस् भनेर मलाई गाली गर्नुभयो । घरबाट टर्चर भएपछि म आफैं गएँ । क्यामरा अन भएपछि मुसुक्क हाँसेर नाच्थेँ । तर, भित्र पीडा अर्कै थियो । संस्थाको इज्जत जान्छ भनेर हामीले बाहिर बोलेनौं । आखिर उहाँले नै हाम्रो रोजिरोटी टारिदिनुभएको थियो ।

म मेरी आमासित क्षमा माग्छु, तपाईंले भगवान् ठानेको मान्छेलाई मैले खप्न सकिनँ । उहाँको प्यारी हुन सकिनँ । किन भन्ने चाहीँ पछि भन्नेछु ।’

 

कँडेलमाथि आराेप लगाउने घिमिरे नातेदार

कँडेल र लक्ष्मी घिमिरे सञ्चालक कृष्ण कँडेलका नातेदारसमेत हुन् । कृष्ण कँडेलको सालो पर्ने लक्ष्मी घिमिरेले आफूहरूमाथि हातपात भएको बताएका छन् ।

उनले सुनाए, ‘कृष्ण कँडेलले राणाको जस्तो स्वभाव देखाउनुहुन्थ्यो । गत माघ ५ र ६ गते गते एउटा मिटिङ भनेर सबैलाई बोलाइयो । हामीलाई सीसी क्यामरा नभएको कोठामा राखियो । ८-१० जना डन पाराका मान्छेहरू राखेर दाइ पूर्ण कँडेल र मप्रति हातपात गरियो । उहाँ (कृष्ण कँडेल) मेरो भिनाजु हो । कुशल कँडेल मेरो भाञ्जा हो । भाञ्जा र भिनाजुलाई लात्तै लात्तले हान्यो भनेर उहाँको श्रीमती, मेरो दिदी प्रतिमा कँडेलले गाउँभरि प्रचार गर्नुभएको छ । हेर्नुस् मेरो हातमा गाँठा पनि छन् ।’

पूर्ण कँडेलले पनि आफूहरूलाई बाध्यतामा पारेर हस्ताक्षर गर्न लगाइएको बताए । आफूमाथि गुण्डा लगाएर हातपात पनि गरिएको भन्दै उनले गालाको खत पनि देखाएका थिए ।

यस विषयमा कँडेलले बिहीबार सामाजिक सञ्जालमा कुनै पनि प्रकारको शोषण नगरेको दाबी सहित स्पष्टीकरण समेत दिएका थिए ।

उनले लेखेका छन्, ‘आज यस संस्थाका सबै कर्मचारी तथा कलाकारलाई समान व्यवहारको काम गर्दा गर्दै पनि केही कलाकार तथा कर्मचारीहरूले यस संस्था छाडी आज म तथा मैले सञ्चालन गर्दै आएको इन्द्रेणी कार्यक्रमलाई बदनाम गराउन र सिंगो संस्थालाई नै धरासायी बनाउन काल्पनिक र बनावटी कुरा राखी अन्तर्वार्ता तथा लाइभमा बसेको र पत्रकार सम्मेलन गरेको विषयले म साह्रै दुःखित छु।’

आफूमाथि लगाइएका सबै आरोप झुटा भएको दाबी उनको छ। उनले इन्द्रेणी सञ्चालनका विषयमा संस्थामा आबद्ध अन्य कलाकारसँग बुझ्न सकिने पनि उल्लेख गरेका छन्। कँडेलले आफूविरुद्ध लागेका झुटो आरोपहरू प्रकाशित गर्ने सञ्चारमाध्यम तथा अफवाह फैलाउने व्यक्तिविरुद्ध कानुनी उपचारमा जान बाध्य हुने चेतावनी पनि दिएका छन्।

‘इन्द्रेणी के हो? कसरी चलेको छ भन्ने विषय हाल पनि यस संस्थामा ३० भन्दा बढी कलाकार तथा कर्मचारी आबद्ध रहेको हुँदा निजहरूसँग पनि प्रत्यक्ष बुझ्दा स्पष्ट हुने हुँदा झुटा भ्रमपूर्ण अभिव्यक्तिलाइ सञ्चार माध्यमहरूले एकतर्फी सम्प्रेषण नगरिदिनुहुन अनुरोध गर्दछु,’ कँडेलले लेखेका छन्।

यस्तै,  यसै विषयलाई लिएर कँडेलले राजधानीमा एक कार्यक्रम गर्दै आफूलाई सिध्याउने खेल सुरु भएको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा कँडेलले आफूले शर्मिला श्रेष्ठ र कविता लामालाई नराम्रो कुनै गतिबिधि र नजरले समेत नहेरेको स्पष्ट पारेका छन् ।

पत्रकार सम्मेलनमा  उनले भने, ‘शर्मिला बहिनीले ममाथि तीनवर्ष अगाडि हेरेष्मेन्ट गरेको आरोप लगाउनु भएको छ । त्यस्तो हो भने यो तीनवर्ष के हेरेर बस्नु भयो ।’

विगत १५ वर्ष अगाडि ७ जनाबाट सुरु गरेको इन्द्रेणी कार्यक्रममा अहिले ३७ जनाभन्दा बढी रहेको बताएका कँडेलले पछिल्लो समय केहीसमय तलब दिन ढिलो हुँदा आफूमाथि विभिन्न आरोप लागेको स्वीकार गर्दै कँडेलले आफूमाथि लागेको विभिन्न आरोप बनावटी र झुटो रहेको भन्दै खण्डन समेत गरे ।

‘इन्द्रेणी सबैको रुने ठाउँ हो । मैले कसैलाई अन्याय गरेको छैन । कसैलाई नचाहिँदो तवरबाट निकालेको छैन । मेरो बारेमा नेगेटिभ कुरागर्ने, गुटबन्दी गर्ने, काट्छु र मार्छु भनेपछि के गर्ने ?’ उनले प्रश्न गरे । यस्तै, कँडेलले आफूले अहिलेसम्म कसैको पैसा नखाएको भन्दै आम मानिसलाई बाहिर आएका विभिन्न कुराबाट भ्रममा नपर्न समेत अनुरोध गरे ।

दर्शकले भगवान मान्छन् कँडेललाई

यता, लामो समयदेखि ‘लाइभ दोहोरी’ गीतको कार्यक्रम चलाएर देश विदेशबाट पैसा संकलन गरी समाजसेवा गर्दैआएका कृष्ण कँडेल समाजका एकतहका मानिसहरुबीच लोकप्रिय छन् ।

लोक तथा दोहोरी गीतमा रुची राख्नेहरूले उनलाई खुबै मान्छन् । देश विदेशबाट सहयोग उठाएर धेरै मानिसको जीवन बचाएका उनलाई लाभान्वित हुनेहरूले त ‘भगवान्’ नै ठान्छन् ।

उनको यो सफलतामा उनको मात्र मेहनत छैन, उनको सिँगो टिमको हात छ । कैयौँ गायक, गायिका र बाध्यबाधक छन् । उनको इन्द्रेणी कार्यक्रममा गीत गाउँदै आएकी गायिका शर्मिला श्रेष्ठले आफू पीडित भएको बताएपछि धेरैको चासो छ, ‘लफडा के हो भन्ने ?’

शर्मिला श्रेष्ठ र कृष्ण कँडेलको सहकार्य निकै लामो समययताको हो । इन्द्रेणी कार्यक्रमको सुरुआतदेखि नै शर्मिला श्रेष्ठ कार्यक्रममा गीत गाउँदै आएकी थिइन् । तर, उनी पछिल्लो समय देखिएकी थिइनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट